मैले दौरा सुरुवाल सिलाएँ

माओवादी छापामारहरूले बागडोल र भनिमण्डलको जुन ठाउँमा प्रहरी आइजिपीलाई मारे, त्यसै छेक भनिमण्डलमा मैले एउटा बिहेमा जानु पर्ने थियो । आफ्ना सुट जति सबै मैलिएका रहेछन्, त्यसैले मैले दौरा सुरुवाल कोट टोपी लगाएर पूरै राष्ट्रिय पोसाकमा सजिएर जाने विचार गरेँ । भनिमण्डलका छेउमा पुगे पछि आइजिपीका रगतका टाटा देख्ता भने, मलाई चिसो पस्यो । माओवादीहरूले मलाई पनि कुनै ठूलै मान्छे ठहराइदेलान् र आफ्ना छोराहरूले पनि सेता लुगा लगाउनु पर्ला कि भन्ने मैले सोचेँ ।

 

अर्जुन पराजुलीले उनका एउटा भाइका बिहेका निम्ते पातामा लेखेका थिए, ‘के दौरा सुरुवाल टोपी चाहिँ खालि भ्रष्टाचारीले मात्र लगाऊन् भनेर छोडिदिने ?’ टङ्क आचार्य र बेगेन्द्र सुब्बा हरेक गुरु पूर्णिमामा पूजाको सर्दाम लिएरै मलाई भेट्न आउँछन् । एउटा गुरु पूर्णिमामा उनीहरूले मलाई एक जोर दौरा सुरुवाल दिएका थिए । अर्जुन पराजुलीका भाइका बिहेको निम्तो मान्न र सिस्‍नो पानी नेपालका केही अरू कार्यक्रममा भाग लिन पनि म तिनै दौरा सुरुवाल नै लगाएर गएँ ।

 

दौरा सुरुवाल नेपालको राष्ट्रिय पोसाक हो भन्ने कुरो केटाकेटी अवस्थादेखि नै सुनेको भए पनि म दौरा सुरुवाल भन्दा कमेज पेन्ट नै रोज्थेँ । हुन त त्यो मेरो भन्दा आमाको रोजाइ होला । केटाकेटी हुँदा देखि दौरा सुरुवाल लगाउने बानी नभएकाले मैले दौरा सुरुवाल प्राय रोजिन । मेरा आङमा पहिलो जोर दौरा सुरुवाल उनिँदा म धरान महेन्द्र क्याम्पसमा पढाउँथेँ । क्याम्पसमा २०३० साल तिर ‘नयाँ शिक्षा योजना’ लाग्दा हरेक गुरुले दौरा सुरुवाल लगाउनै पर्थ्यो । त्यसै मुहूर्तमा मैले आफ्ना लागि पहिलो जोर दौरा सुरुवाल सिलाएँ । दौराका विषयमा मेरो सामान्य ज्ञान कम भएकाले मेरो पहिलो दौरा छोटो भएछ, त्यसैले विज्ञान तथा प्रविधि अध्ययन संस्थानको धरान क्याम्पस हात्तिसारमा हुँदा २०३५ साल तिर मैले दोस्रो जोर दौरा सुरुवाल सिलाएँ ।

 

पञ्चायती व्यवस्थामा राष्ट्रवादी विद्यार्थी मण्डलका सदस्यहरू औपचारिक रूपमा सधैँ दौरा सुरुवाल टोपी लगाएर हिँड्ने हुनाले वामपन्थीहरूले ‘टोपी लाउँदा मण्डले हुन्छ; बर्दी लाउँदा पुलिस बन्छ’ भन्ने गीतै बनाएका थिए । यसरी त्यति वेला बर्दी लगाउने पनि दौरा सुरुवाल टोपी लगाउने पनि राजाका बफादार हुन् भन्ने अर्थ लगाउने चलन वामपन्थीहरू बीच बसेको थियो, तर विश्व विद्यालय अन्तर्गत अधिराज्यका सबै क्याम्पसका गुरु र कर्मचारीहरूले दौरा सुरुवाल लगाए पछि, दौरा सुरुवाल टोपीको इज्जतै बढेको थियो ।

 

जनमत सङ्ग्रह पछि पञ्चायती व्यवस्था निकै माप्पाको भएर आयो । पञ्चायती व्यवस्था जति बलियो भयो, दौरा सुरुवालको अनिवार्यता पनि त्यति नै बलियो हुँदै गयो । छयालीस सालको जन आन्दोलन पछि आएको बहुदलीय व्यवस्थाले गर्दा पञ्चायती व्यवस्थासँगै दौरा सुरुवालको अनिवार्यता पनि विश्व विद्यालयबाट लग्यो । नारायणहिट्टी र सिंह दरबार अनि तिनीहरूका मातहतका औपचारिक कार्यक्रमबाट भने, दौरा सुरुवाल छुटेन ।

 

दोस्रो जन आन्दोलन पछि अच्चम्मसित नारायणहिट्टीको तागतसँगै दौरा सुरुवालको औपचारिक अनिवार्यता पनि सिद्धियो । पहिलो पल्ट त्यो पुनस्थापित व्यवस्थापिका संसदका सांसदका पोसाकबाट गयो, पछि टड्कारै रूपमा उपराष्ट्रपतिका जिउबाट गयो अनि अन्त्यमा प्रधान मन्त्री र मन्त्री परिषदबाट गयो । अब औपचारिक रूपमा आफ्नो पुरानो बानी छोड्न नसक्‍ने केही कर्मचारीहरू मात्र लगाइरहेका छन् । अनौपचारिक रूपमा भने, विदेश र सहरको हावा नलागेका सबै पहाडे नेपालीहरू लोग्ने मान्छे भए दौरा सुरुवाल र आइमाई भए, चौबन्दी चोलो लगाइरहेका छन् । नयाँ संविधान बनाउँदै केही लेखिएन भने, अब नारायणहिट्टीबाट राजा खुस्किए झैँ राष्ट्रिय पोसाकबाट दौरा सुरुवाल पनि खुस्केर जाने छाँट छ । अन्तरिम संविधानमा चाहिँ दौरा सुरुवाललाई नेपाली राष्ट्रिय पोसाकको दर्जा नदिए जस्तै छ ।

 

नेपाली भाषालाई राष्ट्र भाषाको दर्जाबाट खुस्काएको घटना, दौरा सुरुवाल टोपीलाई राष्ट्रिय पोसाकबाट खसालेको घटना, नारायणहिट्टीबाट राजालाई बिदा गरेको घटना र संविधान सभामा केही सांसदले र आफ्नो शपथ ग्रहणमा उपराष्ट्रपतिले नेपाली भाषाको साटो हिन्दी भाषा प्रयोग गरेको घटना किन साङ्ली परेर आइरहेका छन् म बुझ्न सक्तिन । नेपालमा राजा चाहिँदैन भन्ने कुरो त मैले पढेको मार्क्सवादमा पनि आउँथ्यो, तर राजासँगै लुँडिएर किन नेपालको राष्ट्रियतासित जोडिएर आउने गरेका अरू कुरा पनि क्रमश: धकेलिँदै र ढुन्मुनिँदै गइरहेका छन् त्यो चाहिँ बुझ्ने उपाय के होला ?

 

मदन मणि दीक्षितजीले ‘ऋग्वेदका केही सूक्तहरू’ को अनुवाद गर्नु भएछ । के प्रभाव परेर हो उहाँले त्यस ग्रन्थको भूमिका लेख्‍न मलाई रोज्नु भएछ । उहाँको प्रस्ताव मैले सहर्ष स्वीकार गरेँ, किन भने उहाँको नेपाली वैदिक साहित्यमा उल्लेखनीय योगदान छ । मैले चारै ओटा वेद, वैदिक शिक्षा ग्रन्थ र प्रातिशाख्य, यास्कको निरुक्त र केही उपनिषद्हरू पढेको छु, तर त्यसको सुइँको उहाँले कसरी पाउनु भयो, मलाई अच्चम्म लाग्यो । भेट हुँदा उहाँलाई सोधेँ । उहाँले भन्नुभयो, ‘वैदिक ध्वनि विज्ञान पढेको थाह थियो; त्यसै आधारमा भूमिका लेख्‍न पठाइदिएको हो ।‘ उहाँ जस्तो शिखर पुरुषको ‘ऋग्वेद’ विषयमा लेखिएको ग्रन्थमा भूमिका लेख्‍न उहाँले मलाई रोज्नु नै ठूलो जाँच पास गरेको मैले ठानेँ । मैले उहाँको किताबको भूमिका लेख्ता एउटा जाँचैको तयारी गरे जस्तो अनुभव गरेँ । मैले ऋग्वेद सम्बन्धमा राहुल सांकृत्यायनका ‘ऋग्वेदिक आर्य’, ‘मध्य एसिया का इतिहास’, ‘तिब्बत में बौद्ध धर्म’ अनि चीन, मध्य एसिया, इरान र भारतको इतिहासको अध्ययनसँग जोन मार्सलको हरप्पा सम्बन्धी प्रतिवेदनका साथै मध्य एसियामा रुसी पुरातत्वविद्हरूले प्रकाशित गरेका प्रतिवेदन पढेका आधारमा आफ्नो जिम्मा पूरा गरेँ र बिजुली डाकमा पठाइदिएँ । त्यो पढे पछि उहाँले भन्नु भयो, ‘त्यो भूमिका पढे पछि खुसीले म रात भरि निदाउन सकिन ।‘ मलाई आफू जाँचमा पास भएको अनुभव भयो । त्यस पछि म सिक्किम गएँ । सिक्किमबाट आउँदा उहाँले मेरा घरमा दौरा सुरुवाल र कोटको कपडा पठाइदिनु भएको रहेछ । म खुसीले भाराक्रान्त भएँ । उहाँलाई मैले फोन गरेँ, ‘यहाँले पठाइदिनु भएको कोसेली पाएँ, तर मलाई त अलिक गरुङ्गो अनुभव भयो ।‘ उहाँले भन्नु भयो, ‘गरुङ्गो मान्नु पर्दैन, मैले खुसीले पठाएको हुँ ।‘ मैले उहाँलाई भनेँ, ‘त्यसो भए, म यसलाई प्रसाद सम्झेर ग्रहण गर्छु ।‘ दसैँलाई मैले त्यही दौरा सुरुवाल कोट सिलाएँ । यो मेरो जीवनको चौथो जोर दौरा सुरुवाल भयो ।

 

अब उपराष्ट्रपति र प्रधान मन्त्री लगायत धेरै मन्त्री तथा सांसदले दौरा सुरुवाल लगाउन छोडिसके पछि भ्रष्टाचारी हुन सक्‍ने सम्भावना भएका सबैले दौरा सुरुवाल लगाउन छोड्दै जालान्, त्यसैले अब दौरा सुरुवाल भन्दा पवित्र राष्ट्रिय पोसाक अरू कुनै नहुने भएकाले मैले ठीकै वेलामा दौरा सुरुवाल सिलाएँछु भन्ने कुरामा शङ्का गर्ने ठाउँ अल्लिकति पनि रहेन । म मन मनै सोच्तैछु : म दिनहुँ बाहिर निस्किँदा दौरा सुरुवाल मात्र लगाउने नियम बाँध्‍न सक्छु कि सक्तिन होला ?

 

नौरथा नलाग्दै दौरा सुरुवाल सिलाउन घरबाट भेडासिङ तिर निस्किने वेलामा यसपालि त सबै सरकारी कर्मचारी र राजा कहाँ टीको थाप्‍न जानेहरू घटेकाले दौरा सुरुवाल सिलाउने ठाउँमा होलो खुकुलै होला, बिचरा नेपाली दर्जीहरू बेरोजगार भएका होलान् र मलाई देखेर खुसीले स्वागत गर्लान् भन्ने ठानेको थिएँ, तर भेडासिङमा सबै दर्जीका पसलमा पुग्दा भने, कतै पनि ठाउँ खालि छैन । नेपाली बिहे घरमा छोरीका बाबुले बेहुला पट्टिकालाई करजोरी बिन्ती गरे झैँ फूलपाती अगाडि नै दौरा सुरुवाल सिलाइसक्‍न मैले पनि दर्जीहरूलाई घनघोर बिन्ती गर्नु पर्‍यो । कुरो के परेछ भने, दार्जिलिङमा चलिरहेको गोर्खा ल्यान्ड आन्दोलनका नेताहरूले यो दसैँ र तिहारको एक महिनाभर चाहिँ सबै नेपालीहरूले अनिवार्य रूपले पुरुष भए, दौरा सुरुवाल र आइमाई भए, चौबन्दी चोलो र फरिया नलगाए कार्बाही गर्ने घोषणा गरेछन्; अनि त उताका दर्जीले नभ्याएर नेपालका काठमाडौँ सम्मका दर्जीहरूलाई समेत दौरा सुरुवाल र चौबन्दी चोलो सिलाउन भ्याई नभ्याई भएको रहेछ । पहिलेदेखि नै सिइराखेका नेपाली पोसाक पनि दार्जिलिङले गर्दा सप्पै रित्तिएछन् । पछि त नेपालका दर्जीहरू नै दौरा सुरुवाल सिउन दार्जिलिङ गइरहेका छन् भन्ने समाचार अखबारमा आयो । आफूलाई अप्ठ्यारो परे पनि मलाई सारो आनन्द आयो । नेपालले लत्तो छोडे पनि नेपाली संस्कृतिको बिँडो दार्जिलिङले थामिदिने रहेछ । यसरी दौरा सुरुवालले नेपालको राष्ट्रिय पोसाकको दर्जाबाट माथि उठेर बीच पहाडका नेपालीहरूको जातीय पोसाकको दर्जा लिएछ ।

 

मलाई त नेपालको उत्तर र दक्षिणको अन्तरराष्ट्रिय सिमाना पारिका मानिसहरूले लगाएको पोसाकसँग जुन पोसाक मिल्दैन नेपालको राष्ट्रिय पोसाक त्यही हुनु पर्छ जस्तो लाग्छ । दौरा सुरुवालले यो जाँच पास गर्न सक्ला कि नसक्ला ?

Leave a Reply