थारू विषयको अनुसन्धानमा टेकनाथ गौतम

मैले टेकनाथ गौतम (२०४४) ले लेखेको थारु जातिको इतिहास तथा संस्कृति या थारु पुराण लाई थारू जातिका विषयमा लेखिएको अद्वितीय शोध प्रबन्ध मानेको छु । यसै ग्रन्थका आधारमा नेपालको कुनै विश्व विद्यालयले सम्मानार्थ उनलाई महाविद्यावारिधि वा विद्यावाचस्पति डिग्री दिएको भए हुन्थ्यो भन्ने मेरो विचार छ । त्यस्तो सम्मान मृत्यूपरान्त दिन सकिएला कि नसकिएला, त्यो विश्व विद्यालयले सोच्नुपर्ने कुरो हो ।

थारू जातिलाई चिनाउन ५०-५५ ओटा ग्रन्थहरू प्रयोग गरेर यो सानो किताब लेखिएको छ । यस ग्रन्थले खालि थारूहरूको इतिहास र संस्कृतिको मात्र परिचय दिँदैन; यसले टेकनाथ गौतमकै पनि प्रशंसनीय अध्ययनशीलता, विद्वत्त्व, विश्लेषणशीलता, निरीक्षण र निर्णयात्मक आदर्शको पनि परिचय दिएको छ ।

टेकनाथ गौतम जस्ता एक अध्ययनशील अनुसन्धातालाई नेपालमा पुस्तकालयको खडेरीले पिरोल्छ । अनेक पुस्तकालय, विश्व विद्यालय र अनुसन्धाता विद्वान् भएको काठमाडौँमै बसेर अनुसन्धान गर्नेलाई पनि त्यस खाँचाले पिरोल्छ, तर कसरी टेकनाथ गौतमलाई त्यस खाँचाले पनि यति गम्भीर अनुसन्धान गर्न छेकेन होला, त्यो सोच्ता अच्चम्म लाग्छ । दाङमा भएका पुस्तकालयले मात्र यस्तो अनुसन्धान कसरी सम्भव भयो, त्यो नै मलाई उदेक लाग्ने कुरो भएको छ । टेकनाथ गौतमलाई लक्ष्मी र सरस्वतीको संयुक्त वरदान भएकाले त्यो कुरो सम्भव भएको होला कि ? अर्को पल्ट दाङ जाँदा मलाई त्यसको लेखाजोखा गर्न मन लागेको छ ।

यस किताबको वैकल्पिक शीर्षक थारु पुराण  पनि कम महत्त्वपूर्ण र लाक्षणिक छैन । ‘पुराण’ शब्दबाट बनेको नेपाली शब्द ‘पुरानो’ हो । यस शोध प्रबन्धको ‘प्रारम्भिक भाग’ मा शोध कर्ताले थारू शब्दको व्युत्पत्ति बारे गम्भीर मीमांसा गरेका छन्; थारू जातिको उत्पत्ति र इतिहास बारे उठेका अनेक प्रचलित अड्कलको खण्डन गरेका छन् र थारू जातिलाई मध्य एसियाबाट भारतीय उपमहाद्वीपमा छिर्ने आर्य जातिकै गोती मानेका छन् ।

‘थारु’ शब्दको व्युत्पत्ति उनले वैदिक संस्कृतको ‘थर्व’ (ठाउँ सर्नु) धातुबाट गरेका छन् (पृष्ठ २) । यसका प्रमाणमा उनले थारूहरूको प्राय ठाउँ सरिरहने जातीय स्वभावलाई अघि सारेका छन् । त्यसै जातीय स्वभावले गर्दा उनीहरूको जातीय नाम ‘थारु’ रहेको हो भन्ने शोधकर्ताको निष्कर्ष छ । धेरै समय सम्म एउटै ठाउँमा बस्ता थारूहरूलाई आफू बाँधिए जस्तो लाग्छ, त्यसैले पहिले पहिले धेरै मात्रामा अचेल थोरै मात्रामा थारूहरू बसाइँ सरेका देखिन्छन्  र थारूहरूको यस चलनलाई ‘छारा करना’ (पृष्ठ ३) भन्दछन् भन्ने परिचय किताबमा पाइन्छ । थारूहरू इतिहासमा अप्ठ्यारा परिस्थितिमा मात्र आफ्नो थातथलो छोड्ने नभई सांस्कृतिक कारणले पनि थातथलो छोडिरहन्छन् भन्ने कुराको प्रमाण शोधकर्ताले किताबमा जताततै दिएका छन् ।

महाभारतमा वर्णन गरिएको ‘दर्ब’ (पृष्ठ ४) भन्ने जातिको साइनो पनि वैदिक संस्कृतको ‘थर्ब’ धातुसँग भएको सङ्केत गर्दै टेकनाथजीले थारूहरूलाई त्यसै दर्ब जातिका मानिस ठहराएका छन्। भाषा विज्ञानमा ‘थर्ब’ को अल्पप्राणीभवन हुँदा ‘तर्ब’ हुन्छ र ‘तर्ब’ को घोषीभवन हुँदा ‘दर्ब’ हुन्छ, त्यसैले टेकनाथजीको तर्क विज्ञानसम्मत छ ।

ऋग्वेदमा अनेक ठाउँमा ‘असुर’ शब्द सूर्य, इन्द्र र वरुण जस्ता देउताका लागि प्रयोग भएको छ र त्यस शब्दको अर्थ ‘बुद्धिमान्, बलवान् र ऐश्वर्यशाली’ भन्ने हुन्छ (पृष्ठ १६) । ऋग्वेदको यो प्रयोग पछाडि कम पाइन्छ । पछाडिका वैदिक र पौराणिक साहित्यमा ‘असुर’ शब्दलाई ‘सुर’ शब्दको उल्टो भन्ने अर्थमा प्रयोग भएको पाइन्छ । अहिले ‘असुर’ शब्दलाई पश्चिम एसियाको ‘असिरिया’ र वर्तमान सिरियासित जोड्ने चलन छ । त्यहाँका वीरहरूलाई ‘असुर’ शब्द प्रयोग गरिएको पाइन्छ । इरानको जरथ्रुस्त धर्ममा सबै भन्दा ठूला देउतालाई ‘अहुर’ (असुर) शब्द नै प्रयोग गरिएको पाइन्छ । पश्चिम एसियाका शासक ‘असुर बनिपाल’ को चर्चा यसै थारु पुराणमा पनि गरिएको छ । कालिदासले उनको विक्रमोर्वशीय  हो कि मालविकाग्निमित्र  भन्ने नाटकमा ‘देउताहरू पनि त असुर हुन्’ भन्ने लेखेका छन् । पुराणहरूमा दैत्य, दानव र राक्षसहरूलाई एकै बाबुका सन्तान मानिएको छ । सन् २००८ मा महाराष्ट्रको राजधानी पुणे सहरमा भएको अन्तरराष्ट्रिय गोष्ठीमा एउटी विदुषीले ऋग्वेदका शासकहरूका नाम सिरिया र इजिप्टका शासकहरूका सूचीमा पनि फेला पारेको गोष्ठी पत्र पढेकी थिइन् ।

डा देवीदत्त शर्माले गढवाल कुमाउँका खसहरूका सांस्कृतिक बेहोरा केलाउँदै त्यहाँ पुराणहरूमा असुर, दैत्य र दानवका मानिएका बेहोराहरूको लगत दिएका छन् । टेकनाथ गौतमले पनि ती विशेषताहरूको लगत (पृष्ठ २६-३०) टिपेका छन् । डोटी, डडेल्धुरा तिर घटाल (घटोत्कच) देउताको पूजा गरिन्छ । कुमाउँमा हिडिम्बा देवी र कुम्भ-निकुम्भको पूजा गरिन्छ । पौराणिक साहित्यमा त यी पात्रहरू शत्रु पक्षका मानिएका छन् । खसहरू वैदिक आर्य थिएनन्, तर वैदिक आर्य भन्दा अगाडि नै भारतीय उपमहाद्वीपमा पस्ने आर्यहरूकै गोती थिए । डा प्रयागराज शर्माले खसहरूमा प्रचलित मस्टाको पूजा प्राग्वैदिक मानेका छन् । एटकिन्सनले खसहरूलाई यक्ष मानेका छन् । टेकनाथजीले पनि थारुहरूलाई प्राग्वैदिक आर्य नै मानेका छन् । टेकनाथ गौतमले थारुहरूका संस्कृतिमा पनि त्यस्ता तत्त्वहरू फेला पारे जसले गर्दा उनीहरूको पैत्रिक साइनो पनि वैदिक आर्यसित भन्दा अवैदिक आर्य (अर्थात् असुर, दानव, दैत्य) सित जोडिन जाने कुरो देखिन्छ । उदाहरणका लागि दयित थारूहरू ‘हमार पुर्खा’ भनेर ‘अहुरा (‌असुर) रौरा’ को पूजा गर्दछन् (पृष्ठ २८) भन्ने प्रमाण प्रस्तुत गरिएको छ भने ‘दयित’ जस्ता थारूका अनेक थरहरू पुराणमा वर्णन गरिएका प्रसिद्ध असुरका नामहरूसित मिल्ने कुरो अघि सारिएको छ, जस्तै  ‘दयित’ (दैत्य), ‘धमलवा’ (धौम्र), ‘मध्वा’ (मधु), ‘नमुच्वा’ (नमुचि), आदि (पृष्ठ २५) । उनको अनुसन्धानका यस्तै तर्कको गम्भीरतालाई नबुझेर केही राजनीतिक, भावुक र अल्लारे थारूहरूले उनको कडा आलोचना पनि गरे होलान्, तर भावुकताले अनुसन्धानको अनुशासनलाई छेक्‍नु हुँदैन । अनुसन्धान छेकियो भने, हाम्रो अस्मिता नै हराउँछ ।

मलाई त आफू खस भए पनि आफ्नो पैत्रिक साइनो कुनै असुर, दैत्य र दानवसित जोडिन पुग्यो भने केही पनि पिर पर्दैन ।गोतामे र पानी पोखरेलको मात्र होइन सबै अत्रि र आत्रेय गोत्र हुनेहरूको वंशावली दश पुस्ता सम्म खुरुखुरु मिल्छ भन्ने टुची (१९५९ ई) को अनुसन्धानबाट देखिन्छ। यस साइनाले टेकनाथ गौतम र म पनि एउटै गोत्रका पर्छौँ । यसमा बगाले थापा, ठाडाराई अधिकारी, खतिवडा, सिक्देल, दुवाडी, मारुल्याल, दुलाल, गेलाल, चापागाईँ, आदि अनेक थर र जातका मान्छे पर्दछन् । काशीदास जोशी हाम्रा आदि पुर्खाको नाम हो । पानी पोखरेलको वंशावलीमा हाम्रा एउटा पुर्खा चाहिँ राज्य गर्न तिब्बत गएको उल्लेख छ । आज मैले तिनीहरूलाई भेटेँ भने, ती भोटे भइसकेकै होलान् ।

अनेकार्थ कोश (३.५५३) ले ‘असुर’ हरूलाई सूर्य र दितिका सन्तान मानेको छ (पृष्ठ १७)।  थारूहरूका संस्कृतिमा घोडा नभई हुँदैन । संसारमा घोडा चढ्ने पहिलो जाति शक हो । शक एउटा इरानी जाति हो । शकहरू सूर्यको पूजा गर्थे । बुट लगाएका सूर्यका मूर्तिहरू भारतीय उपमहाद्वीपमा शकहरूले नै ल्याएका हुन् । शक संवतका प्रवर्तक सम्राट् कनिष्क पनि शक नै थिए । खसहरू पनि शकहरूकै गोती हुन् । भारतीय उपमहाद्वीपमा शकहरू पहिलो शताब्दी तिर मात्र पसे, तर खसहरू भने वैदिक काल भन्दा अगाडि पसेको मानिन्छ । राहुल सांकृत्यायनले बुद्ध थारू जातिका थिए भन्ने कारण पनि ‘शक’ र ‘शाक्य’ शब्दको व्याकरणात्मक सम्बन्ध भएकैले पनि होला, तर शाक्यहरू त बुद्धकै पालामा गङ्गा नदीको ब्याँसीमा देखिन्थे, शकहरू भने त्यसको छ-सात सय वर्ष पछि मात्र भारतमा पसेका भेटिन्छन् । जे भए पनि घोडासितको साइनो र सूर्य पूजाले थारूहरूलाई अवैदिक आर्य शकहरूका छेउमा पुर्‍याउँछ कि?

राहुल सांकृत्यायन र जनकलाल शर्माको बुद्ध पनि थारू थिए र थारूहरू शाक्य वंशका थिए भन्ने मान्यताको टेकनाथ गौतमले खण्डन गरेका छन् (पृष्ठ १०) । अर्कातिर धेरै अनुसन्धाताहरूले थारूहरू आर्यहरूका गोती जस्ता पश्चिमबाट पूर्व तिर सर्ने नभएर पूर्वबाट पश्चिम तिर सर्ने अनार्य ठहराएका छन् । टेकनाथ गौतमले त्यस सिद्धान्तको पनि खण्डन गरेर थारूहरू पश्चिम एसियाबाट पूर्व तिर सरेका आर्यहरूकै बगाल मानेका छन् । आफ्ना तर्कको भाषा वैज्ञानिक प्रमाण गौतमले दिएका छन् : (क). थारूहरूले राक्षसलाई बुझाउने ‘देमन’ शब्द (पृष्ठ १३) को ज्ञाति शब्द ग्रिक, ल्याटिन जस्ता भारोपेली भाषाको ‘डेमन’ शब्दसित मिल्छ; (ख). मङ्सीर महिना जनाउन थारूहरू प्राचीन संस्कृतमा मात्र चल्ने ‘सहा’ शब्द (पृष्ठ १३) चलाउँछन्; (ग). दाङका थारू बस्तीहरूका ‘पर्सेनी, पर्सा, पर्सिया, परासीपुर’ (पृष्ठ १४) जस्ता नाउँले इरानलाई जनाउने ‘पर्सिया’ वा ‘फारस’ शब्द तिर सङ्केत गर्छन् । थारूहरू वराह (बगार) को पूजा गर्छन् । भाषा वैज्ञानिक सिद्धान्त अनुसार सुँगुरलाई जनाउने ‘वराह’ शब्द भन्दा ‘बगार’ शब्द पुरानो हो । संस्कृत भाषाको ‘ह’ ध्वनि ‘घ’ ध्वनिबाट विकसित भएको हो । ‘हत्या’ र ‘घात’, ‘दोहन’ र ‘दुग्ध’ वा ‘दुघ’ जस्ता शब्दहरूले त्यो कुरो प्रमाणित गर्छन् । यसरी थारू भाषाको ‘बगार’ शब्दको व्युत्पत्ति गर्न सकिन्छ : *बघार > बगार । संस्कृतको ‘वराह’ शब्दको व्युत्पत्ति चाहिँ यस्तो हुन्छ : *बघार: > *बराघ: > बराह: । यस दृष्टिले सुँगुर बुझाउने थारू भाषाको शब्द वैदिक संस्कृत भन्दा पुरानो देखिन्छ । थारूहरूको भाषा पूर्वमा मैथिलीसित मिल्ने, बीचमा भोजपुरीसित मिल्ने, पश्चिम नेपालमा अवधीसित मिल्ने र नैनिताल तिर ब्रज भाषासित मिल्ने भएकाले मैले पनि थारू भाषा लोप भइसकेको अड्कल गरेको थिएँ, तर टेकनाथ गौतमको यो अनुसन्धान पढेपछि थारूहरूको आफ्नो भाषा छिमेकी भाषाको प्रभावले पातलिएको मात्र हो, थारू भाषाको मौलिकताको धुक्धुकी अझै बाँकी छ भन्ने विश्वास भएको छ। गोपाल दयितको सक्रियताले केही वर्ष अगाडि प्रकाशित भएको थारू भाषाको कोश झलक्क मात्र देखेको तर पढ्न बाँकी रहेकाले थारू भाषाका शब्द बारे धेरै कुरो भन्न सक्तिन; खालि महेश चौधरीले लेखेको थारू भाषाका भाषिकाहरूको तुलनात्मक क्रिया रूपावलीलाई हेर्दा भने थारूहरूले बोल्ने भाषाका नेपाल भित्र कम्तीमा पाँच भेद र भारतका समेत जोड्दा एसआइएलले गणना गरेका सातै किसिमका पुग्छन् कि ?

सुँगुर जनाउने ‘बगार’, मङ्सीर जनाउने ‘सहा’ शब्द र गति बुझाउने ‘थर्ब’ धातु संस्कृत प्राचीन संस्कृत र संस्कृत भन्दा पुरानो आर्य भाषासित साइनो राख्‍ने देखिएकाले थारूहरूलाई अनार्य जनजाति मान्ने तर्क ठीक छैन भन्ने टेकनाथ गौतमको प्रस्ताव बलियो देखिन्छ ।

थारु पुराण को ‘मध्यकालीन भाग’ मा कुन ऐतिहासिक, भौगोलिक, मनोवैज्ञानिक र परम्परागत सांस्कृतिक बलहरूले थारूहरूलाई आजको वासस्थानमा सीमित गर्‍यो भन्ने कुराको मीमांसा गरिएको छ । किताबको तेस्रो खण्ड ‘आधुनिक भाग’ मा थारूहरूको भाषिक, सांस्कृतिक र आर्थिक पक्षको चिनारी दिइएको छ ।

किताबको प्रस्तुतिमा थारू जातिलाई पूर्ण सम्मान र सहानुभूति कायम राखिएको छ र थारूहरूको विपन्नता उनीहरूकै परम्परागत जातीय सांस्कृतिक मनोवैज्ञानिक कारणबाट मूल रूपमा र गौण रूपमा मात्र बाठाहरूको ठगाइबाट भएको निष्कर्ष निकालिएको छ ।

मेरा विचारमा यस किताबमा एक दुई ओटा कमजोरी छन् । गौतमजीले यहाँ सतार (सन्ताल वा सन्थाल) लाई पनि थारूकै एक जात मानेका छन्; त्यो कुरो ठीक छैन, किन भने सतारहरू त आग्नेय परिवारको भाषा बोल्ने आग्नेय जाति हुन्; थारूहरूले जस्तो आर्य भाषा बोल्ने जाति होइनन् । त्यस्तै यस पुस्तकमा दनुवार, दराई, कुमाल र बोटेलाई पनि थारूको गोती मानिएका छन्, तर ती कुराको प्रमाण भने किताबमा पुगेको छैन ।

खालि ७२ पृष्ठमा मात्र लेखिएको यस किताबले बोकेको गुरुत्व र गम्भीरता अनि अनुसन्धानको आदर्श विलक्षण र प्रशंसनीय छ ।

Leave a Reply