अस्तित्व वादको चिनारी

By | December 16, 2013

त्यजेदेकं कुलस्यार्थे, ग्रामस्यार्थे कुलं त्यजेत्;

ग्रामं जनपदस्यार्थे, आत्मार्थे पृथिवीं त्यजेत् ।

(कुलको हितका लागि एक जनाको हित त्याग्‍नु पर्छ; गाउँको हितका लागि परिवारको हित त्याग्‍नु पर्छ; राष्ट्रको हितका लागि गाउँको हित त्याग्‍नु पर्छ; तर आफ्नो अस्तित्वका लागि पृथ्वीकै हित पनि त्याग्‍नु पर्छ ।)

चाणक्य नीति

अस्तित्व वादको चिनारी

डा. माधव प्रसाद पोखरेल

नेपाली साहित्यमा विश्वेश्वर प्रसाद कोइरालाका उत्तरवर्ती र पारिजातका पूर्ववर्ती आख्यानमा पाइने एउटा विशेषताका रूपमा नेपाली समालोचकहरूले औँल्याएको अस्तित्व वाद विश्व साहित्यका समालोचनामा संरचना वाद र उत्तर संरचना वाद आउनु भन्दा अगाडि सम्म सशक्त रूपमा प्रभाव पार्ने एउटा दर्शन हो । अस्तित्व वादीहरू कोही किर्केगार्ड, यास्पर्स र गाब्रिएल मार्सेल जस्ता आस्तिक छन् भने कोही चाहिँ साख्थे जस्ता नास्तिक पनि छन्, त्यसैले थोमस फ्लिन (Flynn, 2006, p. 8) ले अस्तित्व वादका निम्‍न लिखित पाँच ओटा विशेषताहरू गनेका छन् :

१.     आफ्नो खटन बाहिरको मान्छेको चिनारी भन्दा आफैँले निर्माण गरेको आफ्नो चिनारी नै वास्तविक अर्थमा मान्छेको अस्तित्व भएकाले बढ्ता महत्त्व पूर्ण हुन्छ ।

२.     आफ्नो खटन बाहिरको हाम्रो चिनारी काल (समय) का खटनमा हुन्छ, तर हाम्रो अतीत (भूत), हाम्रो भविष्यत र हाम्रो वर्तमानले हाम्रो चिनारी अथवा हाम्रो जीवनको अर्थ र मूल्यमा फरक फरक रूपले भूमिका खेल्छ, किन भने हामीलाई प्रभावित पार्ने समय घडीको समय होइन : हाम्रा लागि भूत काल भनेको बिती सकेको हाम्रो अतीत हो; भविष्यत् भनेको हाम्रो जीवनमा अझै आउन बाँकी समय हो र वर्तमान काल भनेको चाह्यौँ भने वा जान्यौँ भने हाम्रो भविष्य निर्माण गर्ने अर्थात् हाम्रो अस्तित्व निर्माण गर्न सक्‍ने समय हो ।

३.     अस्तित्व वाद एउटा मानवता वादी दर्शन हो । यो आत्मकेन्द्री वा व्यक्ति केन्द्री दर्शन हो । वैज्ञानिक समाजमा समाजको महत्त्व अगाडि मान्छेका अस्मिताको महत्त्व घटेको हुन्छ, त्यसैले समाजमा मान्छे एक्लो र निस्सहाय हुन्छ । सङ्गठित समाजमा मान्छेलाई समाजका छिमेकी र अरूसँग मिल्न वा अरूकै देखासिकी गर्ने अनुशासन सिकाइएको हुन्छ, त्यसैले अस्तित्व वादले समाजमा मान्छेको आफ्नो वैयक्तिक चिनारी र अर्थको खोजी गर्न सिकाउँछ ।

४.     अस्तित्व वाद व्यक्तिगत स्वतन्त्रता र उत्तरदायित्वको निर्माण गर्ने दर्शन हो । यस दर्शनले के सिकाउँछ भने मान्छे जुनसुकै वेला पनि अडिएर म अहिले के गरी रहेको छु भनेर आफ्नो कामको मूल्याङ्कन गर्न सक्छु । त्यसको अर्थ के हो भने अस्तित्व वादले हाम्रो अतीतले हाम्रो इच्छा, रहर र खटन विनै हामीलाई जस्तो चिनारी दियो, त्यस बाध्यताबाट मुक्त हुन हामी आफ्नै निर्णयले अघि बढ्न अथवा आफ्नो अस्तित्व प्रमाणित गर्न स्वतन्त्र छौँ भन्ने बोध गराउँछ । अस्तित्व वादले हामीलाई निर्णय गर्ने आफ्नो स्वतन्त्रताको उपभोग गर्दा उत्तरदायित्व पनि बिर्सिनु हुँदैन भन्ने पनि सिकाउँछ ।

५.     अस्तित्व वादले जब सम्म मान्छे नैतिक हुँदैन, तब सम्म स्वतन्त्र हुन सक्तैन भन्ने विचार राख्छ । किर्केगार्ड र साख्थे आफैँलाई ढाँट्ने मान्छेलाई अनैतिक ठान्छन् भने, जसले आफुलाई चाहिँ ढाँट्तैन, त्यो मान्छे मात्र नैतिक हुन्छ भन्ने धारणा राख्छन् । सामाजिक नैतिकताको मूल्याङ्कन पनि अस्तित्व वादले यसै गरी गर्छ ।

क.     अस्तित्व वादका माथि उल्लेख गरिएका वैयक्तिक स्वतन्त्रता सम्बन्धी धारणामा कान्टको बोधि वा प्रज्ञासँग सम्बन्धित विचार (Kant, Immannuel, 1784 ) को प्रभाव छ ।  ‘बोधि वा प्रज्ञा भनेको के हो?’ भन्ने शीर्षकको निबन्धमा कान्ट हरेक मान्छेलाई स्वतन्त्र हुन घच्घच्याउँछन् । कान्टका विचारमा प्रकृतिले हरेक मान्छेलाई आफ्नो हितमा आफैँ सोच्न सक्‍ने, आफ्नो काम आफैँ गर्न सक्‍ने क्षमता दिएको हुन्छ, तर आफ्नो त्यस क्षमताको ज्ञान नभएर, अथवा अल्छी गरेर धेरैजसो मान्छे आफ्नो हितका लागि आमा, बाबु, लोग्‍ने, स्वास्‍नी, गुरु अथवा परिवार र समाजको कुनै स्वयं घोषित अभिभावकले सोची दिनु पर्ने, सघाई दिनु पर्ने र गरी दिनु पर्ने गरी आफ्नै परतन्त्रता रोज्छ भने, त्यस्ता मान्छेमा बोधि वा प्रज्ञा कहिल्यै उम्रिनै पाउँदैन । फल स्वरूप, त्यस्ता मान्छेको हित चिताई दिने अभिभावक, नेता, अथवा धर्म गुरु जस्ता मान्छे तिनीहरूका जीवनमा आउँछन् र तिनीहरूको स्वतन्त्रता हत्याई दिन्छन् । यसो हुनाले हरेक मान्छे आफ्नो हित र उन्नति गरेर स्वतन्त्र हुन आफैँ जाग्‍नु पर्छ भन्ने विचार कान्टले राखेका छन् ।

ख.    किर्केगार्ड (Kierkegaard, 1987) (१८४० दशक) लाई कान्टका विचारलाई अस्तित्व वादका आधुनिक लक्षण सम्म पुर्‍याउने श्रेय जान्छ, त्यसैले धेरैले किर्केगार्डलाई नै अस्तित्व वादका प्राक्-प्रवर्तक र प्रेरक मान्छन् । किर्केगार्डले अस्तित्व वादी विचारको दार्शनिक स्वरूपलाई परिभाषित गर्न आफ्नै नाममा नलेखेर छद्‍म नाममा पनि कृतिहरू प्रकाशित गरेका छन् । छद्‍म नाम मात्र होइन, छद्‍म विधि प्रयोग गरेर पनि किर्केगार्डले आफ्ना पाठकहरूलाई अस्तित्व वादी दर्शन बुझाउने प्रयत्‍न गरेका छन् । आख्यानहरू लेखेर किर्केगार्डले त्यहाँका पात्र विशेषमा अस्तित्व वादसित मिल्ने परिस्थिति र त्यसमा पात्रले लिएका निर्णय अघि सारेर आफ्ना अस्तित्व वादी विचारहरू बुझाएका छन् । यस प्रविधिलाई उनले ‘अप्रत्यक्ष सञ्‍चार’ भन्ने नाम दिएका छन् । यस विधिबाट उनले पाठकलाई बेग्ला बेग्लै परिस्थितिमा धकेलेर आफ्नो अस्तित्व निर्माण आफैँ गर्न घच्घच्याउने लक्ष्य राखेका छन् । पछि साख्थेले पनि आफ्ना आख्यानमा किर्केगार्डको यस विधिको प्रयोग गरेका छन् ।

किर्केगार्डका विचारमा मान्छे समयको सीमाबाट बाँधिएकाले आफ्नै अस्तित्वको चासो नै उसलाई उच्‍चतम प्राथमिकताको वस्तु हुन्छ । त्यसै हुनाले उनले हिगलको व्यक्ति निरपेक्ष सिद्धान्तको खण्डन गर्दै विज्ञानले मान्छेको अस्तित्व र वैयक्तिक स्वतन्त्रतालाई सम्याएर निमिट्यान्न पार्छ भन्ने दृष्टि कोण राखेका छन् । मान्छेको अस्तित्व नितान्त व्यक्तिगत समस्या भएकाले उत्तम पुरुष दृष्टि बेगर अस्तित्व बुझिँदैन भन्ने उनी ठान्छन् । उनको विचार अनुसार समय सीमाले बाँधिएको हुनाले म कस्तो छु भन्ने चिन्तन भन्दा कस्तो हुन्छु भन्ने अठोट, सङ्कल्प र कार्यान्वयनले मात्रै मान्छेको अस्तित्वको निर्माण हुने हुनाले हरेक मान्छेले आफ्नो अस्तित्व निर्माण गर्ने काम स्थिर नभएर एउटा गतिशील प्रक्रिया हो, यसैले मान्छेले आफ्नो अस्तित्व (व्यक्तित्व) बनाउन र प्रमाणित गर्न निरन्तर प्रयत्‍न गर्नु पर्छ, किन भने प्रयत्‍न विना कसैको पनि अस्तित्व बन्दैन ।

किर्केगार्डका विचारमा मान्छेको अस्तित्व निर्माण अनेक चरणमा हुन्छ : (१). ‘सौन्दर्यपरक’ पहिलो चरणमा जुनसुकै मान्छे व्यर्थ सुख मात्रै खोज्ने हुन्छ । यस चरणमा मान्छेको व्यक्तित्व बनेकै हुँदैन । यस चरणमा मान्छेले अरूले जसो जसो गर्छन्, त्यसै गर्न खोज्छ । उ आफुले गरेको गल्ती पनि स्वीकार नगरेर ढाकछोप गर्छ वा अरू तिर पन्छाउन खोज्छ; व्यक्तिले आफैँलाई बिर्सिन्छ; उ आफ्ना समस्यामा गम्भीर हुँदैन; अरू जस्तो हुन खोज्छ र देखासिकी गर्छ; अरूले अराएको र सिकाएको मात्र चाह्‍यो भने गर्छ, तर आफ्नो अस्तित्व (व्यक्तित्व) को निर्माण गर्न अर्थात् आफ्ना जीवनको निर्णय आफैँ गर्न अल्छी गर्छ, खुट्टा कमाउँछ र अरूले के भन्लान् भनेर डराउँछ । यस चरणमा भएको मान्छेलाई सुख र सन्तुष्टि पाएको भ्रम मात्रै हुन्छ । अस्तित्व नभएको यस्तो मान्छे व्यक्ति नभएर डिस्कार्टिज र हिगलले चिताए जस्तो ‘सामाजिक वस्तु’ जस्तो मात्र हुन्छ ।

(२) किर्केगार्ड अनुसार ‘नैतिक’ चरण व्यक्तित्व वा अस्तित्व जन्मिने दोस्रो तर महत्त्व पूर्ण चरण हो, किन भने यसै चरणमा मान्छेले म यस्तो बन्छु वा यस्तो बन्दिन भन्ने अठोट वा प्रतिज्ञा गर्छ; आफ्नो भाग्य आफैँ रोज्छ, त्यसैले यस्तो मान्छे अर्काको खटनमा नचलेर आफ्नै खटनमा चल्दै आफ्नै निर्णयबाट आफ्नो नैतिकता, मूल्य (आदर्श) र आफ्ना गन्तव्यको रेखाङ्कन आफैँ गर्न सक्‍ने, अर्थात् स्वतन्त्र हुन्छ । अस्तित्व त यस्तै स्वतन्त्र मान्छेको मात्रै हुन्छ । जसले आफ्नै निर्णयबाट आफ्नो अस्तित्वको निर्माण गर्छ, त्यस्तो मान्छे मात्र स्वतन्त्र हुन्छ । किर्केगार्डका विचारमा प्रयत्‍न नगरी यो दोस्रो चरण आफैँ चाहिँ आउँदैन, त्यसैले धेरै मान्छेहरू यो दोस्रो चरण नआइकनै मर्छन् । मान्छेलाई आफ्नो जीवनमा आई परेको समस्याबाट उम्कनका लागि आतेसको अनुभव दोस्रो चरणमै हुनु पर्ने हो । किर्केगार्ड पहिलो चरणबाट दोस्रो चरणमा पस्‍न हरेक व्यक्तिका लागि जागरणको आह्वान गर्छन् (Kierkegaard, 1987) । हिगल (१८०७) को वस्तुपरकता (Michelman, 2008) को उल्टो किर्केगार्ड ‘आत्मपरकतामै सत्यता’ देख्छन् (Evans, 2009) ।

ग.     नित्सेको ‘दस स्पोक जरथुस्त्र’ (Nietzsche, 1882-85 [1995]) भन्ने उपन्यासमा पारसीहरूका नेता जरथुस्त्र दश वर्ष सम्म समाज छोडेर पहाडका टाकुरामा ध्यान गर्छन् र ज्ञान वा बोधि पाए पछि अथवा आफ्नो तपस्या पुरा भए पछि ईश्वर मरेको र ईश्वर मरेको हुनाले मान्छेले नै देउताको भर नपरी आफ्नो भाग्य र नैतिकता आफैँ निर्माण गर्न सक्‍ने स्वतन्त्र ‘महापुरुष’ बन्नु पर्ने ज्ञान पाएको सूचना लिएर आउँछन् । यसरी त्यस उपन्यास मार्फत नित्सेले ‘ईश्वरको मृत्यु’ भएको घोषणा गरे । ईश्वर मरेको हुनाले अब मान्छेले आफ्नो भाग्य आफैँ निर्माण गर्नु पर्ने सुझाउ पनि नित्सेले त्यसै उपन्यास मार्फत दिए । हरेक मान्छेले आफ्नो भाग्य रेखा आफैँ कोर्नु पर्छ, कसैको भर पर्नु हुँदैन भन्ने नित्सेले त्यस उपन्यासमा व्यक्त गरेको विचार किर्केगार्डको अस्तित्व वादी विचारसित मिल्छ ।

त्यसै उपन्यासबाट नित्सेले अरूको देखासिकी गर्ने कुराको विरोध गरेको पनि किर्केगार्डको अस्तित्व वादी विचारसित मिल्छ । त्यसै उपन्यासबाट नित्सेले प्रचलित नैतिकताको पनि विरोध गरेका छन् । नित्सेका विचारमा धार्मिक नैतिकता भित्र मान्छेले स्वार्थ त्याग गर्नु पर्छ र जसले स्वार्थ त्याग गर्छ, त्यही मान्छे महान हो भन्ने एउटा अन्धविश्वास पर्छ भन्ने र समाजका अधिकारी अथवा आफु भन्दा ठुला मान्छे नैतिक हुन्छन्, त्यसैले उनीहरूले भनेको पत्याउनु र मान्नु पर्छ भन्ने अर्को अन्ध विश्वास पर्छ ।

अस्तित्व वादीहरूले झैँ नित्सेले पनि वैयक्तिक सिर्जनशीलताको वकालत गर्दै मान्छेले आफैँ माथि विजय पाउन हरदम कोसिस गर्नु पर्छ भन्ने विचार व्यक्त गरेका छन् । आधुनिक विश्वको भौतिक वादलाई अनीश्वर वादी विचार नित्सेको देन हो । नित्से तर्क वस्तुपरक र सार्वभौमिक हुन्छ भन्ने कुरो पत्याउँदैनन् ।

नित्सेका विचारमा हरेक मान्छेलाई शक्तिशाली हुने रहर र ढिप्पी (Nietzsche, The Will to Power, 1968)  हुन्छ ।  जसले सत्यको परिभाषा गर्छ, त्यो परिभाषाबाट उसले आफु शक्तिशाली बन्ने कुरो बिर्सेर वस्तुगत रूपमा कहिल्यै पनि परिभाषै गर्दैन भन्ने नित्सेको दृष्टि कोण छ । यसरी हरेक मान्छेले शक्तिशाली हुने प्रयत्‍न गर्नु स्वाभाविक हुन्छ भन्ने नित्सेका विचारले अस्तित्व वादी विचारलाई प्राण सञ्‍चार गरेका छन् ।

घ.     यास्पर्स (Jaspers, 1922 [1971]) ले प्रकाशित गरेको ‘साइकोलोजी अफ वर्ल्ड भिउज’ भन्ने किताब नै जर्मनीमा अस्तित्व वादको पहिलो किताब हो । यास्पर्सले आफ्नो त्यस किताबको टिप्पणी गर्न हाइडिगरलाई दिएका थिए । हाइडिगरको अस्तित्व वादको आफ्नै ‘बिइङ एन्ड टाइम’ भन्ने किताब चाहिँ यास्पर्सको यो किताब प्रकाशित भएको पाँच वर्ष पछि मात्र प्रकाशित भयो ।

जीवनका विसङ्गतिको सामना गरेर आफ्नो व्यक्तित्वलाई परिवर्तन गर्ने प्रक्रियाको नाम यास्पर्सले ‘दर्शनीकरण’ (फिलोसोफाइजिङ) भन्ने राखेका छन् । यास्पर्सका विचारमा जब मान्छेलाई आफ्ना परिस्थितिको सीमाबद्धता थाह भएर आफ्नो वैयक्तिक स्वतन्त्रता सङ्कटमा परेको बोध हुन्छ, त्यति वेला मात्र मान्छेलाई आफ्नो अनुभवातीत यथार्थको ज्ञान खुल्छ ।

किर्केगार्डले भने झैँ सामान्य परिस्थितिमा मान्छे आफ्नो व्यक्तित्व र अस्तित्व आफैँ निर्माण गर्न खुट्टा कमाउँछ अथवा अल्छी गर्छ । मान्छेको यस्तो अस्तित्वलाई किर्केगार्डको प्रभावमा यास्पर्सले अविश्वसनीय अस्तित्व ठानेका छन् र हरेक मान्छेले सजग भएर आफ्नो विश्वसनीय अस्तित्वको खोजी गर्नु पर्छ भन्ने दृष्टि यास्पर्सले राखेका छन् । ज्ञान भन्ने कुरो दिक्काल र मानवीय दृष्टि भित्र सीमाबद्ध हुने हुनाले मान्छेलाई जब आफ्नो समस्या र सीमाबद्धताको ज्ञान हुन्छ, त्यसै वेला मात्र उसको अस्तित्वका सम्भावनाहरूको ढोका खुल्छ । आफ्नै मृत्युको कल्पना र त्यसबाट मुक्तिको चाहना, आफुले पाइलै पिच्छे अरूको देखासिकी गरेर गल्ती गरेको जस्तो आफ्नै अपराधको बोध र आफ्नो जीवनमा आई लागेका हन्डर र ठक्‍करबाट नै सिक्‍न सक्यो भने मान्छेलाई आत्मबोध र वैयक्तिक स्वतन्त्रताको सम्भावना झल्झली देखिन सक्छ । परस्पर विरोधी मूल्यहरूका बिचमा छनोटको समस्या आई पर्दा नै यस्तो परिस्थिति आउँछ । यास्पर्सका विचारमा अस्तित्व भनेको आई लागेको समस्या समाधान गर्न र आफ्नो व्यक्तित्वको निर्माण गर्न स्वतन्त्र रूपमा घोरिएर आफु भित्रै आफ्नै सामर्थ्यको खोजी गर्ने रोजाइको परिणाम वा फल हो । अन्तर्द्वन्द्व, चिन्ता र निर्णयले मात्र मान्छेको अस्तित्वले साकार रूप पाउन सक्छ । अर्को मान्छेले तेर्स्याई दिएका आफ्ना परिस्थितिका तघाराले पनि मेरो अस्तित्व जगाउन सघाउँछ भन्ने यास्पर्सको विचार छ ।

ङ.     हाइडिगर (Heidegger, 1927 [1962]): को ‘बिइङ एन्ड टाइम’ भन्ने किताब नै साख्थेको ‘बिइङ एन्ड नथिङ्नेस’ भन्ने किताबको आदर्श नमुना हो । हाइडिगरले हुस्सेलको मनोरचना विज्ञानलाई अस्तित्व वादी मनोरचना विज्ञानमा परिवर्तन गरे । हाइडिगरका विचारमा कुनै वस्तुको अस्मिता (वा परिभाषा) भनेको नै मान्छेलाई त्यो वस्तु कसरी कुन काम लाग्छ भन्ने कुराबाट बन्छ, त्यसैले हाइडिगरको अस्तित्वको परिभाषामा मान्छेको अस्मितालाई सर्वोपरि स्थान दिइएको छ । उनका विचारमा मान्छेलाई कुनै पनि ढङ्गले काम नलाग्‍ने वा मान्छेसँग असम्बन्धित वस्तुको अस्मितै हुँदैन ।

हाइडिगरले विश्वसनीय र अविश्वसनीय अस्तित्वमा फरक छुट्याए जसको साइनो किर्केगार्डकै विचारसित छ । उनका विचारमा सामाजिक गतानुगतिकलाई विवेकपूर्वक नकेलाई स्वीकार गर्ने बानी नै मान्छेको अविश्वसनीय अस्तित्वको द्योतक हो; किन भने त्यसो गर्दा मान्छेको व्यक्तिगत स्वतन्त्रता चाहिँ धरापमा पर्छ र मान्छेको अस्तित्व दरो हुँदैन; त्यसो गर्दा मान्छेको निश्चित व्यक्तित्व बन्दै बन्दैन ।  विश्वसनीय अस्तित्व भएको मान्छेले मात्र आई लागेका विकल्पहरूका बिचमा आफ्नो बाटो रोज्न सक्‍ने स्वतन्त्रता आर्जेको हुन्छ, नत्र नियति र अरूले गरेको निर्णय स्वीकार गर्न मान्छे बाध्य हुन्छ । हाइडिगरका दृष्टिमा मृत्युदेखि जोगिन र आई लागेको सङ्कटबाट मुक्ति पाउन मान्छेलाई आतेस लाग्‍नु पर्छ र मान्छेले सचेत भएर मुक्तिको बाटो रोज्ने सङ्कल्प गर्नु पर्छ ।

च.     ‘बिइङ एन्ड नथिङ्नेस’ भन्ने कृतिका लेखक साख्थे (Sartre, 1943 [1956]) अस्तित्व वादका आधुनिक प्रणेता हुन् । उनले १९४५ मा साइमन द ब्यु सँग मिलेर अस्तित्व वादी आन्दोलनको घोषणा गरे र दुवै मिलेर अस्तित्व वादको मुख पत्र नै निकाले । साख्थेले पनि वैयक्तिक स्वतन्त्रता, आफ्नो जीवनका हरेक विषम परिस्थितिमा आत्मनिर्णयको रोजाइ र आफुले गरेका जस अब्जसको उत्तरदायित्वको वकालत गरे । यस लेखको सुरुमै उल्लेख गरिएका अस्तित्व वादका मुख्य विशेषता साख्थेकै विचारका आडमा बनेका हुन् । साख्थेका विचारमा अध्यात्मवादको सहारा नै नलिई मान्छेले आफ्नो व्यक्तित्वको आफैँ निर्माण गर्ने पद्धति अस्तित्व वाद हो, त्यसैले सामाजिक लोकाचारबाट आफुलाई विमुख पारेर यथा स्थितिलाई नकार्न सक्‍नु नै स्वतन्त्रता वा उन्मुक्तिको बाटो हो ।

अनुसन्धाताहरूले (Michelman, 2008) तुर्गेनेभ (१८६२) को ‘फादर्स एन्ड सन्स’ भन्ने उपन्यासलाई शून्य वादलाई पश्चिममा फैलाउने पहिलो कृतिका रूपमा चिन्छन् । यस उपन्यासमा तुर्गेनेभले सबै परम्परागत मूल्यलाई अस्वीकार गर्ने आह्वान गरेका छन् । त्यस उपन्यासमा तुर्गेनेभले व्यक्त गरेको विचार अनुसार परम्परागत नियम, कानुन, मूल्य र नैतिकता व्यक्तिगत स्वतन्त्रताका तघारा हुन्, त्यसैले यस उपन्यासमा तुर्गेनेभले  आत्मनिर्णयको वकालत गरेका छन् । तुर्गेनेभले यस उपन्यासमा व्यक्त गरेका उल्लिखित विचारहरू एकातिर किर्केगार्ड, हाइडेगर र साख्थे जस्ता अस्तित्व वादीका विचारहरूसित मिल्छन् भने अर्कातिर केही यस्ता विचारहरू तुर्गेनेभले यस उपन्यासमा व्यक्त गरेका छन् जसलाई मानिसहरू तुर्गेनेभ भन्दा धेरै पछिका दार्शनिक नित्सेका विचार भनेर चिन्दछन् ।

अर्कातिर कौफ्मन (Kaufmann, 1956) का विचारमा दस्तोएब्स्की (१८६४) को ‘नोट्स फ्रम द अन्डरवर्ल्ड’ भन्ने आख्यान पहिलो अस्तित्व वादी कृति हो, किन भने मान्छेको अस्तित्वको निर्माणका लागि चाहिने अपराध बोध, पीडा बोध र लज्जा बोध जस्ता कुराहरू दस्तोएब्स्कीको यस आख्यानको पात्रले व्यक्त गरेको पाइन्छ । काफ्का (१९१२-१४) ले आफ्ना उपन्यासमा व्यक्त गरेका विसङ्गति वादी विचारबाट कामु र साख्थे प्रभावित भएकाले समालोचकहरूले कहिले काहिँ काफ्कालाई पनि अस्तित्व वादीका रूपमा प्रस्तुत गरेका छन् । कामु (Camus, 1942 [1991]) (१९४० का दशक)  साख्थे, मार्लो पोन्टी र साइमन द ब्युका घनिष्ट मित्रतामा बाँधिएकाले समालोचकहरूले कामुलाई पनि अस्तित्व वादी ठानेका छन् । वास्तवमा कामु विसङ्गति वादी थिए । कामुको ‘मिथ अफ सिसिफस’ (१९४२) भन्ने विसङ्गति वादी निबन्धलाई पनि समालोचकहरूले अस्तित्व वादी विचारसित जोडेका छन् ।

अस्तित्व वादका माथि उल्लिखित विशेषताका आधारमा हेर्दा पूर्वीय दर्शन (Chatterji & Datta, 1939) मा चार्वाक् दर्शनले नित्से झैँ अनीश्वरवादी र सबै परम्परागत विचारलाई नपत्याएर आफ्नो विवेक प्रयोग गर्न सिकाउँछन् । बुद्धको दर्शन पनि अनीश्वरवादी र बुद्ध दर्शनको माध्यमिक सम्प्रदाय त शून्य वादी पनि छ । बुद्ध दर्शनले पनि दु:खले रन्थनिएकालाई आफु हिँडी रहेको बाटामा अडिएर हरेक दु:खको कारण हुन्छ, हरेक समस्याको समाधान छ र त्यसका लागि आत्मनिर्णय आवश्यक छ भन्ने सिकाउँछ । वास्तवमा अस्तित्व वादी दर्शनलाई आंशिक रूपमा सोपेन्हावरका विचारको प्रभाव थियो र सोपेन्हावर चाहिँ उपनिषद्‍बाट प्रभावित थिए भने एकातिर बुद्ध दर्शनमा चार्वाक् दर्शनको प्रभाव छ भने अर्कातिर नित्से पनि बुद्ध दर्शनको शून्य वादबाट प्रभावित छन् । त्यस्तै माथि उद्धरण गरिएको चाणक्य नीतिले एकातिर सामाजिक नैतिकता सिकाएको छ भने अर्कातिर आफ्नो अस्तित्वलाई सर्वोपरि महत्त्व दिएको देखिन्छ । चाणक्य नीतिले पनि अस्तित्व वादीले झैँ वैयक्तिकतालाई सर्वोपरि ठानेको देखिन्छ ।

Bibliography

Camus, A. (1942 [1991]). The Myth of Sisyphus and Other Essays. (J. O’Brian, Trans.) New York: Vintage.

Chatterji, S., & Datta, D. (1939). An Introduction to Indian Philosophy (3 [1948] ed.). Calcutta: Calcutta University Press.

Evans, C. S. (2009). Kierkegaard: An Introduction. New York: Cambridge University Press.

Flynn, T. (2006). Existentialism: A Very Short Introduction. Oxford, New York: Oxford University Press.

Heidegger, M. (1927 [1962]). Being and Time. (J. Macquarrie, & E. Robinson, Trans.) New York: Harper & Row.

Jaspers, K. (1922 [1971]). Philosophy of Existence. (R. F. Grabay, Trans.) Philadelphia: University of Pennsylvannia Press.

Kant, Immannuel. (1784 ). What is enlightenment? (J. Schmidt, Editor) Retrieved from http://www.columbia.edu/acis/ets/CCREAD/etscc/kant.html

Kaufmann, W. (1956). From Dostoevsky to Sartre. New York: Meridian Books.

Kierkegaard, S. (1987). Either/Or. (H. V. Hong, & E. H. Hong, Eds.) New Jersey: Princeton University Press.

Macann, C. (1993). Phenomenological Philosophers. New York: Routledge.

Michelman, S. (2008). Historical Dictionary of Existentialism. Toronto: Scarecrow Press.

Nietzsche, F. (1882-85 [1995]). Thus Spoke Zarathustra: A Book for All and None. (A. Kaufman, Trans.) New York: Modern Library.

Nietzsche, F. (1968). The Will to Power. (W. Kaufman, & R. J. Holingdale, Trans.) London: Weildenfeld & Nicholson.

Palmer, R. E. (1969). Hermeneutics: Interpretation Theory in Schleirmacher, Dilthey, Heidegger and Gadamer. Evanston: Northwestern University Press.

Sartre, J. P. (1943 [1956]). Being and Nothingness: An Essay on Phenomenological Ontology. (H. Barnes, Trans.) New York: Philosophical Library.

पोखरेल, म. प. (२०६९). पाश्चात्य समालोचनामा मनोरचना विज्ञान. In र. सुवेदी, & ल. प. गौतम (Eds.), रत्‍नबृहत् नेपाली समालोचना (सैद्धान्तिक खण्ड) (pp. १६६-१७३). काठमाडौँ: रत्न पुस्तक भण्डार.

 

 

 

 

Category: My Papers Nepali

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply