नेपाल र भारतको मुख्य धर्म हिन्दु भएकाले यी दुई देशको साहित्य, कला, संस्कृति, समाज र सोचाइ राम्ररी बुझ्न र व्याख्या गर्न हिन्दुहरूका रामायण र महाभारत जस्ता दुइटा महाकाव्य र पौराणिक साहित्यको अध्ययन नगरी सकिँदैन । पौराणिक साहित्य भन्नाले १८ ओटा पुराण र १८ ओटा उपपुराण बुझ्नु पर्छ ।
‘पुराण’ शब्दको अर्थ ‘पुरानो’ हो । रङ्गाचार्यले ‘पुरानव’ शब्दबाट ‘पुराण’ शब्द बनेको भन्ने मत राखेका छन् । त्यसको अर्थ के हो भने जुन जुन ग्रन्थका पुराना कुराले नयाँ पुराना सबै कुराको व्याख्या गर्न सघाउँछ, तिनै ग्रन्थलाई ‘पुराण’ भन्नु पर्छ ।
आर्यहरूको सबभन्दा पुरानो ग्रन्थ ऋग्वेद हो । त्यसमा पनि ‘पुराण’ शब्द आउँछ र पुराणका कुराको चर्चा पाइन्छ । यसबाट पुराणका कुरा चाहिँ पुराना रहेछन् भन्ने त बुझिन्छ, तर हामीले आज पढ्न पाउने १८ ओटा पुराण र १८ ओटा उपपुराण २ हजार वर्ष भन्दा पुराना भेटिएका छैनन् । त्यसको एउटा कारण चाहिँ भारतीय उपमहाद्वीपमा प्राकृत र संस्कृत जस्ता आर्य भाषा लेख्न प्रयोग भएको पहिलो लिपि ब्राह्मी २५०० वर्ष पुरानो पनि नभएकाले हिन्दुहरूका सबै पुराना ग्रन्थहरू घोकेर कण्ठस्थ पार्नु पर्ने (अर्थात् ‘श्रुति’ सुनेर मात्र ज्ञान पाइने) बाध्यता थियो । त्यसै हुनाले नै हिन्दुहरूका सबै विद्याहरू कि त छन्दमा रचेर गाउन सजिला पारिएका छन्, कि त पाणिनिको व्याकरण र पतञ्जलिको योग सूत्र जस्ता थोरै घोकेर धेरै बुझ्न सकिने बीजगणितीय सूत्रहरूका रूपमा छन् । यसरी ऋग्वेद, यजुर्वेद, साम वेद र अथर्व वेद जस्ता वैदिक साहित्य हुन् कि रामायण र महाभारत जस्ता महाकाव्य हुन् कि १८ पुराण र १८ उपपुराण हुन् सबै गाएर कण्ठ गरिन्थे । त्यस्ता गाइने साहित्यहरू प्राय गाइनेहरूले नै जनताहरू कहाँ पुर्याउने हुन् । गाइनेहरूले कण्ठस्थ पारेका रचनाहरूमा नयाँ र पुराना कुरा पनि मिसेर अद्यावधिक गर्ने सम्भावना हुन्छ । यसैले हामीले पढ्न पाउने पुराणहरूमा नयाँ र पुराना कुरा मिसिएकै पाइन्छन् । धेरै जसो पुराणहरू गुप्त काल (चौथो वा पाँचौँ शताब्दी) मा सम्पादन गरिएका देखिन्छन् भने कुनै कुनै पुराण त १६ औँ शताब्दी सम्म पुग्लान् ।
पुराणहरू ब्रह्मा, विष्णु र शिव सम्बन्धी मात्र हुन्छन् । हरेकका ६-६ ओटा पुराण जोडेर जम्मा १८ ओटा पुराण बन्दछन् । वेत्तम मणि (१९७५ई) का अनुसार पुराणका नाम निम्न लिखित छन् :
क. ब्रह्मा सम्बन्धी पुराणहरू : ब्रह्म पुराण, ब्रह्मवैवर्त पुराण, ब्रह्माण्ड पुराण, मार्कण्डेय पुराण, भविष्य पुराण र वामन पुराण
ख. विष्णु सम्बन्धी पुराणहरू : विष्णु पुराण, भागवत पुराण, नारदीय पुराण, गरुड पुराण, पद्म पुराण, वराह पुराण
ग. शिव सम्बन्धी पुराणहरू : वायु पुराण, लिङ्ग पुराण, स्कन्द पुराण, अग्नि पुराण, मत्स्य पुराण, कूर्म पुराण ।
उपपुराणहरूमा शिव पुराण, देवी भागवत, कालिका पुराण, नृसिंह पुराण, विष्णुधर्मोत्तर पुराण, सूर्य पुराण, आदिको नाम वेत्तम मणिले लिएका छन् ।
नेपालका सांस्कृतिक गतिविधि हेर्दा मार्कण्डेय पुराण, भागवत पुराण, गरुड पुराण, वराह पुराण, लिङ्ग पुराण, स्कन्द पुराण, शिव पुराण, देवी भागवत र कालिका पुराणको नेपालमा सशक्त प्रभाव परेको देखिन्छ ।
पुराणहरूका यी नाम हेर्दा विष्णु सम्बन्धी नामको बाहुल्य देखिन्छ । ब्रह्मा सम्बन्धी पुराण भए पनि ब्रह्माको पूजा भारतीय उपमहाद्वीपमा अत्यन्त कम मात्रामा देखिने हुनाले ब्रह्मा सम्बन्धी पुराणमै पनि सूर्य, शिव (ब्रह्म पुराण), राधा, कृष्ण, राम, परशुराम (ब्रह्माण्ड पुराण), गणेश (ब्रह्मवैवर्त पुराण), इन्द्र, अग्नि (मार्कण्डेय पुराण, भविष्य पुराण) र विष्णु (वामन पुराण) को वर्णन पाइन्छ; ब्रह्मा त खालि कि कथा सुनाउने कि सृष्टि गर्ने भूमिकामा मात्रै पाइन्छन् ।
पुराणहरूको अर्को टड्कारो विशेषता के छ भने, ऋग्वेद, यजुर्वेद र सामवेद जस्ता वेदमा सबभन्दा बढ्ता इन्द्र, वरुण, अग्निको प्रसङ्ग आउँछ, तर पुराणहरूमा ऋग्वेदका सबभन्दा शक्तिशाली देउता इन्द्र त खालि डरछेरुवा, छुल्याहा, कपटी, कामुक र विलासी देउताका रूपमा मात्र देखिन्छन् । ऋग्वेदमा वर्णनै नगरिएका र यजुर्वेदको १६ औँ अध्यायमा मात्र पहिलो पल्ट देखा पर्ने शिव अनि ऋग्वेदका थोरै ऋचाहरूले मात्र स्तुति गरिएका इन्द्रका पराक्रमी भाइ (उपेन्द्र) विष्णु पुराणमा सबभन्दा शक्तिशाली बन्छन् र डरछेरुवा, छुल्याहा र लुते इन्द्रलाई पुराणहरूमा पाइलै पिच्छे रक्षा गरी रहेका हुन्छन् । यसरी वैदिक साहित्यकै आडमा पुराणहरू रचना गरिएका त देखिन्छन्, तर इन्द्र, वरुण र अग्नि जस्ता ऋग्वेदका देउताको महत्त्व पुराणमा विष्णु र शिव तिर सरेको देखिन्छ ।
अमर कोश अनुसार पुराणमा ५ ओटा कुरा हुनु पर्छ : (क) सृष्टिको वर्णन, (ख) प्रलयको वर्णन, (ग) राजा र ऋषिहरूको वंशावली, (घ) मन्वन्तरको वर्णन, (ङ) मुख्य चरित्रको वर्णन । वेत्तम मणि अनुसार अमरकोशको त्यति परिभाषामा नअटाउने अनेक उल्लेखनीय तत्त्वहरू पनि पुराणमा हुन्छन् ।
जुनसुकै पुराणमा चन्द्र गुप्त मौर्य (ईपू ४००) भन्दा पछाडिका राजाको पनि वर्णन पाइएकाले पुराणहरूको लेखन काल पहिलो शताब्दी भन्दा पछाडिकै भएको अड्कल गरिएको पाइन्छ । यस दृष्टिले कुनै पनि पुराण रामायण र महाभारत भन्दा पुरानो ठहरिएको छैन । ‘विष्णु पुराण’ पुराणहरूमा सबै भन्दा पुरानो मानिएको छ ।
वेत्तम मणिले सबै पुराणहरू जोड्दा झन्डै ४ लाख श्लोक पुग्ने अड्कल गरेका छन् ।
सबै पुराण दुई जनाको संवादका रूपमा रचना गरिएका पाइन्छन्, जस्तै : ब्रह्म पुराणमा ब्रह्मा र दक्ष प्रजापतिको संवाद छ; ब्रह्मवैवर्त पुराणमा नारदले सावर्णिकलाई उपदेश गरेको पाइन्छ; भविष्य पुराण सूर्यले मनुलाई भनेको रूपमा वर्णन गरिएको पाइन्छ ।
सारांशमा, पुराण र पौराणिक साहित्यको सामान्य ज्ञान नहुने मान्छेले हिन्दु धर्म, नेपाल र भारतीय उपमहाद्वीपको धर्म, कला, संस्कृति, साहित्य, लोक कथा, पहिरन, सामाजिक व्यवस्था पटक्कै बुझ्न सक्तैन । पौराणिक साहित्य र संस्कृतिसँग प्रत्यक्ष रूपमा कुनै साइनो नभएका भारतीय उपमहाद्वीपका कुसुन्डा, चेपाङ र किराँती जस्ता जनजातिको लोक साहित्य र चाल चलन हेर्दा पनि त्यहाँ पुराणहरूले परिभाषित गरेको हिन्दु संस्कृतिको बलियो प्रभाव पाइन्छ ।