सेती महाकालीको फन्को : नौ मुठे गाईको दूधको तन्को

सेती र महाकाली अञ्चलमा बोलिने नेपाली मातृभाषाहरूको सर्वेक्षण गर्ने जिम्मा पाएर म २०६९ साल असार १७ गते काठमाडौँबाट यती विमानमा उडेर कैलाली जिल्लाको धनगढीमा ओर्लेँ । मेरा साथमा प्राध्यापक डा. चूडामणि बन्धु पनि राजी र राउटे भाषाको सर्वेक्षण गर्न जानु भएको थियो । काठमाडौँमा त्यति वेला निकै गर्मी नै थियो, तर धनगढीमामा ओर्ले पछि सम्झेर ल्याउँदा काठमाडौँ धेरै शीतल भयो । धनगढीमा भट्‍टीको रापका छेउमा बसी रहे जस्तो भई रहेको थियो ।

जापानीहरू अरूको सुविधामा एक दम ख्याल राख्छन्, नेपालीहरू केही गरी ज्यादै सचेत र सभ्य भई हाले भने, आफ्नो र आफ्ना जहान छोराछोरीका सुविधामा मात्र चाहिँ ध्यान दिन सिक्छन् । धेरै जसो नेपालीलाई त न आफ्ना सुविधाको ख्याल हुन्छ, न अर्काको सुविधाको ।  काठमाडौँमा समेत काम लाग्ने नेपाली बानीको यो सर्व व्यापी सूत्र धनगढीमा काम नलाग्ने कुरै भएन । धनगढी विमान घाटबाट धनगढी बजार पुग्ने साधन विमान घाटमा सजिलै पाइँदो रहेनछ । बाहिरबाट डुल्न एक पल्ट आउनेले कुनै नयाँ ठाउँमा आफू पुग्दा जे भोग्छ, त्यसैलाई त्यस ठाउँको सधैँको बेहोरा ठान्छ । अरू दिन ट्याक्सी र रिक्सा जस्ता सवारी साधन सजिलै पाइने भए पनि म पुगेका वेलामा नपाइए पछि धनगढी विमान घाटमा सर्व साधारणलाई सवारीको सुविधा हुँदैन भन्ने कुरो ध्रुव सत्य नै भयो । त्यहाँ खालि सरकारी र निजी सवारी साधन मात्र थिए । मैले एउटा त्यस्तै सरकारी गाडीका चालकलाई मूल बाटो सम्म हामी दुई जनालाई पुर्‍याई मागेँ । उनले माने । डा. बन्धु र म मूल बाटो पुग्यौँ र एउटा बसमा चढेर धनगढी पुग्यौँ ।

समर इन्स्टिच्युट अफ लिङ्‌ग्विस्टिक्स (एसआइएल) ले संसारभरमा जम्मा सात हज्जार मातृभाषा भएको अड्कल गरेको छ । ‘एथ्नोलग’ भन्ने एउटा ठेली त्यसले बर्सेनि प्रकाशित गर्छ । एसआइएल एउटा क्रिस्चियन संस्था हो । त्यसको मूल उद्देश्य भनेकै संसारका कुन कुन मातृभाषामा बाइबलको अनुवाद हुनु आवश्यक छ भन्ने सम्भाव्यताको अध्ययन गर्नु हो र आवश्यक छ भन्ने लाग्यो भने, त्यस भाषामा बाइबलको अनुवाद गर्नु हो । त्यो उद्देश्य पुरा गर्न त्यो संस्थाले विश्वभरका भाषा विज्ञान र मानव शास्त्रका प्रतिभाशाली विद्यार्थीहरू आकर्षित गर्छ । ति भाषा वैज्ञानिक र मानव शास्त्रीहरू संसारभरका मातृभाषा र जन जाति भएका ठाउँमा छाप्छाप्ती भएर पुग्छन्; दुर्गम गाउँमा झन्डै स्थानीय जाति जस्तै दुःख गरेर, मेहनत गरेर, मिलेर बस्छन्; जन जातिको चाल चलन, आनिबानी, संस्कृति र भाषा सिक्छन् अनि त्यस जातिका विषयमा लेखहरू लेख्छन्; विश्व विद्यालयका लागि अनुसन्धान प्रबन्ध लेख्छन्; जन जातिले बोल्ने भाषाको शब्द कोश बनाउँछन्, व्याकरण बनाउँछन्, गाउँका केटा केटीलाई पढाउन वर्ण माला र पाठ्य पुस्तक बनाउँछन्, बसुन्जेल भाषिक समुदायको पिर मार्का बुझेर सघाउँछन्, बाइबलको अनुवाद गर्छन्, बाइबल पढ्न अनुकूल वातावरण पनि बनाई दिन्छन्, दुःख परेका मान्छेको मन पनि जित्छन्, मन परिवर्तन पनि गर्छन्, पिएचडी डिग्री पाउँछन् अनि एसआइएलमा स्यावासी र पदोन्नति पाउँछन् । त्यस्ता मान्छेहरू संस्थासँग भरसक सधैँ गाँसिन्छन् र संस्थाका लागि काम गर्छन्। नेपालका सय ओटा जति मातृभाषा मध्ये धेरै ओटा भाषामा एसआइएलको अध्ययन पुगेको छ ।

धर्म प्रचारकहरूले नेपाली जस्तो राष्ट्रिय सम्पर्क भाषालाई भन्दा मातृभाषालाई लक्ष्य बनाउनु पर्छ । आफ्ना प्रभु जिजसको सन्देश सके सम्म सबै मान्छेले बुझुन् भन्ने लक्ष्य राख्‍ने धर्म प्रचारकहरू केटा केटी र अरू मातृभाषीको सम्पर्कमा नआएका सबै किसिमका भाषिक भेदमा बाइबलको अनुवाद हुनु आवश्यक ठान्छन् ।  त्यसका लागि भाषा विज्ञानको ‘पारस्परिक बोधगम्यता’ को सूत्र उनीहरूलाई काम लाग्छ । दुइटा छिमेकीहरू आफ्नो घरमा एउटै खालको भाषा बोल्छन् कि फरक फरक बोल्छन्? एउटा मातृभाषा हुनेहरूले बोलेको अर्को मातृभाषा हुनेहरूले बुझ्छन् कि बुझ्दैनन्? दुइटा मातृभाषा परस्परमा बुझिँदैनन् भने एसआइएलले ति दुइटै मातृभाषामा बाइबलको फरक फरक अनुवाद हुनु पर्छ भन्ने निष्कर्ष निकाल्छ ।

दुई वर्ष अगाडि मैले के चाल पाएँ भने, अहिले सम्म विद्वानहरूले नेपालीका भाषिका ठानी राखेका जुम्ली र अछामीलाई त एसआइएलले बेग्ला बेग्लै मातृभाषा भन्ने आइएसओ कोड दिलाई सकेछ । अन्तर राष्ट्रिय मानक संस्था (इन्टर्नेस्नल स्ट्यान्डर्डाइजेसन अर्गेनिजेसन) ले संसारभरका मूर्त र अमूर्त सम्पदालाई एक अर्कासँग नजुध्‍ने गरी फरक फरक सङ्केत दिने गर्छ । नेपाली भाषाको र जुम्ली भाषाको छुट्‍टा छुट्‍टै आइएसओ सङ्केत भएकाले अब नेपाली र जुम्ली फरक फरक भाषा ठहरिई सकेछन् । अछामी भाषामा पनि बाइबलको अनुवाद भई सकेको रहेछ । जब मैले जुम्ली भाषालाई छुट्‍टै आइएसओ सङ्केत दिइएको, तर डोट्याली भाषालाई चाहिँ नदिइएको चाल पाएँ, अनि मैले आर.डी. प्रभास चटौतलाई फोन गरेर डोट्याली भाषालाई पनि छुट्‍टै आइएसओ कोडको माग गर भन्ने प्रेरणा दिएँ । प्रभासजीले माग गरे, एसआइएलले समेत सिफारिस गर्‍यो र यो साल डोट्याली भाषाले छुट्‍टै आइएसओ सङ्केत पायो ।

राष्ट्रिय योजना आयोगले नेपालभरका मातृभाषाको समाज भाषा वैज्ञानिक सर्वेक्षण गर्ने जिम्मा त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागलाई दिएको छ । नेपालमा सत्तरी ओटा जति भाषा होलान् भनेर जापानी भाषा वैज्ञानिक सुएयोसि तोबाले अड्कल गरेका छन् भने, एक सय चालिस ओटा जति अड्कल गरेका छन् अमेरिकाली भाषा वैज्ञानिक माइकल नुननले । नेपाल सरकारलाई चाहिँ थाहै छैन नेपालमा कति ओटा मातृभाषा छन् भनेर, त्यसैले नेपालमा जम्मा कति ओटा मातृभाषा छन् र जीवन्तताका दृष्टिले तिनीहरूको धुक्धुकी कस्तो छ भनेर नारी छाम्‍न योजना आयोगले हाम्रो विभागलाई त्यो जिम्मा लगाएको छ, तर नेपाल देश र नेपाल सरकारले त अझै संस्थागत रूप नै लिई सकेको रहेनछ भन्ने कुरो भाषा सर्वेक्षण गर्ने काम थाले पछि पटक पटक भई रहेको छ । नेपालमा जुनसुकै वेला सरकार फेरिई रहन्छ र सरकारको कुर्सीमा भुइँचालो आई रहन्छ । यस्ता भुइँचालामा पाथी भर्न सिपालु नेता, हाकिम, तस्कर, विदेशी र फटाहाहरूले उन्नति गरी रहेकै देखिन्छ; ओरालो लागी रहने त खालि देश र राष्ट्रवादीको इज्जत मात्र हो । सरकार फेरियै पिच्छे योजना आयोगमा क्यारम बोर्डका गोट्‍टी फेरिन्छन्; धेरै जसो मन्त्रालय र ठुला अड्‍डाका हाकिम र फाँटवालाको पनि ठाउँ फेरिँदो रहेछ अनि भाषा सर्वेक्षणको फाइल जुन हाकिमका खटनमा हुन्थ्यो, त्यो हाकिम हिँडे पछि नयाँ आउने गोट्‍टीलाई सरकारले भाषा विज्ञान विभागलाई भाषा सर्वेक्षण गर्ने काम लगाएको थियो भन्ने ज्ञान पनि हुँदो रहेछ र फाइल पनि हराउँदो रहेछ । हरेक पल्ट सरकार फेरिँदा ‘लौ न, तिमीहरूले हामीलाई यो काम लगाएका थियौ भनेर बुझाउन र अर्को फाइलको प्राण प्रतिष्ठा गर्न हामीले दौडिनु परी रहेको छ । सिंह दरबारका हाकिम र कर्मचारीको विशेष योग्यता भनेकै काम गर्न मन नलाग्ने, कुराले टार्ने कौशल, कलम घुमाएर ‘भाषा सर्वेक्षण’ लाई ‘भाषा संरक्षण’ बनाई दिने अनि त्यो ‘संरक्षण’ शब्दलाई ‘सर्वेक्षण’ बनाउन तिन महिना झुलाई दिने, बिस लाख रुपियाको निकासालाई सोर लाखमा झार्ने, आफू भन्दा जान्ने अर्कालाई नठान्ने अनि मिटिङ भत्तामा राल काढ्ने रहेछ । पैसा निकासा हुँदा असारको आधाआधी सकिँदो रहेछ अनि पन्ध्र दिनमा सेती र महाकाली अञ्‍चलका भाषाको सर्वेक्षण गरेर तुरुन्त प्रतिवेदन बुझाउने आदेश मन्त्रालयले भिराउने रहेछ।

नेपालका भाषाहरूको समाज भाषा वैज्ञानिक सर्वेक्षण बारे सरकारको यस्तो निर्मम चर्तिकलाका बिचमा त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागले नेपालका मातृभाषाहरूको जीवन्तताको सर्वेक्षण गर्नु परी रहेको छ । जम्मा सात वर्षमा सर्वेक्षण सिध्याउने लक्ष्य लिएर थालेको यो काम नेपाल सरकारको अनुत्तरदायी अनुशासनहीनताले गर्दा पचास वर्षमा मात्र फत्ते होला भन्ने डर लागी रहेको छ । जिम्मेवार नेताहरू नाराको उत्पादन गर्नमा लागेका छन् र भाषा बारे पनि विशेषज्ञलाई नसोधी जे मुखमा आयो त्यही बकी रहेका छन् । यस्ता विषम परिस्थितिमा पनि खालि एसआइएलले मात्र आफ्नो उत्तरदायित्व बिर्सेको छैन र त्यसै संस्थाले दिएको आर्थिक भरले भाषा सर्वेक्षण परियोजना चली रहेको छ र यस परियोजनाले गएको चार वर्षमा झन्डै बिस ओटा भाषाको सर्वेक्षण सिध्याएको छ । यसरी नेपालमा अड्कल गरिएका जम्मा सय ओटा मातृभाषा मध्ये एक पञ्‍चमांश भाषाहरूको सर्वेक्षण चार वर्षमा सकिएकाले सरकार संवेदनशील नभए पनि सोर वर्षमा सर्वेक्षण पुरा होला जस्तो छ । लाटाको खुट्‍टो बाटामा परेर केही गरी सरकार संवेदनशील भई दियो भने पनि लक्ष्य अनुसार सात वर्षमा त सर्वेक्षण सकिने छाँट छैन ।

नेपाल सरकारको त्यही काम गरी दिन प्रोफेसर बन्धु र म धनगढी पुगेका हौँ । हामी भन्दा अगाडि नै एउटा टोली व्यासी भाषाको सर्वेक्षण गर्न दार्चुला तिर लागी सकेको थियो; अर्को एउटा टोली डडेल्धुराको जोगबुढामा राउटे भाषाको सर्वेक्षण गर्न पुगी सकेको थियो; बन्धु सर त्यसै टोलीमा सामेल हुन मसँग जानु भएको थियो । जोगबुढाबाट डा. बन्धुले नेतृत्व गरेको टोली राउटेहरूलाई फिरन्ते अवस्थामै भेट्न दाङ तिर लाग्यो । एउटा टोली राना थारुको अर्को टोली डगौँरा थारुको सर्वेक्षणमा कैलाली र कञ्‍चनपुर जिल्लाको दक्षिणी भेगमा काम गरी रहेको थियो । बन्धु सर र म धनगढी पुग्नु भन्दा अगाडि नै अर्को एउटा टोली चाहिँ बाजुरा र बझाङ तिर पुगी सकेको थियो ।

मेरा टोलीमा परेका हर्क बहादुर शाही र सुरेन सापकोटा भन्ने मेरा शिष्यहरू कैलाली पुगी सके भन्ने मैले पाएको सूचना म धनगढी पुग्दा बेठिक रहेछ । तिनीहरूलाई दुई तिन दिन पर्खँदै म धनगढीको गर्मीमा आफ्नो कल्साउँदो जिउ सेकेर रङ गाढा बनाई रहेको थिएँ । पन्ध्र दिनमा झन्डै आधी समय जस्तो कहिले धनगढी कहिले महेन्द्र नगरका भुङ्रामा आफ्नो जिउ सेकाउनाले काठमाडौँ आएर ऐना हेर्दा म त शालिग्राम भई सकेको रहेँछु ।

मेरा चेलाको बाटो हेरुन्जेल मैले सेती महाकालीको सामान्य भाषिक स्थिति धनगढीमै अध्ययन गर्ने विचार गरेँ । मैले आर.डी. प्रभास चटौतजीसित धनगढीका वासुदेव पाण्डेय, टी.एन. जोशी र एन.के. जोशीको फोन नम्बर लिएर गएको थिएँ । हामी धनगढी पुग्‍नु भन्दा अगाडिदेखि नै उनीहरूले मेरो खोजी गरेर फोन गर्न थाले । उनीहरूले नै हामीलाई विद्या होटलमा बस्‍ने चाँजो मिलाई दिए । मैले उनीहरूसित दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम र डोटीका आफ्ना आफ्ना मातृभाषा राम्रो बोल्न सक्‍ने मान्छेसँग सुदूर पश्चिमका मातृभाषाहरूको वर्तमान स्थिति बुझ्न एउटा अन्तरक्रियाका लागि बोलाई दिन अनुरोध गरेँ । उनीहरूको सहयोगबाट ति सुदूर पश्चिमाञ्‍चलका सातै ओटा पहाडी जिल्लाका मातृभाषाका वक्ता र प्रवक्तासँग होटलमै सुदूर पश्चिमाञ्‍चलका मातृभाषा बारे छलफल भयो ।

तेस्रो दिन बिहानै प्रा. चूडा मणि बन्धु डडेल्धुराको जोगबुढामा स्थायी बसोवास गर्ने राउटेहरू भेट्न हिँड्नु भयो र अपरान्ह तिर हर्क बहादुर शाही सुर्खेतबाट आई पुगे । चौथो दिन मात्र सुरेन सापकोटा आई पुगेकाले हामी त्यसै दिन डोटी, डडेल्धुरा र अछाम तिर लाग्यौँ । धनगढी डडेल्धुरा राजमार्गमा गाडी पहाड तिर चढ्दै गए पछि धनगढीको उखुम गर्मी हराउँदै गयो । पहाडमा हामीले भाषा सर्वेक्षणको पहिलो थलो डोटी जिल्लाको पश्चिम सिमानामा पर्ने बुडर भन्ने ठाउँलाई बनाउने निधो गर्‍यौँ । बुडरमा विजय होटलमा बस्यौँ; बेलुका तन्दुरी र भात मिसाएर खायौँ; राति जाडो भएर सिरक ओढ्यौँ र बिहान खाजाका रूपमा दूध र केरा खायौँ । पुगेकै दिनदेखि काम थाल्यौँ । भोलि पल्ट स्वास्थ्य शिविरमा पुगेर एकै चोटि फरक फरक उमेरका धेरै खालका डोट्याली भाषाका वक्तासित सामूहिक र व्यक्तिगत अन्तरक्रिया गरेर धेरै खालका सूचना बटुल्यौँ । पानी रहै पिच्छे छाता हराउने बानी भएका सुरेन सापकोटाले जम्मा दुइटा मात्र छाता हराउन भ्याए । तेस्रो छाता पनि हराएका भए हर्क शाहीले लगेको पतञ्‍जलि औषधालयको बुद्धिवर्धक चूर्णको जाँच पनि हुने थियो ।

बुडरको काम सकेर हामी डडेल्धुरा तिर लाग्यौँ । आर.डी. चटौतले डडेल्धुरामा पनि डोट्याली भाषाको उन्नतिमा समर्पित हेमराज चटौतको फोन दिएका थिए । म डडेल्धुरा पुग्‍नु भन्दा अगाडिदेखि नै हेमराज चटौतसँग फोनमा पटक पटक कुरा भई रहेको थियो । हेमराजजी हामीलाई बस बिसौनीमै पर्खी रहेका थिए । हाम्रो बस्ने चाँजो लाल बहादुर कडायतको लजमा गरिएको रहेछ । हेमराजजीले नै हामीलाई चाहिने डडेल्धुराका मातृभाषीहरूसँग व्यक्तिगत र सामूहिक सम्पर्क जुटाई दिए र ठुलो सहयोग गरे । लाल बहादुर कडायतका छोराले पनि निकै सहयोग गरे; खालि आफ्नो लजका लाम्खुट्‍टेलाई चाहिँ तह लगाउन सकेनन् र हाम्रो सेवामा पिछा लगाई दिएछन्; मेरा मित्रहरूको राति झन्डै फर्लङ्ङ बित्यो । मलाई चाहिँ बेलुका पौने दश बजे सुते पछि बिहान चार बजे सम्म निदाएर चाल नपाउने भएकाले लामखुट्‍टेले पनि प्रोफेसर भनेर मान राख्यो होला । डडेल्धुरामा सुते पनि बुडरको सम्झना गर्न हर्क शाही र सुरेन सापकोटाले छोडेनन् ।

डडेल्धुरामा थुप्रै रमाइला अनुभव कमाइयो । पहिलो कुरो त, सक्‍कली डोटी, डोटी जिल्लामा नभएर डडेल्धुरामा रहेछ भन्ने थाह भयो । डडेल्धुरा बजारको पूर्व तिर डोटी खोलो रहेछ । त्यो नै डोटी राज्यको सांस्कृतिक र ऐतिहासिक केन्द्र रहेछ । त्यहाँ देउताहरूलाई सघाउने सात ओटा दानवहरूको पूजा हुँदो रहेछ । महाभारतका नायक भीमसेनका छोरा घटोत्कच (घटाल) त्यहाँका ठुला देउता रहेछन् र उनकै छेउमा ‘त्रिपुरा सुन्दरी’ नाउँले घटोत्कचकी आमा हिडिम्बाको पूजा हुँदो रहेछ । डा. डी.डी. शर्माले पुराणमा वर्णन गरिएका दानवहरूको खस राज्य कुमाउँमा पूजा हुन्छ भन्ने लेखेका छन् । अशोक चल्लले आफूलाई ‘दानवदेशनरेश’ (दानव देशका राजा) भनेर चिनाएका छन् । कुमाउँमा त कुम्भ निकुम्भको पनि पूजा हुन्छ अरे । लक्ष्मणले युद्धको सङ्ख बजाउँदा मेघनाद पनि निकुम्भिला देवीको पूजा गरी रहेको कुरो ‘वाल्मीकि रामायण’ मा लेखिएको छ । डोटी खोलाका किनारमा खस राज्य कुमाउँको प्रागितिहासिक प्रभाव भएको चाल पाउँदा मलाई आङ सिरिङ्ङ भएर एक तमासको रमाइलो लाग्यो ।

डडेल्धुरा बाइस सय मिटर भन्दा धेरै उचाइमा रहेछ भन्ने कुरो हामीले अल्टिमिटर (उचाइमापक) बाट चाल पायौँ । स्याटलाइटबाट सिधै जिआइएस (अक्षांश, देशान्तर, उचाइ, तापक्रम, आदि) नाप्‍न सकिने यन्त्र हामीले साथमा लगेकाले किन डडेल्धुरामा हामीलाई सबभन्दा शीतल भयो भन्ने कुरो बुझ्‍न सजिलो भयो । डडेल्धुराको काम सकेर हामी डोटीको सदर मुकाम दिपायल तिर लाग्यौँ ।

सेती नदीको बाफले दिपायल उपत्यका निकै बाफिलो र रापिलो रहेछ । आर.डी. चटौतसँग मैले दिपायल रेडियोमा काम गर्ने धीरेन्द्र चटौत र लक्ष्मीदत्त भट्‍टको फोन नम्बर लिएको थिएँ । हामी दिपायलमा ओर्लिँदा धीरेन्द्र चटौत हामीलाई बस बिसाउनीमा भेट्न आए । आफ्नो अड्‍डाको काम सकेर अपरान्ह तिर लक्ष्मीदत्त भट्‍ट पनि आई पुगे । लक्ष्मीदत्त भट्‍टले भने, ‘यहाँहरूलाई आपत्ति हुँदैन भने, मेरो क्वार्टरमा यहाँहरूलाई स्वागत गर्न मन छ । अहिले डोटी जिल्लाका सबै तिरबाट लोक सेवाका परीक्षार्थीहरू आएकाले कुनै पनि लजमा ठाउँ पाउनु गारो छ । मेरा डेरामा पनि म अहिले एक्लै छु । ‘धर्म सङ्कटमा परे पनि हामी लक्ष्मीजीको पाहुना हुन उकालो लाग्यौँ ।

लक्ष्मीदत्त भट्ट बैतडेली मातृभाषी भए पनि आफ्नो मातृभाषालाई डोट्यालीकै एउटा भेद ठान्दा रहेछन्; डोट्याली भाषामा कविता र गजल पनि लेख्ता रहेछन्; सेती प्राविधिक विद्यालयमा सहायक प्रशिक्षकका रूपमा पशु विज्ञान पढाउँदा रहेछन् । मैले उनकै आवासमा बसेर उनको एउटा काव्यको भूमिका पनि लेखी दिएँ । हामी तिनै जना लक्ष्मीजीको पाहुना लाग्यौँ; उनले भात पकाएर त ख्वाए ख्वाए, हामी तिनै जनालाई आफ्नो जुठो थाल टिप्‍न पनि दिएनन् । आमाको बरखी बारेर बसेका मान्छे, त्यहीँ माथि महाकाली पारि पर्ने दोधारा चाँदनीको शिव मन्दिरका पुजारी खलक रहेछन्; परी आए कर्म काण्ड गरी दिन पनि सक्‍ने लक्ष्मीदत्त भट्‍टजी जापानमा पशु विज्ञान पढेर आएका रहेछन् । उनका क्वार्टरका छानामै पाकेका पहाडे आँप झुन्डिँदा रहेछन्, त्यो पनि लक्ष्मीजीले टिपेर प्रातराश (ब्रेकफास्ट) गराए । हामी लक्ष्मीजीका आवासमा दुई वास बस्यौँ ।

दिपायलमा हामीले दिपायल एयरपोर्ट छेउको गाउँमा र बजारमा गरी दुई ठाउँमा डोट्याली भाषा सम्बन्धी प्रारम्भिक सूचना बटुल्यौँ । दिपायल बजार बाहिरियाहरूको बस्ती रहेछ, त्यसैले हो कि किन हो हामी जुन कामले त्यहाँ दुई वास बसेका हौँ, त्यो काम त्यति सफल भएन । जनक लाल शर्माले ‘हाम्रो समाज’ बन्ने किताबमा ‘ढाँट, चोर, र ठग’ थर भएका नेपालीहरू पनि भेटिन्छन् भन्ने कुरो लेखेका छन् । दिपायलमै मैले जीवनमा पहिलो पल्ट ‘ढाँट’ थर भएका मान्छे भेटेँ ‘नरेन्द्र बहादुर ढाँट’ । तिनको सहयोग लिन हामीलाई एक जनाले पुर्‍याएका थिए, तर तिनले त हामीलाई सहयोग गर्छु भनेर ‘ढाँटे’ मात्र । वास्तवमा तिनले नै उनकै होटलमा गरेको हाम्रो सहभागिता मूलक अन्तरक्रियालाई भाँडे भन्दा गल्ती नहोला ।

नरेन्द्र बहादुर ढाँटको होटलमै भएका वेलामा भक्त बहादुर बलायर पनि त्यहीँ छन् भन्ने थाह भयो । मैले उनलाई फोन गरेँ । त्यति वेला उनी कुनै बैठकमा रहेछन्, कुरा मात्र भयो । भोलि पल्ट हामी अछाम जिल्लाको सदर मुकाम मङ्गलसेन जाने बस चढ्न ठिक्‍क परेका वेलामा बलायरजी बस बिसौनीमा भेट्न आए । हामीले खालि कल्पना मात्र गर्‍यौँ दिपायलमा नओर्लेर सिल्गढीमा ओर्लेको भए अथवा भक्त बहादुर बलायर वेलैमा भेटिएका भए दिपायलको काम अध्कल्चो हुने थिएन ।

डोटी जिल्लाबाट अछाम जिल्ला जाँदा मैले सम्पूर्ण व्यवस्थापनको जिम्मा हर्क शाहीलाई दिएँ, किन भने उनको ठाउँ अछाम जिल्लाकै भैसोले क्षेत्र हो । साँफे बगर पुगे पछि बस निकै बेर रोकियो र साँझ पर्दा मङ्गलसेन पुगियो । मङ्गलसेनमा पनि असारको अन्त्य तिर भएकाले बजेट निकासाका लागि गाउँ गाउँबाट आएका मान्छेहरूले लज ओगटेको वेला परेछ । धन्न, टक्‍कर बहादुर शाहसँग हर्क शाहीको भेट भएछ र उनले खाने, बस्‍ने, बेग्ला बेग्लै क्षेत्रका अछामी भाषाका वक्ता भेट गराई दिने अपूर्व र अद्वितीय सहयोग गरेकाले हाम्रो काम अछाम जिल्लामा त मानक रूपमै छिटो र राम्रो भयो । सहभागितात्मक अन्तरक्रियाका लागि चाहिँ हामीले अछाम बहुमुखी क्याम्पस रोज्यौँ । जिल्लाका सबै क्षेत्रका विद्यार्थी र शिक्षकहरू सदर मुकामका शिक्षालयमा भेटिँदा रहेछन् र त्यहाँ गरिएको सहभागितात्मक छलफलबाट त पुरै जिल्ला भरिको भाषिक स्थितिको मोटामोटी स्वरूप प्रस्ट थाह हुने रहेछ ।

अछाम जिल्ला दुइटा कुरामा नेपालमा अद्वितीय रहेछ : एउटा चाहिँ रहेछ नौ मुठे गाई जसका खुट्‍टा वयस्क मान्छेका नौ ओटा मुड्की जोड्दा जत्रो हुन्छ, त्यति मात्र लामो हुँदो रहेछ । दूध पनि त्यस गाईले एकदम बाक्लो र पोसिलो तिन चार लिटर नै दिँदो रहेछ । प्रयास गरे नौ मुठे गाईले गिनिस बुकमा संसारको सबभन्दा होचो गाई भन्ने कीर्तिमान राख्‍न सक्छ होला, तर देशको माथिल्लो ओहदामा पुगेका भीम रावल, तिलक रावल, र मोतीलाल बोहरा जस्ता अछामेहरूलाई यो कुरो थाह छ कि छैन होला ! अछामले कीर्तिमान राख्‍ने अर्को कुरो चाहिँ रक्सी रहेछ । यो कुरो त नेपालका ठुला मान्छेलाई थाह नहुने कुरै भएन । रक्सी नै नचाख्‍ने म त यति कुरो थाह पाएर आफूलाई ठुलै मान्छे भएँ कि भन्ने भ्रममा पर्न थालेँ भने, अछामे रक्सीका पारखीहरूको कुरै नगरौँ । कहिल्यै रक्सी नखाने नाम कमाएका एक जना स्वार (पहलमान सिंह स्वारका कुलदीपक) त लर्बराई राखेका थिए । त्यसले गर्दा मलाई त अछाम सम्झ्यो कि आङ सिरिङ्ङ होला जस्तो भएको छ । खप्तड लेकको शीतल छायाँ पनि त्यस भेगको गणनीय वस्तु रहेछ ।

भोलि पल्ट काम सक्‍ने बितिक्कै मङ्गलसेन छोडेर हामी बाटो काट्न साँफे बगर तिर लाग्यौँ र पर्सि पल्ट बिहानैको बस चढेर कञ्‍चनपुर तिर गर्मी खान हिँड्यौँ । हामी कञ्‍चनपुर जाने दुई तिन ओटा कारण थिए। पहिलो कारण थियो भाषा विज्ञान विभागले व्यासी भाषाको सर्वेक्षणका लागि त टोली पठाएछ, दार्चुला र बैतडी छुटाएछ । दोस्रो कारण थियो मलाई महाकाली साहित्य सङ्गमका अध्यक्ष वीर बहादुर चन्दले भानु जयन्तीको प्रमुख अतिथि हुने निम्तो गरेका थिए । वासुदेव भाइसाबले डोट्याली भाषाको पाठ्य क्रमको तालिम दिई रहेका ठाउँमा पनि प्रशिक्षार्थीहरूलाई एउटा छोटो प्रवचनका लागि मलाई निम्तो गरेका थिए । तेस्रो कारण के थियो भने, सेती अञ्‍चलका पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी र अछामका धेरै मान्छे कैलालीमा पाइने रहेछन् भने, महाकाली अञ्‍चलका पहाडी जिल्लाका दार्चुला, बैतडी र डडेल्धुराका मान्छे धेरै कञ्‍चनपुरमा पाइने रहेछन् । भर्खरै आइएसओ सङ्केत पाएको डोट्याली भाषा बोलिने क्षेत्र छुट्याउने नक्सामा आर.डी. चटौतले सेती र महाकालीका नौ ओटै जिल्लाहरूको नाउँ टिपाएका छन्, तर मेरा चेला यज्ञेश्वर निरौलाले क्रियाको रूपावलीका आधारमा डोट्याली, अछामी, डडेल्धुराली, बझाङी, बाजुराली, बैतडेली र दार्चुला भित्रै दुइटा भाषिका फेला पारेका छन् । यी कुरा बाझेकाले पनि स्थिति बुझ्न मैले कञ्‍चनपुर जानु परेको थियो ।

कञ्‍चनपुरमा हामीले बैतडेली र दार्चुलाली भाषा बोल्नेहरूसँग बेग्ला बेग्लै अन्तरक्रिया गर्‍यौँ । के कुरो थाह पाइयो भने, एकातिर बैतडीका मान्छेसँग जति भाषिक निष्ठा अरू जिल्लाका मान्छेमा पाइएन, तर डोट्याली भाषाको उन्नति र अस्मिताका लागि डोटीका मान्छे भन्दा बढ्ता बैतडीका मान्छे लागी परेका छन् । कैलाली र कञ्‍चनपुरमा भेटिएका सुदूर पश्चिमाञ्‍चलका नौ जिल्लाका मातृभाषीहरूसँगको छलफलबाट के थाह भयो भने, सेती महाकालीका सात ओटै पहाडी जिल्लाका मातृभाषीहरू आफ्नो आफ्नै मातृभाषा बोले पनि एक अर्काको कुरो बुझ्छन् अरे । आर.डी. प्रभास चटौतले डोट्याली भन्ने नाम दिएको भाषा डोटी र डडेल्धुराका मान्छेले आपसमा कुरो गर्ने भाषा नभएर डोटी डडेल्धुराका मान्छेले अरू जिल्लाका मान्छेले बुझ्ने गरी सजिलो पारेर बोलेको भाषा रहेछ अर्थात् त्यो सुदूर पश्चिमाञ्‍चलमा विकसित हुन खोजी रहेको क्षेत्रीय सम्पर्क भाषा रहेछ । बालकृष्ण पोखरेलले ‘परपच्छिमा’ भन्ने नाम दिएको त्यसै क्षेत्रीय सम्पर्क भाषालाई अहिले ‘डोट्याली’ भन्ने नाम दिइए जस्तो मैले बुझेँ । एउटा कुरो भने के विचारणीय छ भने, झन्डै तिन हप्ता सम्म सुदूर पश्चिमाञ्‍चल बन्द हुँदाको आन्दोलनको सम्पर्क भाषा चाहिँ डोट्याली नभएर नेपाली थियो भन्ने त्यहाँ पाइएको सूचना आंशिक सत्य होला कि पूर्णतः सत्य होला; त्यो भने जाँच्‍न बिर्सिएछ !

महाकाली अञ्‍चलका सबै मातृभाषी र सेती अञ्‍चलको डोटीका बिचमा जति कुराकानी हुन्छ, त्यो मात्रा सेती अञ्‍चलका अछाम, बझाङ र बाजुरामा केही कम देखियो । केही शब्द, प्रत्यय र उच्‍चारणमा फरक पर्छ अरे । एक ठाउँमा बोलेको राम्रो कुरो अर्को ठाउँमा अश्लील हुन्छ अरे र बुहारीहरूलाई गिज्याउन र लाज मर्नु पार्न त्यस्ता शब्दले काम गर्छन् अरे । एक अर्का जिल्लामा बिहेको लेनदेन पनि हुन्छ अरे । बिहेको लेनदेन त बैतडी, दार्चुला, डडेल्धुरा र डोटीको भारतको कुमाउँसित पनि हुन्छ अरे । त्यसैले कुमाउनी भाषा बोल्नेसँग पनि आफ्नो आफ्नै मातृभाषा बोले पनि कुरा ओहोरदोहोर हुन्छ अरे । बैतडी र दार्चुलामा गाईलाई ‘गोरु’ भन्छन् अरे, पेटलाई ‘ढाड’ भन्छन् अरे, दिदीलाई ‘भिनाजु’ भन्छन् अरे अनि भिनाजुलाई चाहिँ ‘बकरो’ भन्छन् कि जस्तो लाग्छ । त्यस छलफलबाट बझाङको काँडा गाविसको धूलि भन्ने गाउँमा भोट बर्मेली परिवारको ‘धुलेली’ भन्ने नयाँ भाषा फेला पर्ने सूचना पनि पाइएको छ ।

थोरै समयमा सुदूर पश्चिमाञ्‍चलका नौ ओटा जिल्लाका भाषाको सूचना बटुल्ने फन्को लगाउँदा गिनिज बुकमा पर्नु पर्ने सम्भवतः संसारको सबभन्दा सानो जिउको तर पोसिलो धेरै दूध दिने अछामको नौ मुठे गाईको दूध खाएर तृप्त भए जस्तो लागी रहेको छ ।

Leave a Reply