नेपाली भाषा आज अनेक भूमिकामा देखिन्छ :
adobe aftereffects torrent, Torrentkeys, download corel draw x7 crack, tenorshare 4mekey full
१. अन्तरराष्ट्रिय भाषा
सन १९९२ मा भारतीय संविधानको आठौँ अनुसूचीमा गाभिए पछि नेपाली भाषा नेपालको मात्र नभएर
भारतको पनि संवैधानिक भाषा भएको छ (प्रधान १९९२ ई) । यस परिस्थितिले नेपाली भाषालाई नेपालको राष्ट्र भाषा मात्र नभएर अन्तरराष्ट्रिय भाषामा स्थापित गरेको छ ।
यस नयाँ भूमिकाले नेपाली भाषाको एकरूपताको प्रश्न बारे छलफल गर्दा भारतका नेपाली भाषी विद्वानलाई समेत सामेल गरेर अन्तरक्रिया गर्नु पर्ने आवश्यकता अघि सारेको छ । नेपाल र भारतको द्विपक्षीय संलग्नता यसमा आवश्यक हुन्छ । मेची वारि र पारिको नेपाली भाषाको मानक बोलाइ, पढाइ र लेखाइको एकरूपताका लागि मानकीकरणको सन्दर्भ अहिले अगाडि तेर्सिएको छ ।
२. जातीय सम्पर्क भाषा
नेपाली भाषा आज नेपाल, भारत र भुटान भित्र मात्र नभएर विश्वभरमा छरिएर रहेका नेपाली जातिहरूको सम्पर्क भाषा पनि हो । जुन जुन नेपाली जातिहरूले आफ्नो पुर्ख्यौली थलो नेपाल हो भन्ने ठान्छन् तिनीहरूले स्वदेश र विदेशमा नेपाली भाषाकै माध्यमबाट अनेक नेपाली जातिहरूका बीचमा आफ्नो सम्पर्क र बन्धुत्व स्थापना गर्छन् । यस दृष्टिले नेपाली भाषा नेपालीहरूको जातीय सम्पर्क भाषा हो ।
३. सबै नेपालीको राष्ट्रिय सम्पर्क भाषा
नेपाल भित्र जुनसुकै मातृभाषा भएका सबै नेपालीहरू एक ठाउँमा भेला भएर सार्वजनिक सभा गर्नु पर्दा अनिवार्य रूपमा रोजिने भाषा नेपाली नै हो । यस आधारमा नेपाली भाषा नै सबै नेपालीको राष्ट्रिय सम्पर्क भाषा हो । यसै कारण नै नेपालीलाई नेपालका संविधानहरूमा ‘राष्ट्र भाषा’ मान्ने गरिएको हो । नेपाली भाषाको यसै अनिवार्य भूमिकाले गर्दा नेपाली भाषा अनावश्यक छ भनेर यस भाषाको राजनीतिक विरोध गर्नेहरूले पनि यही भाषा नबोली धर पाउँदैनन् ।
४. सबभन्दा धेरै नेपालीहरूको मातृभाषा
राष्ट्रिय जनगणना अनुसार नेपाली भाषा सबभन्दा धेरै नेपालीहरूको मातृभाषा हो । तलको तुलनात्मक तालिका र स्तम्भ चित्रबाट पनि यो कुरो प्रस्ट हुन्छ ।
नेपाली भाषाको तुलनात्मक सङ्ख्या
|
|
२००९-११ |
२०१८ |
२०२८ |
२०३८ |
२०४८ |
२०५८ |
|
नेपाली |
४८.७४ |
५०.९६ |
५२.४५ |
५८.३६ |
५०.३१ |
४८.६१ |
|
मैथिली |
१२.४४ |
१२.०१ |
११.४९ |
११.११ |
११.८५ |
१२.३० |
|
थारू |
४.३७ |
४.३२ |
४.२९ |
३.६३ |
५.३७ |
५.८६ |
|
तामाङ |
६.०१ |
५.६२ |
४.८० |
३.४८ |
४.८९ |
५.१९ |
|
नेवार |
४.६५ |
४.०१ |
३.९४ |
२.९९ |
३.७३ |
३.६३ |
|
मगर |
३.३२ |
२.७१ |
२.५० |
१.४२ |
२.३० |
३.३९ |
|
लिम्बु |
१.७७ |
१.४७ |
१.४८ |
०.८६ |
१.३७ |
१.४७ |
माथि नेपाली भाषा बाहेकका केही भाषाहरूको लगत हेर्दा के देखिन्छ भने २०३८ साल सम्म नेपाली भाषा बोल्नेको जन सङ्ख्या क्रमश: झन्डै ४८% बाट बढ्दै झन्डै ५८% पुगेको देखिन्छ, तर २०४६ सालको राजनीतिक परिवर्तन पछि क्रमश: ५८% बाट घटेर ४८% पुगेको देखिन्छ भने, त्यसै समयमा अरू मातृभाषाको जनगणना (CBS 2003) को लगत ठिक्क उल्टो देखिन्छ । उल्लेख गरिएका सबै मातृभाषाहरूको लगत सुरुदेखि २०३८ साल सम्म क्रमश: घटेको देखिन्छ, तर २०३८ साल पछि क्रमश: बढेको पाइन्छ । यसबाट हाम्रो राष्ट्रिय जनगणना राजनीतिबाट प्रत्यक्ष रूपमा प्रभावित देखिन्छ । यस दुर्भाग्य पूर्ण स्थितिबाट २०६८ सालको जनगणना मुक्त हुन सक्छ कि सक्तैन त्यो हेर्न बाँकी छ ।
अरू मातृभाषाको तुलनात्मक जनगणना स्थिति
५. नेपाली मातृभाषा नहुने मध्ये सबभन्दा धेरैको दोस्रो भाषा
जनगणना (२०५८) अनुसार नेपाली भाषा मातृभाषा नहुनेहरू मध्ये सबभन्दा धेरैले दोस्रो भाषाका रूपमा बोल्ने भाषा पनि नेपाली नै हो ।
६. सबभन्दा धेरै नेपालीले बुझ्ने, पढ्ने र लेख्ने भाषा
नेपालमा चल्ने भाषा मध्ये सबभन्दा धेरै नेपालीले बुझ्न सक्ने, सबभन्दा धेरै नेपालीले पढ्न सक्ने र सबभन्दा धेरै नेपालीले लेख्न सक्ने भाषा पनि नेपाली नै हो ।
७. निकट इतिहासको ‘राष्ट्र भाषा’ र अहिलेको पारिभाषिक ‘राष्ट्रिय भाषा’
नेपाली भाषा निकट इतिहासको ‘राष्ट्र भाषा’ हो भने, अन्तरिम संविधान अनुसार अहिलेको पारिभाषिक ‘राष्ट्रिय भाषा’ हो ।
८. सरकारी कामकाजको भाषा
कर्णाली प्रस्रवण क्षेत्रमा १२ औँ १३ औँ शताब्दीका खस राज्यको सरकारी कामकाजको भाषाका रूपमा यो भाषा सबभन्दा पहिले प्रयोगमा आएको देखिन्छ (Tucci 1956) । प्रताप मल्लको रानीपोखरी शिलालेख हेर्दा काठमाडौँ उपत्यकाका उत्तरवर्ती मल्ल राज्यहरूमा पनि यो भाषा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग हुन थालेको बुझिन्छ । नेपाल राज्यको एकीकरण (१८ औँ शताब्दीको उत्तरार्ध) भए पछि भने यो भाषा नेपाल अधिराज्यकै सरकारी कामकाजको भाषामा प्रचलित हुन थाल्यो ।
यही २०६७ साल मङ्सीर १६ गतेको संसदीय निर्णय अनुसार देवनागरी लिपिमा लेखिएको नेपाली भाषा केन्द्र सरकारको, केन्द्र र प्रस्तावित प्रान्त बीचको, प्रस्तावित प्रान्त प्रान्त बीचको र धेरै प्रस्तावित प्रान्त भित्रको सरकारी कामकाजको भाषाका रूपमा परिभाषित भएको छ ।
९. विश्व विद्यालयको उच्चतम तह सम्मको पठन पाठनको माध्यम भाषा
भारतको ‘हिन्दी प्रचारिणी महासभा’ ले हिन्दी भाषाको उत्थान र त्यसका माध्यमबाटै अङ्ग्रेजी सिक्न नसक्ने असङ्ख्य विद्यार्थीहरूलाई ‘हिन्दी विशारद’ र ‘हिन्दी भूषण’ जस्ता समान स्तरका उपाधि दिलाएर अङ्ग्रेजी पढ्ने विद्यार्थी सरह नै सेवा आयोगबाट निजामती सेवाका लागि रोजिने परिपाटिबाट प्रभावित भएर नेपाली भाषाकै माध्यमबाट निजामती सेवामा उक्लिन पाउने व्यवस्था मिलाउन गोपाल पाँडे ‘असीम’ ले ‘नेपाली शिक्षा परिषद्’ नामको संस्था खोल्न विसं २००२ देखि तत्कालीन सरकारलाई प्रवेशिका परीक्षा दिलाउने माग गर्न थाले । संवत् २००४ मा ‘राष्ट्र भाषा शिक्षा प्रणाली’ को पाठ्यक्रम माग भए अनुसार शिक्षा विभागमा प्रस्तुत भयो, तर २००८ साल असारमा मात्र शिक्षा मन्त्रालयबाट ‘राष्ट्र भाषा शिक्षा प्रणाली’ को पाठ्य क्रम स्वीकृत भयो । त्यहाँ लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मी प्रसाद देवकोटा जस्ता अनेक गुरुहरूले पढाए। विसं २०१० देखि २० पल्ट सम्म नेपाली शिक्षा परिषद्ले प्रवेशिका परीक्षा सञ्चालन गर्यो (शर्मा २०५८-५९) ।
नेपाली माध्यमबाटै एसएलसी, आईए, बीए र एमए सरहको शिक्षा दिलाउने नेपाली शिक्षा परिषदको योजना एसएलसी सम्म मात्र पूरा भयो । नेपाली माध्यमबाटै जाँच पास गराएको अङ्ग्रेजीका अन्ध भक्तहरूले विरोध गरिरहेकै थिए। अनेक विरोध र अड्का तेर्स्याउने र गोपाल पाँडेका काममा भाँजो हाल्नेहरूको सरकारी उच्च ओहोदामा पुगेकाहरूमै पनि कमी थिएन । अन्त्यमा नेपालमा तथाकथित ‘नयाँ शिक्षा योजना’ लागु भए पछि नेपाली माध्यमबाट प्रवेशिका परीक्षा दिने परिपाटिको अन्त्य भयो, तर आज पनि त्यस योजनाको सान्दर्भिकता छ । आज पनि नेपालमा अनेक तहमा अनुत्तीर्ण हुने विद्यार्थीहरू अङ्ग्रेजीकै छन् । विसं २०६६ मा एसएलसी परीक्षा दिने विद्यार्थीहरूमा अङ्ग्रेजी विषयमा मात्र आधा भन्दा बढ्ता (झन्डै ५५%) विद्यार्थीहरू अनुत्तीर्ण भएका छन् (गोरखापत्र ११०.१०१:१) ।
आज अङ्ग्रेजी माध्यममै पढाइने मानिएका विश्व विद्यालयका उच्च शिक्षाका अधिकांश कक्षाहरू नेपाली माध्यममै पढाइन्छन् । यो चलन विज्ञान, चिकित्सा शास्त्र र इन्जिनियरिङमा केही कम छ, तर त्यहाँ पनि विद्यार्थीले नबुझेका ठाउँमा धेरैजसो नेपाली माध्यमकै सहायता लिइन्छ । त्रिभुवन विश्व विद्यालयको ऐन बनेका वेलामा नेपाली शिक्षा परिषद्कै प्रेरणाले विश्व विद्यालय खुलेको १५ वर्ष सम्ममा अङ्ग्रेजी विषय बाहेक सम्पूर्ण पठनपाठनको माध्यम नेपाली बनाउने भन्ने लक्ष्य राखियो । झन्डै ८० प्रतिशत कक्षाहरूमा नेपाली माध्यम चलाएर विश्व विद्यालयले त्यो लक्ष्य व्यवहारमा पूरा गरे जस्तो छ, तर प्रश्न पत्र चाहिँ गल्ती भए पनि अङ्ग्रेजीमै छापिन्छन्, नेपालीमा सोधिँदैनन् । खालि अधिकांश विद्यार्थीहरूले अङ्ग्रेजी भाषाका ती प्रश्न पत्रहरूमा के सोधिएको छ भनेर जान्नेहरूलाई नेपालीमा सोध्छन् । कोही जान्ने भेटिए, प्रश्न बुझेर नेपालीमा उत्तर लेख्छन्; जान्ने नभेटिए अप्ठ्यारामा पर्छन्, तर कसैले पनि जुन जुन विषयको उत्तर नेपाली माध्यममा लेख्न पाइन्छ, ती ती विषयका प्रश्न पत्रहरू नेपालीमा पनि सोधिनुपर्छ भन्ने कुरो उठाउँदैनन् । यसरी धेरै तिर गोपाल पाँडेका उत्तराधिकारीहरूको खाँचो परेको देखिन्छ ।
यसरी अहिले नेपालका विश्व विद्यालयमा अङ्ग्रेजी माध्यम भनेको खालि देखावटीका लागि पाठ्य क्रम र परीक्षा नियन्त्रण कार्यालयका प्रश्न पत्र छपाउन मात्र काम लागिरहेको छ भन्दा अर्घेलो नहोला । मानविकी, शिक्षा शास्त्र, कानुन र वाणिज्य शास्त्रका त सबै तहमा नेपाली माध्यम नै मूल रूपमा कक्षा चलेको पाइन्छ । अङ्ग्रेजी भाषामा मात्र प्रश्न पत्र सोधिने विश्व विद्यालयका अधिकांश विषय पढाइने कक्षामा विद्यार्थी र शिक्षकहरूका बीचमा अन्तरक्रिया हुने एक मात्र भाषा नेपाली हो । सबै अध्ययन संस्थानका नीति निर्माण गर्ने बैठकहरू नेपाली माध्यममा मात्र हुन्छ ।
केन्द्रीय विभाग र सहरका केही क्याम्पसका केही शिक्षकको कक्षालाई अपवाद ठानेर बिर्सिनु हो भने, अधिराज्यभरका क्याम्पसमा अङ्ग्रेजी विषय समेत नेपाली माध्यममै पढाइने गरेको पाइन्छ । संस्कृत विश्व विद्यालयका कक्षाहरू समेत नेपाली छोडेर संस्कृत माध्यममा विरलै पढाइन्छन् ।
यस परिस्थितिमा कक्षा पनि नेपाली माध्यममै चल्ने विद्यार्थीले उत्तर पनि नेपाली माध्यममै लेख्न पाउने विषयहरूमा नेपाली माध्यममा मात्र प्रश्न पत्र सोध्दा मानव अधिकारको कतै हनन भयो कि भएन, त्यो म भन्न सक्तिन ।
१०. लामो लेख्य परम्परा भएको भाषा
नेपालमा लामो लेख्य परम्परा भएका नौ ओटा भाषा (क्रमश: प्राकृत, संस्कृत, तिब्बती , नेवारी, नेपाली, मैथिली, अवधी, लिम्बु र लेप्चा) मध्ये नेपाली एउटा भाषा हो ।
११. तीन लिपि मध्ये मूलत: देवनागरीमै लेखिएको भाषा
ऐतिहासिक अभिलेखहरूमा देवनागरी र कतै कतै तिब्बती लिपिमा र गोर्खा सैनिकहरूले दक्षिण पूर्वी एसियाबाट प्रकाशित गर्ने ‘पर्वते’ भन्ने अखबारमा रोमन लिपिमा लेखिएको तर देवनागरीमै सबभन्दा धेरै लेखिने भाषाका रूपमा नेपाली भाषा चिनिन्छ ।
१२. मानकीकरण गरिएको भाषिक भेद
बोलचालका १२ ओटा भौगोलिक र असङ्ख्य सामाजिक भाषिका (क्रेओल) मध्ये मानकीकरण गरिएको एक मात्र भाषिका नेपाली हो । यज्ञेश्वर निरौला (२०५०) ले क्रियाको रूपावलीका आधारमा नेपाली भाषामा बाह्र ओटा भौगोलिक भाषिका भएको पत्तो लगाएका छन् । नेपाली भाषाका ती भौगोलिक भाषिका मध्ये नेपाली भाषा चाहिँ मानकीकरण गरिएको पूर्वेली भाषिका हो ।
१३. राष्ट्रिय एकताको प्रतीक
अर्का तिर नेपाली भाषाका असङ्ख्य सामाजिक भाषिकाहरू छन् । नेपाल भित्र जति मातृभाषा बोलिन्छन्, ती सबै मातृभाषाका वक्ताहरूले नेपालका अरू मातृभाषाका वक्तासित पारस्परिक आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध राख्न नेपाली भाषालाई माध्यम भाषाका रूपमा रोज्छन् । नेपालमा १०० ओटा जति मातृभाषा होलान् । त्यस्ता हरेक भाषा उच्चारण, वर्णमाला, वर्ण व्याकरण, शब्दानुशासन, वाक्य व्याकरण र अर्थ व्याकरणका दृष्टिले एक अर्कासित एकदम फरक छन् । नेपाली जस्तो एउटा कुनै साझा सम्पर्क भाषा नहुनु हो भने, फरक मातृभाषा भएको एउटा नेपालीले अर्को नेपालीसँग बोलचाल र सामाजिक व्यवहार गर्नै सक्तैन । यसरी नेपाली भाषाले नेपालका अनेक मातृभाषा हुनेहरूलाई एउटै सामाजिक सूत्रले बाँधेको छ । यसरी नेपाली भाषाले राष्ट्रिय एकतामा बाँध्न सबै नेपालीलाई सघाएको छ ।
१४. मानक नेपाली र नेपाली भाषाका अनेक पिजिन तथा क्रिओल भेदहरू
नेपाली भाषालाई यो सामर्थ्य दिनामा बाहुन, छेत्री, सन्यासी, कामी, दमाईँ, सार्की, जस्ता अर्कै पुर्ख्यौली भाषा नहुनेहरूको कुनै योगदान छैन । नेपाली भाषा मातृभाषा नहुने ‘खसेतर’ ( सापकोटा २०२०) हरूले नै नेपाली भाषालाई यो सामर्थ्य दिएका हुन् । अझै पनि केही लिम्बु, तामाङ, घले र खाम भाषा बोल्ने क्षेत्रमा एकभाषीहरू छन् । तिनीहरू आफ्नो मातृभाषा बोल्न नसक्नेसित बोल्नै सक्तैनन् । यसरी हरेक मातृभाषा क्षेत्रमा जो द्विभाषिक वा बहुभाषिक भयो, त्यसले मात्र अर्को मातृभाषा भएकासित कुराकानी र सामाजिक सम्पर्क राख्न सक्छ । हरेक मातृभाषा क्षेत्रमा आर्थिक, सामाजिक र राजनीतिक उन्नति गर्नेहरू द्विभाषिक नै छन्। राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार दोस्रो भाषाको रूपमा नेपाली बोल्नेहरूको सङ्ख्या अतुलनीय रूपमा सबभन्दा धेरै छ । यसरी हरेक मातृभाषा क्षेत्रमा आफ्नो आर्थिक, सामाजिक र राजनीतिक उन्नति गर्न चाहनेहरूले नेपाली भाषालाई सम्पर्क भाषामा रोज्दा नै सबभन्दा धेरै लाभ हुने ठहराए र नेपाली भाषालाई दोस्रो भाषाको रूपमा रोजे । आफ्नो उन्नति चाहनेले आफैँ कोसिस नगरेर अर्को मातृभाषीको सामाजिक, राजनीतिक र आर्थिक उन्नति गरिदिन नेपाली मातृभाषीले कोसिस गर्ने कुरो सम्भव छैन ।
मानक नेपाली बोल्ने र बेग्ला बेग्लै मातृभाषा हुनेहरूले बोल्ने नेपालीमा भाषा वैज्ञानिक दृष्टिले धेरै फरक हुन्छ । हरेक मातृभाषीले नेपाली भाषा बोल्दा आफ्नै मातृभाषाको उच्चारण, वर्ण माला, शब्द व्याकरण, वाक्य व्याकरण र अर्थ व्याकरणका नियमहरू लगाएर बोल्न थाल्छ । नेपाली भाषा सिक्तै जाँदा धेरै कुरामा विस्तारै परिवर्तन हुन्छ, तर पूर्ण रूपमा मानक नेपाली बोल्ने सम्भावना एकदमै कम देखिएको छ । यसरी भर्खर द्विभाषिक हुन थालेको गैर नेपाली भाषीको पिजिन नेपाली र पिजिन नेपाली बोल्ने आमाबाबुका सन्तानले बोल्ने क्रिओल (Wardhaugh 2000) नेपाली अनि क्रिओल नेपाली बोल्ने आमाबाबुका सन्तानले बोल्ने क्रिओल नेपाली गरी नेपाली मातृभाषा नहुने एकभाषी वा द्विभाषीहरूले बोल्ने नेपाली भाषाका अनेक भेद हुन्छन् । यसरी हरेक मातृभाषा बोल्नेहरूको पिजिन नेपाली र मानक नेपालीका बीचमा पाइने अनेक क्रिओल नेपाली भेदहरूको सम्भावनालाई जोड्दा नेपालमा बोलिने सय ओटा मातृभाषा र मानक नेपालीका बीचमा नेपाली भाषाका असङ्ख्य क्रिओलहरू बोलिन्छन् । ती सबै क्रिओलहरूको नाम ‘नेपाली’ नै भए पनि मानक नेपाली भन्दा ती धेरै व्याकरणात्मक आधारमा फरक हुन्छन् । मानक नेपाली भनेको तिनै नेपाली भाषाका अनेक क्रिओलहरूको मोटामोटी, सरदर र साझे रूप हो ।
१५. नेपाली भाषाका क्रिओलमा विभिन्न मातृभाषाको प्रभाव
(क). भोट बर्मेली भाषामा लिङ्ग भेद नहुने हुनाले ती भाषाको पृष्ठ भूमि हुनेहरूले नेपाली भाषाको पुलिङ्ग र स्त्रीलिङ्गको फरक छुट्याउन गल्ती गर्ने नै सम्भावना हुन्छ ।
(ख). तिब्बतीसित ऐतिहासिक साइनो हुने तामाङ, गुरुङ, मनाङे, काइके, छन्त्याल, ल्होमी, ह्योल्मो, शेर्पा, घले, तान्द्राङे र मुगाली जस्ता भोट बर्मेली भाषामा वचन र पुरुषका आधारमा क्रियाको पद सङ्गतिमा फरक नपर्ने हुनाले ती भाषाको पृष्ठ भूमि भएकाहरूले बोलेको नेपाली भाषाको क्रिया पदमा वचन र पुरुषको पद सङ्गति हराउँछ ।
(ग). नेपाली बाहेक अरू भारोपेली भाषामा अज्ञात भूत भन्ने पक्ष नहुने हुनाले मैथिली, भोजपुरी, अवधी र थारू भाषा बोल्नेहरूले नेपाली बोल्दा ‘खाएको छ’ र ‘खाएछ’ का अर्थमा भएको फरकै थाह नपाएर बोल्ने चलन पाइन्छ ।
(घ). मगर भाषामा सकर्मक धातु लागेको वाक्यको कर्तामा जहिले पनि ऊर्जावत् कारकको चिन्ह हुने हुनाले मगरातको नेपाली भाषामा सकर्मक धातुको कर्तासित सधैँ ‘ले’ विभक्ति लाग्छ ।
(ङ). मैथिली भाषाको आदरार्थी नियम अनुसार सम्धी र गोसाईँ जस्ता आदरणीय व्यक्तिको उपस्थितिमा कर्ता जे भए पनि क्रियामा आदरार्थी रूप लाग्ने हुनाले मैथिलहरूले बोलेको नेपालीमा आदरार्थीको उदेक लाग्दो स्वरूप पाइन्छ ।
(च). तिब्बती मूलका धेरै भाषाहरूमा तानको फरक पर्ने हुनाले तिनीहरूले बोल्ने नेपालीको उच्चारणमा तानको प्रभाव देखिन्छ ।
(छ). लिम्बु, याक्खा र याम्फु भाषाका स्पर्श वर्णमा घोष र अघोषको वर्णात्मक फरक नहुने हुनाले उनीहरूले बोल्ने नेपालीमा ‘बराल’ लाई ‘पराल’ र ‘पराल’ लाई ‘बराल’ उच्चारण गर्ने जस्तो रमाइलो पाइन्छ ।
(ज). किराँती भाषाहरूमा ‘पठाउ’ धातु, नेवारीमा ‘ल्याउ’ धातु र मैथिलीमा ‘ले’ धातु संयुक्त क्रियाको रञ्जक हुने हुनाले उनीहरूले बोल्ने नेपालीमा क्रमश: ‘खाई पठाउनु’, ‘खाएर ल्याउनु’ र ‘खाई लिनु’ हुन्छ । नेपालीमा त्यस्तो हुँदैन ।
(झ). नेवारी र मगर जस्ता अनेक भोट बर्मेली भाषामा तवर्ग र टवर्गको वर्णात्मक भेद नहुने हुनाले उनीहरूले बोल्ने नेपालीमा तवर्ग र टवर्गमा गडबडी हुन्छ ।
१६. सबभन्दा शक्तिशाली भाषा
१६.१ राजनीतिक शक्ति
नेपालमा बोलिने भाषा मध्ये नेपाली नै सबभन्दा धेरै शक्तिशाली भाषा हो । सबभन्दा धेरै मतदाताहरूलाई आकर्षित गरेर भोट माग्दा र आमसभा गर्दा सबभन्दा बढ्ता प्रयोग गरिने भाषाका रूपमा राजनीतिक पार्टीहरूले नेपालीलाई प्रयोग गर्दछन् । एक दशक भन्दा बढ्ता समय सम्म सशस्त्र आन्दोलन गरिरहेको माओवादी पार्टीले नेपाली भाषालाई नै राष्ट्रव्यापी रूपमा प्रयोग गर्यो । छयालीस सालको राजनीतिक परिवर्तन पछि नेपाली काङ्ग्रेस र एमालेका एक दुई जना नेताहरूले तराईका केही चुनाव क्षेत्रमा सार्वजनिक सभामा हिन्दी बोलेको सुनियो, तर त्यस पछि ती पार्टीका सबै नेताहरूले के बुझेर हो नेपाली भाषालाई मात्र सार्वजनिक सभाको भाषा बनाए ।
नेपाल तराईका हिन्दीवादी राजनीतिक पार्टीहरूले पनि सार्वजनिक सभा गर्दा सहरका केही क्षेत्रमा मात्र हिन्दी भाषा चलाउँछन् । तिनीहरू मध्ये पनि सबै नेताहरूले हिन्दी बोल्दैनन् । हिन्दीवादी राजनीतिक पार्टीका थुप्रै नेताहरू खालि नेपाली भाषा मात्र बोल्छन् । तिनीहरूले पनि घरघरमा भोट माग्न जाँदा त हिन्दी भाषा कहिल्यै प्रयोग गर्दैनन् ।
भोट माग्दा सबै चुनाव क्षेत्र भित्र सके सम्म नेपाली नत्र स्थानीय मातृभाषा प्रयोग गरिन्छ । सार्वजनिक सभामा पनि सके सम्म नेपाली नत्र स्थानीय मातृभाषा प्रयोग गरिन्छ ।
१६.२ आर्थिक शक्ति
राष्ट्रिय तहका व्यापारिक कारोबारहरू नेपाली भाषामै चल्छन्; स्थानीय तहका व्यापारिक कारोबारहरू कि नेपाली कि स्थानीय भाषामा चल्छन् । हिमाली क्षेत्र भित्र सीमित व्यापारिक कारोबारहरू नेपाली र तिब्बती भाषामा हुने सम्भावना छ भने, तराई क्षेत्र भित्र सीमित व्यापारिक कारोबारहरू कि नेपाली, कि स्थानीय भाषा कि हिन्दीमा हुने सम्भावना छ ।
१६.३ सांस्कृतिक शक्ति
हिन्दु धर्मावलम्बीहरू संस्कृत भाषामा लेखेका पुस्तकहरूबाट आफ्ना धेरैजसो धार्मिक कारोबार गर्छन् अर्थात् हिन्दु धर्मका सांस्कृतिक समारोहमा पुरेतले पढ्ने किताबको भाषा संस्कृत, पुरेत र जजमान बीचको अन्तरक्रिया कि नेपाली अथवा स्थानीय भाषामा हुन्छ ।
नेपालमा हीनयान बुद्ध धर्म मान्नेहरू धेरै कम छन् : तिनीहरू पालि भाषामा लेखिएका किताब चलाएर नेपाली वा स्थानीय भाषामा अन्तरक्रिया गर्छन् । महायान बुद्ध धर्म मान्नेहरू नेपालमा धेरै छन् । तिनीहरूका ‘त्रिपिटक’ र ‘सद्धर्मपुण्डरीकसूत्र’ जस्ता धर्म ग्रन्थहरू संस्कृत भाषामा लेखिएका हुन्छन्; कुनै कुनै धर्म ग्रन्थहरू तिब्बती र स्थानीय भाषामा पनि अनुवाद भएका पाइन्छन् । त्यहाँ पुरेत र जजमानका बीचमा अन्तरक्रिया भने स्थानीय भाषा वा नेपालीमा हुन्छ ।
मुस्लिम धर्मका मूल ग्रन्थहरू अरबी भाषामा हुन्छन् । नेपालका मदरसाहरूमा पुस्तकको भाषा अरबी, फारसी र अन्तरक्रियाको भाषा नेपाली र उर्दू हुने सम्भावना छ ।
इसाईहरूका मूल धर्म ग्रन्थहरू ल्याटिन भाषामा लेखिएका भए पनि नेपालका इसाईहरू धेरै मात्रामा नेपाली भाषा नै चलाउँछन् ।
किराँती जस्ता नेपालका अनेक जातिहरू आआफ्नै छुट्टाछुट्टै परम्परागत धर्म मान्छन् । तिनीहरूका धार्मिक क्रियाकलापहरू उनीहरूकै भाषाको प्राचीन रूपमा, स्थानीय भाषामा र नेपाली भाषामा सम्पादन हुन्छन् ।
यसरी नेपाली भाषा नै नेपालीहरूका बीच सबभन्दा धेरै अन्तरक्रिया हुने सबभन्दा शक्तिशाली भाषा हो ।
१७. वर्तमान नेपालमा सबभन्दा धेरै राजनीतिक विरोध र विवादको सिकार
नेपालको सबभन्दा शक्तिशाली भाषा भएकैले गर्दा वर्तमान नेपालमा सबभन्दा धेरै राजनीतिक विरोध र विवादको विषय बनाइएको एक मात्र बोलचालको भाषा नेपाली हो । प्रसिद्ध समाज भाषा वैज्ञानिक खुप्छन्दानी (कुराकानी) को भनाइ अनुसार राजनीतिक विरोधले सबै भन्दा कमजोर सम्पर्क भाषालाई बनाउने विश्वभरको प्रवृत्ति हुन्छ । नेपालका हकमा पनि खुप्छन्दानीको मान्यता लागु भएको देखिन्छ ।
नेपालमा विरोध र विवादको चपेटामा परेको दोस्रो भाषा चाहिँ नेपाल, भारत, बर्मा, कम्बोडिया, मलयेसिया, इन्डोनेसिया र थाईल्यान्डका भारोपेली र अभारोपेली सबै भाषाको वैज्ञानिक र पारिभाषिक शब्दावलीको अनिवार्य स्रोत र महायान बुद्धधर्मका मूल ग्रन्थ ‘त्रिपिटक’ र ‘सद्धर्मपुण्डरीकसूत्र’ को भाषा संस्कृत हुन पुगेको छ । नेपाली र नेपालका भाषाको मात्र होइन पूरै दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र चीनको प्रत्यक्ष सांस्कृतिक प्रभाव नपरेका पूर्वी एसियाका सबैजसो भाषामा वैज्ञानिक र पारिभाषिक शब्दावली बनाउन संस्कृत भाषाकै धातु, प्रातिपदिक र शब्द निर्माण प्रक्रिया अनिवार्य देखिन्छ (पोखरेल प्रकाशोन्मुख) । नेपाली, हिन्दी, बाङ्ला, असमिया, मैथिली र उडिया जस्ता भारोपेली आर्य भाषाका शब्द कोशमा संस्कृत शब्दको छिरोलो हुनु त स्वाभाविकै हो । अभारोपेली तिब्बती, नेवारी, मणिपुरी, लिम्बु, लेप्चा, बर्माली, थाई, कम्बोडियाली, मलेसियाली, इन्डोनेसियाली, तमिल, तेलुगु, कन्नाडा र मलयालम जस्ता विकसित भोट बर्मेली, आग्नेय र द्रविड परिवारका भाषाहरूका शब्दकोशमा भएका संस्कृत शब्दको अत्यन्त ठूलो प्रतिशत हेर्दा त्यो कुरो थाह हुन्छ । त्यति हुँदा पनि नेपालमा राजनीतिक नेताहरूको अज्ञानले गर्दा दुर्भाग्यवश नेपाली बाहेक संस्कृतलाई राजनीतिक अर्घेलो बनाइएको छ ।
नेपाली भाषाको राजनीतिक विरोध गर्न तम्सिने सबै नेपाली एक ठाउँमा भेला भएर नेपाली भाषाको विरोधै गर्दा पनि त्यही भाषाको माध्यम नबनाई धर पाउँदैनन् भन्ने कुरो माथि नै उल्लेख भइसक्यो । रमाइलो कुरो के छ भने, नेपाली भाषा बाहेक अर्को भाषा बोल्नै नजान्ने, परिवारमा समेत नेपाली बाहेक अर्को भाषा कहिल्यै प्रयोगै नगर्ने अर्थात् भाषा वैज्ञानिक सिद्धान्तका आधारमा नेपाली नै मातृभाषा हुनेहरूले पनि नेपाली भाषाको राजनीतिक विरोध गर्न थालेको पाइन्छ । यस्ता आफ्नै मातृभाषाको विरोध गर्नेहरू आधारभूत रूपमा बेग्लै पुर्ख्यौली भाषा हुनेहरू पर्दछन् ।
यसरी गणतन्त्र नेपालमा संस्कृत र हिन्दी बाहेक सबभन्दा धेरै राजनीतिक विरोधको सिकार भएको भाषामा नेपाली नै पर्छ । नेपाल अधिराज्यमा घटेका निम्न लिखित घटनाहरू पनि नेपाली भाषाकै मूलभूत विरोधका रूपावली हुन् :
- नेपाली भाषाले पाएको सम्मानित ठाउँबाट खँदार्ने र ओराल्ने होड
- लोक सेवा आयोगबाट अनिवार्य नेपालीको अङ्क भार घटाउने कदम
- उच्च माविमा कक्षा ११ बाट १२ मा अनिवार्य नेपाली विषय सार्ने प्रयास
- उच्च शिक्षाको सम्पूर्ण पठन पाठनको माध्यम नेपाली बनाउने नेपाली शिक्षा परिषद् र त्रिभुवन विश्व विद्यालयको उद्देश्यबाट क्रमिक पलायन
- संविधानमा कुनै व्यवस्था नभए पनि उपराष्ट्रपतिले नेपाली भाषाको साटो हिन्दीमा शपथ खाने प्रयास;
- संविधानमा कुनै व्यवस्था नभए पनि संविधान सभाका केही सभासदहरूले नेपालीमा शपथ नखान प्रकट गरेको अनिच्छा र अन्तरिम संविधानकै धारा संशोधन गरिरहनु पर्ने अवस्था
- अन्तरिम संविधानबाट नेपाली भाषालाई घुमाउरो पाराले खसाल्ने प्रयास
- नेपाली भाषाका प्रसिद्ध विरोधीहरूलाई संवैधानिक उच्च आसनमा बसाल्ने परिपाटि
- नेपाली र नेपालका मातृभाषाको ठाउँ हिन्दीलाई दिने समेत प्रयास
१८. नेपाली पठन पाठनको प्रभावकारिता
(क). नेपाली भाषाको यति धेरै महत्त्व भए पनि विद्यार्थीलाई नेपाली लेखनको हिज्जेमा पोख्त बनाउन सक्ने गरी यो भाषा प्रभावकारी रूपमा पढाउन सकिएको छैन ।
(ख). सञ्चार माध्यममा नेपालीको उच्चारणमा एकरूपता छैन;
(ग). विद्वानहरूकै पनि हिज्जेमा एकरूपता छैन;
(घ). नेपाली व्याकरण सिकाउने कुरामा भाषा वैज्ञानिक प्रभाव एकदम कम छ र त्यहाँ परम्परागत व्याकरणकै प्रभाव छ;
(ङ). नेपालीमा प्रयोग गरिने शुद्ध संस्कृत शब्दको निर्माणमा नेपाली विद्यार्थी र गुरुहरूलाई कसरी पोख्त बनाउने भन्ने कुरामा चिन्तन पनि सुरु भएको छैन, खालि एउटै अर्थ दिने ‘सुक बार’ र ‘शुक्र बार’ शब्द मध्ये नेपाली शब्द नरोजेर संस्कृत शब्द रोज्न मात्र विद्यार्थी र लेखकहरूलाई सिकाइन्छ । झर्रो वादीहरूले बनाएको शब्द कोशमै पनि ‘सुक बार’ शब्द नै छैन होला ।
(च). नेपालीमा ‘पुनर्स्थापना’ र ‘पुनस्थापना’, ‘प्रविधिज्ञ’ र ‘प्राविधिज्ञ’, ‘राजनीतिक’ र ‘राजनैतिक’, ‘उल्लिखित’ र उल्लेखित’ मा कुन चाहिँ शुद्ध रूप हो अथवा दुइटै शुद्ध हो कि भन्ने कुरो निर्णय गर्न चाहिने न्युनतम संस्कृत व्याकरण र कोशको ज्ञान नेपाली पढाउने गुरु र पढ्ने विद्यार्थीलाई कसरी दिने भन्ने समस्यामा त्रिभुवन विश्व विद्यालयको नेपाली केन्द्रीय विभाग र सबै विश्व विद्यालय अनिवार्य नेपाली विषय समितिको पनि ध्यानाकर्षण भएको पाइँदैन ।
(छ). अहिले सम्म अनिवार्य नेपाली विषयले पहिलो भाषाका रूपमा र दोस्रो भाषाको रूपमा नेपाली बोल्ने विद्यार्थीलाई एउटै कक्षामा राखेर एउटै पाठ्य पुस्तक चलाएर सिकाइरहेको छ । यस्तो स्थितिले नेपाली भाषालाई दोस्रो भाषाको रूपमा सिक्ने विद्यार्थीहरूलाई अन्याय परिरहेको छ । अनिवार्य नेपालीको कुन तहमा कति दक्षता चाहिन्छ भन्ने लेखाजोखा गर्ने; पहिलो भाषाको रूपमा नेपाली बोल्नेलाई कसरी कुन पाठ्य क्रमबाट त्यो दक्षता पुर्याउने र दोस्रो भाषाका रूपमा नेपाली बोल्नेलाई कसरी कुन पाठ्य क्रम, कुन पाठ्य सामग्री र कुन विधिबाट कति समयमा त्यति दक्षता दिने भन्ने फरक फरक योजना, सामग्री, कार्य क्रम र विधिको तर्जुमा गर्नु पर्ने खाँचो छ । बेग्ला बेग्लै मातृभाषाको पृष्ठ भूमि भएका विद्यार्थीहरूको त्रुटि विश्लेषणका आधारमा त्यस्ता पाठ्य क्रमको तर्जुमा गर्नु पर्ने हुनाले त्यस्तो अनिवार्य नेपालीको पाठ्य सामग्री बेग्ला बेग्लै मातृभाषाको क्षेत्रमा विशिष्ट रूपमा बेग्ला बेग्लै बनाउने लक्ष्य राखेर काम गर्नु पर्ने देखिन्छ । यस्तो कार्य क्रम भविष्यको प्रान्तीय नेपालमा पनि उपयोगी होला ।
सन्दर्भ सूची
गोरखापत्र ११०.१०१:१
निरौला, यज्ञेश्वर. २०५१. क्रियाको रूपतत्त्वका आधारमा नेपालीका भाषिकाहरूको निर्धारण. काठमाडौँ : स्वयम्.
पोखरेल, माधव. प्रकाशोन्मुख. संस्कृत भाषाका शब्दको विश्वव्यापी ऐतिहासिक सम्बन्ध.
प्रधान, शिव. १९९२ ई. भाषिक आन्दोलन : सफलताको गोरेटो सम्म. सिक्किम : गान्तोक प्रकाशन.
शर्मा, रमा. सं. २०५८-२०५९. राष्ट्रभाषा (स्वर्णजयन्ती विशेषाङ्क). काठमाडौँ : नेपाली शिक्षा परिषद्.
१-३५.
सापकोटा, महानन्द. २०२०. खश र खशभाषा. विराटनगर : लेखक.
CBS. 2003. Population monograph of Nepal. Vol.1. Kathmandu
Tucci, Giuseppe. 1956. Nepal: The discovery of the Mallas. Rome.
Wardhaugh, R. 2000. An introduction to sociolinguistics. (3rd edition) London: Blackwell.
free fire game download for pc
kinemaster for pc kinemaster kinemaster download