विदेशमा सिकेको

मैले देखेको पहिलो विदेश भारत हो । म भारतमा ध्वनि विज्ञानमा पिएचडी गर्न पुणें सहरको डेक्‍कन कलेजमा गएको थिएँ । म त्यहाँ दुई वर्ष बसेँ । डेक्‍कन कलेजमा मैले धेरै कुरा सिकेँ भन्ने कुरो मैले ‘गुरु परम्परा’, ‘बालुवामा पानी’, ‘पुस्तकालयको महत्त्व’ र ‘ठूल्दाइ’ जस्ता अनेक निबन्धमा लेखिसकेकाले म ती कुरा यहाँ दोहोर्‍याउँदिन ।

ती निबन्धहरूमा लेख्‍न नभ्याएका भारतमा आफूले सिकेका कुरा लेखेर भ्याइँदैन होला । भारत पुग्‍नु भन्दा अगाडि मैले भारतीय समाजको परिचय इतिहास, पुराण, साहित्य, अखबार र सिनेमाबाट पाएको थिएँ । मैले आफैँले देखे-भोगेको भारत ती वाङ्‍मयमा देखेको भारत भन्दा कति हो कति फरक रहेछ । इतिहास र पुराणले भारतको राम्रो पक्ष नै मूल रूपमा चिनाउँछन् भने अखबार र पत्रकारितामा नराम्रा कुरा मात्र देखिन्छ । साहित्य र सिनेमामा भारतको मिश्रित अनुहार देखिन्छ, तर त्यहाँ जे देखिन्छ त्यो पनि ज्यादै बढाई चढाई गरेर देखाइने हुनाले कुनै ठाउँ आफ्नै आँखाले देखे जत्तिको सत्य चाहिँ लिखित साहित्यमा देखिने रहेनछ ।

मैले भारतमा धेरै कुरा सिकेँ । डेक्‍कन कलेजमा म नेपाली ध्वनि विज्ञानको मात्र पिएचडी गर्न गएको थिएँ, तर मैले त्यहाँ नेपाली भाषाको ध्वनि विश्लेषण गर्न पुग्ने ध्वनि विज्ञानको सिद्धान्त र प्रविधिको अध्ययन छ महिनामै सकेँ । त्यसमा नेपालीको वर्ण व्याकरणको अनुसन्धान नगर्दा पनि हुन्थ्यो, तर मैले वर्ण व्याकरणको पनि अनुसन्धान गाभ्ने विचारले वर्ण विज्ञानको पनि अध्ययन गरेँ । मलाई नेपाली भाषाका सबै पक्षको ज्ञान बढाउन तलतल लाग्यो, त्यसैले मैले रूप विज्ञान, वाक्य विज्ञान, अर्थ विज्ञान, कोश विज्ञान, ऐतिहासिक भाषा विज्ञान, प्रकारपरक भाषा विज्ञान र शैली विज्ञान एमएका कक्षामा पढाउने गुरुहरूसित अनुमति मागेर एमएको कक्षामै बसेर सिकेँ ।

मलाई नेपाली भाषाको मर्म ठम्याउन संस्कृत नजानी हुँदैन भन्ने विश्वास थियो, त्यसैले मैले एस.डी. जोशी र नील माधव सेनलाई गुरु थापेर अलि अलि सिकेँ । नील माधव सेनलाई त समग्र भारोपेली भाषा (ग्रिक, ल्याटिन, प्राचीन, फारसी, जर्मनेली, आदि) मै गम्भीर ज्ञान थियो, त्यसैले उहाँलाई गुरु थापेर मैले संस्कृत, ग्रिक, ल्याटिन, प्राचीन फारसीमा पनि अलिकति सामान्य ज्ञान बढाएँ ।

नेपालमा धेरै भोट बर्मेली भाषा बोलिने हुनाले ती भाषामा अनुसन्धान गर्न पछि काम लाग्ला भनेर डेक्‍कन कलेजको समृद्ध पुस्तकालय भेटेका वेलामा मैले भोट बर्मेली भाषाको व्याकरण पनि पढेँ । त्यो मलाई अहिले नेपालमा एकदम काम लागिरहेको छ ।

भारतमा तीर्थ यात्रा गरेर पनि मैले भारतीय संस्कृति बारे निकै सामान्य ज्ञान बढाएको छु । भारतको त्यही बसाइमा म पुणेंकै भीमाशङ्करको मन्दिर, केरलाको त्रिवेन्द्रम्, तमिलनाडुका कन्याकुमारी, मदुराईको मीनाक्षी मन्दिर र रामेश्वरम्, कर्णाटकका मैसुरको चामुण्डा मन्दिर र उडुपीको कृष्ण मन्दिर, आन्ध्र प्रदेशमा तिरुपति बालाजीको मन्दिर, गुजरातमा द्वारका र सोमनाथको मन्दिर, मध्य प्रदेशमा उज्जैन महाकालको मन्दिर र ओंकारेश्वरको मन्दिर, उडिस्सामा पुरीको जगन्नाथ, भुवनेश्वरको लिङ्गराजन र कोणार्कको सूर्य मन्दिर, बङ्गालमा कोलकाता काली मन्दिर जस्ता तीर्थहरूमा पाइने वास्तु कला र सांस्कृतिक गतिविधिको अध्ययन गर्न पनि गएँ । त्यसका साथै महाराष्ट्रका अजन्ता, एलोरा र एलिफेन्टाका गुफाहरूको कलात्मकताको अध्ययन गर्न पुगेँ ।

डेक्‍कन कलेजमा बसेकै वेलामा मैले स्वामी विवेकानन्द र अरविन्द घोषका दर्शनको पनि सामान्य ज्ञान अलिकति बढाएँ। म दिनको सात घण्टा पढ्थेँ । जब जब पढ्न अल्छी लाग्थ्यो, म विवेकानन्दको दर्शन पढ्थेँ । विवेकानन्दका किताब पढे पछि मेरो दिमाग ताजा हुन्थ्यो अनि म फेरि आफ्नो भाषा विज्ञान र व्याकरण शास्त्रको अध्ययनमा फर्किन सक्थेँ ।

पुणेंमा बसेकै वेलामा म दुई पल्ट बम्बई विश्व विद्यालयको भाषा विज्ञान विभागले आयोजना गरेका गोष्ठीमा कार्य पत्र पढ्न गएँ । एक पल्ट अन्तरराष्ट्रिय संस्कृत सम्मेलन भएका वेलामा चाहिँ पाणिनिको माहेश्वर सूत्रमा संस्कृत वर्णहरूको क्रममा स्पेक्ट्रोग्राफिक विश्लेषणमा देखिएको वैज्ञानिकता भन्ने विषयमा कार्य पत्र प्रस्तुत गरेको थिएँ । पुणें हुँदै मैले कर्णाटकको उडुपीमा तुलु शब्द कोश परियोजनाले आयोजना गरेको कोश विज्ञानको दुई हप्ते तालिम पनि लिएँ ।

भारतमा सिकेका बेलिविस्तार लाइनसक्‍नु अरू कति कुरा छन् कति !

मैले देखेको दोस्रो विदेश जापान हो । जापानमा एक एक वर्षका हिसाबले दुई पल्ट गरी म जम्मा दुई वर्ष बसेँ । दुवै पल्ट म कोबे विश्व विद्यालयको पाहुना प्राध्यापक भएर बसेको थिएँ । दुवै पल्ट मैले नेपाली र जापानी भाषाको तुलना गरेँ । पहिलो पल्ट जापान पुग्दा मैले सिकेका कुरा मैले ‘गुराँस र साकुराको इकेबाना’, ‘चक्रवर्ती बुद्ध’, ‘शाकाहारीको अड्को’, ‘जापानी र नेपाली वाक्यको तुलना’ र अरू केही निबन्धमा लेखेको छु । दोस्रो पल्ट जापान पुग्दा सिकेको कुरो चाहिँ ‘जापानमा नेपालको स्वाद’ भन्ने एउटा लेखमा मात्र व्यक्त गरेको छु। अरू थुप्रै कुरा चाहिँ लेख्‍न बाँकी नै छ ।

जापानमा मैले प्राध्यापक सिबातानीको पढाउने तरिका सिकेँ । उनी हरेक मङ्गलबार दुई घण्टे पढाउँथे। उनले पढाएका कक्षामा उनका एमए र पिएचडी गर्ने विद्यार्थी मात्र नभएर भाषा विज्ञान पढाउने गुरुहरू पनि बस्थे । विश्व प्रसिद्ध भाषा वैज्ञानिकहरूले लेखेका विश्व प्रसिद्ध लेखहरू आफ्ना विद्यार्थी र विभागका गुरुहरूलाई सिकाउने उनको तरिका अनौठो थियो । उनी वाक्य व्याकरण र अर्थ व्याकरणका विश्व प्रसिद्ध पण्डित हुन् । अद्यावधिक अनुसन्धान गर्न कुन कुन ज्ञानको खाँचो छ, ती ती ज्ञानका प्रवर्तक भाषा विज्ञानका लेखहरू उनी विद्यार्थीहरूलाई पढ्न लगाउँथे । त्यस्ता एक एक ओटा लेख उनी विद्यार्थीहरूलाई बाँड्थे । आफ्ना जिम्मामा परेको लेख पहिले त्यस विद्यार्थीले आफैँ बुझ्नु पर्थ्यो । त्यो बुझ्न सकेन भने जुन जुन लेख पढ्दा आफ्नो जिम्मामा परेको लेख बुझिन्छ, त्यो त्यो लेख, पुस्तक वा कोश विद्यार्थीले पढ्नु पर्थ्यो । त्यति गर्दा पनि नबुझेको कुरो विद्यार्थीले गुरुलाई नै सोधे पनि हुन्थ्यो । आफूले सबै बुझिसके पछि विद्यार्थीले आफ्ना गुरुहरू समेत भएको कक्षामा त्यो लेखमा भएको कुरो पढाउनु पर्थ्यो अर्थात् प्रस्तुत गर्नु पर्थ्यो । उसले कक्षामा  त्यो लेख बुझाउँदा नबुझेका ठाउँमा विद्यार्थी र शिक्षकहरूले त्यसै विद्यार्थीलाई पनि सोध्‍न सक्थे । लेखमा व्यक्त भएको कुनै विचारमा कुनै विद्यार्थी वा शिक्षकले नयाँ समस्या उठाएर छलफल सुरु गर्न पनि सक्थ्यो । प्रा. सिबातानी आफैँले पनि कुनै खास कुरो चर्चा गर्न वा छलफल गर्न उठाउँथेँ । त्यस्ता अनेक छलफलका बीचमा विद्यार्थीले आफ्नो प्रस्तुति पूरा गर्थ्यो । अर्को मङ्गल बार अर्को विद्यार्थीको त्यसै गरी प्रस्तुति गर्ने पालो पर्थ्यो । प्रा. सिबातानीले पढाउने कक्षा नै त्यस्तै मात्र हुन्थ्यो ।

यसरी पहिलो पल्ट प्रा. सिबातानीसित मैले व्याकरणीभवन, आत्मनेपद, सम्प्रदानीकरण, प्रतिप्रेरणार्थक, जस्ता भाषा विज्ञानका फाँटमा समसामयिक विश्वमा चलिरहेका सिद्धान्तहरू सिकेँ ।

जापान फाउन्डेसनकै विद्वद्वृत्ति दोस्रो पल्ट पाएर म सोह्र वर्ष पछाडि फेरि कोबे विश्व विद्यालय पुगेका वेलामा प्रा.सिबातानी अमेरिकाको टेक्सास राज्यमा भएको राइस विश्व विद्यालयका प्राध्यापक भइसकेकाले दोस्रो पालि जापानमा उनसित मेरो दुई पल्ट मात्र भेट भयो । दोस्रो पल्ट म संज्ञानात्मक अर्थ विज्ञान (कोग्‍निटिभ सिम्यान्टिक्स) पढ्ने सुर लिएर नेपाली र जापानी भाषाका कोटिकारको तुलना गर्ने अनुसन्धान रोजेर गएको थिएँ । यस पल्ट मैले संज्ञानात्मक अर्थ विज्ञान प्रा.माचुमोतोसित सिकेँ । नेपालमा अर्थ विज्ञानको पण्डित कोही पनि छैन र संज्ञानात्मक अर्थ विज्ञानको त झन खडेरी छ, यसैले मैले यो विषय रोजेको हुँ ।

दोस्रो पल्टको जापान बसाइमा म आफ्नै नेपाली भाषाको कोटिकार (क्लासिफायर) को विश्लेषण गर्ने प्रयासमा खुत्रुक्क भएँ । यस अनुसन्धानबाट मैले के चाल पाएँ भने, नेपाली कोटिकारमा भए जस्तो अर्थ वैज्ञानिक स्वरूप त विश्वकै अर्थ वैज्ञानिक प्रकारमा कतै पनि पाइने रहेनछ । सङ्ख्या कोटिकार (न्युमरल क्लासिफायर) भन्ने त्यस्ता शब्दहरूको नाम हो, जो कुनै वस्तु गन्दा सङ्ख्या वाचक शब्द र नामका बीचमा पर्छ । नेपालीमा ‘एक कोसो केरा’ र ‘एक दानो सुन्तला’, ‘एक त्यान्द्रो साग’, ‘एक पोटी लसुन’, ‘एक टोप्रो ऐँसेलु’, ‘एक लत्को सिङान’ भन्दा बीचमा पर्ने ‘कोसो’, ‘दानो’, ‘त्यान्द्रो’, ‘पोटी’, ‘टोप्रो’ र ‘लत्को’ जस्ता शब्दहरू नै सङ्ख्या कोटिकार हुन् । मूल रूपमा प्रशान्त महासागरको ओरिपरिका भाषाहरूमा भेटिने यस्तै शब्दहरू नेपालीमा पनि चार पाँच सय ओटा भेटिए । नेपालीमा लाम्चो प्राकृतिक क्याप्सुल गन्नु पर्‍यो भने ‘कोसो’ चाहिने, ‘डल्लो प्राकृतिक वस्तु गन्नु पर्दा ‘दानो’ चाहिने भए झैँ त्यस्ता चार पाँच सय शब्द सबैको अर्थ वैज्ञानिक विश्लेषण गर्दा मलाई हत्तोहरान पर्‍यो । यस पल्ट मैले एक वर्ष जापानमा बसेर मूल रूपमा यस्तै कोटिकार शब्दहरूको अर्थ वैज्ञानिक विश्लेषण गरेँ ।

नेपाली कोटिकारको प्रकारपरक अनुसन्धान गर्न मैले पहिले आइखेन्वाल्ड (२००० ई) र सेन्फ्ट (२००० ई) का किताब पढेँ । त्यस पछि मैले एसियाका चिनियाँ, जापानी, थाई, भिएत्‍नामी, कोरियाली, बर्माली, नेवारी, गारो, बोडो, असमिया, आदि भाषा र उत्तर अमेरिकाका युकाटेक माया र चेल्ताल माया भाषाका कोटिकारको अध्ययन गरेँ । त्यसै चहट, मैले विश्वभरका भाषाको लिङ्ग व्यवस्था, पद सङ्गति र नामको वर्गीकरण सम्बन्धी कृतिहरू पनि पढेँ ।

पछिल्लो पल्टको जापान बसाइमा मैले के चाल पाएँ भने, जापानीहरू फूल बारी नलगाएर वनै लगाउने रहेछन् । यस्ता धेरै नेपाली संस्कृतिसित नमिल्ने सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक कुराहरू यस पल्ट मैले सिकेँ । यस पल्ट सम्म गरी मैले जापानी भाषाका झन्डै १२०० खान्जी पनि घोकेँ ।

मैले देखेको तेस्रो विदेश चीन हो । त्यति वेला म चिनियाँ अन्तरराष्ट्रिय रेडियोमा नेपाली विशेषज्ञ भएर गएको थिएँ । पेइचिङमा पनि म एक वर्ष बसेँ । चीनमा मैले ‘पेइचिङ सञ्‍चार विश्व विद्यालय’ मा एक सत्र नेपाली पनि पढाएँ । एक वर्ष चीनमा बस्ता मैले सिकेका कुरा ‘गुप्त वास’, ‘नागलोकको हंस’, ‘इतिहासको अनुसन्धान गर्ने चिनियाँ तरिका’, ‘चीनमा चियाको चलन’, ‘चिनियाँ ज्योतिष’, ‘अनौठो औषधि यार्चागुम्बु’, ‘लोक महाकाव्य राजा गेसार’, ‘पूर्वी एसियाली भाषामा संस्कृत शब्द’, ‘रेसम मार्गको एउटा हाँगो नेपालबाट’, जस्ता अनेक लेखमा लेखो गरेको छु ।

चीनको राष्ट्रिय पुस्तकालय मैले देखेको विश्वको सबै भन्दा ठूलो पुस्तकालय हो । त्यहाँ मैले पूर्वी एसियाली भाषामा संस्कृत शब्द कसरी तत्सम र तद्‍भव भएर बसेका रहेछन् भन्ने खोजी गरेँ र चिनियाँ, कोरियाली, जापानी, लाओसी, भिएतनामी, थाई, कम्बोडियाली, मलयेसियाली, इन्डोनेसियाली, जावाली, वर्माली, मङ्गोलियाली र तिब्बती भाषामा संस्कृत शब्दहरू सांस्कृतिक शब्दावलीमा महत्त्व पूर्ण अङ्ग भएर बसेका रहेछन् भन्ने चाल पाएँ ।

चीनको राष्ट्रिय पुस्तकालयमा मैले गरेको दोस्रो अध्ययन खसहरूको पुरातत्त्व विषयमा थियो । मैले पश्चिम चीनको सिन्च्याङको पुरातात्त्विक प्रतिवेदन हेरेर खसहरू विषयमा धेरै सूचनाहरू बटुलेँ । त्यसै क्रममा नवौँ शताब्दी सम्म सिन्च्याङमा बोलिने तोखारी भाषामा लेखिएको ‘मैत्रायणी संहिता’ भन्ने नाटक पनि फेला पारेँ । त्यस पुस्तकालयमा बसेर मैले चीन, मध्य एसिया र इरानको इतिहास र पुरातत्त्वको पनि सामान्य ज्ञान बढाएँ ।

माथि लेखिएका कुरा बाहेक मैले चिनिया भाषाका १५०० ओटा अक्षरहरू पनि घोकेँ र अलिअलि चिनियाँ भाषा बोल्न पनि सिकेँ ।

मैले देखेको चौथो विदेश स्विट्जर्ल्यान्ड हो । त्यहाँ म हिमाली भाषाको सम्मेलनमा एउटा कार्य पत्र पढ्न गएको थिएँ । चार दिन मात्र बसेको हुनाले त्यहाँ सिकेका कुरा धेरै छैनन् ।

मैले देखेको पाँचौँ विदेश अमेरिका हो । अमेरिकामा म एमआइटी र हार्वर्ड विश्व विद्यालयमा लिङ्विस्टिक सोसाइटी अफ अमेरिकाले सञ्‍चालन गरेको छ हप्ताको लिङ्‍ग्विस्टिक इन्स्टिच्युटमा पढ्न भनेरै गएको हुनाले अमेरिकामा मैले धेरै कुरो सिकेँ । त्यसको अलिकति बेलिबिस्तार मैले ‘एमआइटीमा बूढो विद्यार्थी’ र ‘कोही छ?’ भन्ने लेखमा गरेको छु । त्यसै वेला मैले विश्व प्रसिद्ध भाषा वैज्ञानिक नोम चोम्स्कीको पनि चेलो हुने मौका पाएँ । चोम्स्की बाहेक त्यस वेला मैले गुरु थापेका विश्व प्रसिद्ध भाषा वैज्ञानिकहरूमा मोरिस हेले, पल किपर्स्की, विलियम लबोभ, मेल्चर्ट, मकार्थी, इतो, प्रिन्स, हर्न्स्टिन, केन्स्टोविच, आदि अनेक थिए ।

मैले देखेको छैटौँ विदेश जर्मनी हो । म जर्मनीको रेगेन्ज्बर्ग विश्व विद्यालयमा मासिन लागेका भाषाहरूलाई कसरी जोगाउन सकिन्छ र भाषाको अभिलेखीकरण कसरी गर्ने भन्ने विषयमा पढ्न र नेपालका भाषाहरूको वर्तमान स्थिति कस्तो छ भन्ने एउटा कक्षा पढाउन दश पन्ध्र दिन बसेको थिएँ । मलाई त्यहाँ त्यो ग्रीष्मकालीन पाठशालाका मुख्य आयोजक प्राध्यापक योहानस हेम्ब्रेख्टले आफ्नो घरमा पाहुना भएर बस्‍ने निम्तो दिएका थिए । मैले त्यो निम्तो मानेँ । योहानसले एउटी भिएत्‍नामीसित बिहे गरेकी रहिछन् । प्राध्यापक हेम्ब्रेख्ट चाहिँ भाषा विज्ञानका र उनकी श्रीमती चाहिँ इतिहासकी प्रोफेसर रहेछन् । रेगेन्ज्बर्ग विश्व विद्यालयमा मैले आर्बिल, लामोस, टुलबक्स, जेडिट, प्राट, एलान, ट्रान्स्क्राइबर र टोटल कमान्डर आदि कम्प्युटरका सफ्टवेयर कसरी चलाउने र ति सामग्रीले भाषाको अभिलेखीकरण, संरक्षण, कोश र व्याकरणात्मक विश्लेषण कसरी गर्न सकिन्छ भन्ने सिकेँ ।

रेगेन्ज्बर्ग जाँदा मेरो नजिकैको विमान घाट म्युनिखमा थियो । म्युनिखमा मैले भुटानका गोविन्द अधिकारीलाई भेटेँ । म दुई दिन छिटो जर्मनी पुगेको थिएँ । गोविन्द अधिकारीसित मेरो एयरपोर्टमै चिनारी भयो । त्यसै वेला गोविन्द अधिकारीले मलाई त्यो दिन म्युनिखमै उनका घरमा बसेर म्युनिख हेरेर मात्र रेगेन्ज्बर्ग जाने सल्लाह दिए । मैले उनको निम्तो पनि मानेँ । गोविन्दजीले मलाई म्युनिख सहर घुमाई दिए । त्यति वेला जर्मनहरूको अक्टोबर फेस्ट भन्ने चाडको वेला परेको रहेछ, तर मलाई म्युनिख ओलम्पिक सिटी जस्ता रमाइला कुराले भन्दा हिट्लरले कन्सन्ट्रेसन क्याम्पमा चरम यातना दिएर कसरी ग्यास च्याम्बरमा निसास्सिने गरी थुनेर साठी लाख यहुदीहरूलाई प्रुसिक एसिडको विखालु ग्यासले भसक्‍कै पारेर मार्‍यो भन्ने ज्ञान ठुलो लाग्यो । कन्सन्ट्रेसन क्याम्प र ग्यास च्याम्बर हेरेर फर्केको दिन मलाई निकै बेर सम्म एकतमासले विरक्त लागी रह्यो ।

मैले देखेको सातौँ विदेश स्विडेन हो । स्विडेनको गटेन्बर्ग विश्व विद्यालयमा पुगे पनि मैले त्यहाँ खालि नेपालका किराँती भाषाहरूको तुलनात्मक ऐतिहासिक सम्बन्ध बारे प्रवचन मात्र दिएँ, विश्व विद्यालयमै चाहिँ केही पनि सिकिन । बरु स्विडेनको गटेन्बर्गलाई म आफू घुमेको भूगोलको सबभन्दा उत्तरको ठाउँको कोसे ढुङ्गो मानेको छु । त्यस भन्दा अगाडि मेरो सबभन्दा उत्तरको कोसे ढुङ्गो जापानको तोकियो थियो । मई महिनामा स्विडेनमा राति पौने दश बजे सुत्ता पनि सम्साँझै सुते जस्तो लाग्थ्यो । अझ जुन महिनामा भए, घामै नडुबी सुत्‍नु पर्ने हुन्थ्यो ।

यसरी विदेशबाट मैले धेरै कुरा सिकेको छु, तर जति सिकेको छु, त्यसको सारै थोरै अंश मात्रै काममा लगाएको छु ।

Leave a Reply