घिउ र खुकुरी साट्ने तमसुक !

By | January 25, 2014

(अन्नपूर्ण पोष्ट, ११ माघ २०६० शनिबार, पृष्ठ ६)

दुइटा ठगहरूले मित लगाएछन् । एक पल्ट एउटाले एक ठेकी घिउ बनाएछ । ठेकी वास्तवमा गोवरले भरेछ; ठेकीको माथि माथि मात्र एकदम मगमग बास्‍ना आउने सक्‍कली आलो घिउ खारेर हालेछ । उसका मितले चाहिँ एउटा कम्सल खालको फलामको पुरानो भुत्ते सिरु पाते खुकुरी बुइकलबाट निकालेछ र टल्किने कागजले मोरेछ र टलक्‍क टल्किने पारेछ । खुकुरीको दाप चाहिँ एकदम रहर लाग्दो बनाउन लगाएछ । आफ-आफ्नो माल बेच्न दुवै मित आफ्ना आफ्ना घरबाट निस्केछन् । अरूलाई ठग्‍न हिँडेका ! मितैसँग जम्काभेट भएछ । कुरो बुझ्दा एउटा मित घिउ बेच्न हिँडेको, अर्को मित खुकुरी बेच्न हिँडेको थाह भई गयो । सन्जोग कस्तो परेछ भने, घरमा घिउ बेच्ने मितलाई खुकुरीको एकदम खाँचो भई राखेको र खुकुरी बेच्ने मितलाई घिउको एकदम खाँचो भई राखेको ! दुइटै मितले अरूलाई बेच्नु भन्दा आफैँलाई दिने हत्ते हाले । मितसँग के पैसा लिनु ! दुवै जनाले सित्तैँमा घिउ र खुकुरी साटेछन् ।

चन्द्र शमसेरकी एउटी छोरीको बिहे उडिस्साको राजकुमारसित हुने भएछ । चन्द्र शमसेरलाई

आफु पनि महाराणा प्रतापको वंशज हुँ भन्ने देखाउनु परेछ अनि भारतको चित्तौरबाट वंशावली लेख्‍न सिपालु विशेषज्ञहरू झिकाएछन् । वंशावली लेख्‍न पोख्त मान्छेलाई वंशावली पो बुट्‍टा भरेर लेख्‍न आउँछ, चन्द्र शम्सेरका पुर्खाकै नाउँ कहाँबाट आओस् ! वंशावलीका विशेषज्ञलाई चन्द्र शम्सेरले आफुले थाह पाए सम्मका नाउँ त भने, महाराण प्रतापसँगै जोड्न पुग्‍ने वंशावली त भए पो उनलाई आओस् ! वंशावली लेखकलाई चन्द्र शम्सेरले आफैँ रोजी रोजी राम्रा राम्रा नाम हालेर महाराणा प्रतापसित वंशावली जोड भनेर लगाए अरे !

अहिले नेपालमा बल वीर हो कि वीर बलहरूले संविधान नाउँको खिचडी पकाउने अरे भन्ने सुनेको छु । चन्द्र शम्सेरले आफ्ना पुर्खाहरूको राम्रा राम्रा नाम राखेर आफैँ न्वारान गरे जस्तै वीर बलहरूले बनाउने संविधानमा सके सम्म राम्रा राम्रा आकर्षक शब्दहरू खोजेर जड्ने उद्योग भई रहेको छ । अघिल्लो संविधान सभामा मितहरूले घिउ र खुकुरी साटासाट गरे झैँ भयो, तर सबै पक्षबाट ठगिन चाहिँ नेपाली जनता नै ठगियो ।

म आफैँलाई ढाँटी रहेको छु । अब म सधैँ बिहान पाँच बजे उठ्छु भन्ने प्रतिज्ञा गरेर आफैँले ठिक्क पारेको अलार्म भोलि बिहान पाँच बजे बज्यो भने तपाईँलाई त्यो बन्द गर्न मन लाग्छ । पहिलो पल्ट ऐना हेर्नेले आफैँलाई चिन्दैन । पहिलो पल्ट टेप रेकर्डरमा रेकर्ड गरेको आफ्नै आवाज मैले चिन्न सकिन । नार्सिससले त आफुलाई राम्रै देख्छ नि ! झुसिल्किरो र पुतली एउटै हो भन्ने तपाईँलाई थाह छ ? ‘आत्मार्थे पृथिवीं त्यजेत्’ (आफ्नो स्वार्थका लागि संसारकै स्वार्थलाई पनि मायाँ मार्नु राम्रो) भन्ने चाणक्य नीति छ । मान्छेले आफुलाई चाहिँ व्यक्ति अरूलाई चाहिँ वस्तु ठान्छ भन्ने साख्थेको भनाइ छ ।  मैले पनि मोर्निङ वाक गर्ने प्रतिज्ञा गरेको छु, तर खालि कहिलेदेखि सुरु गर्ने भन्ने मात्र एउटा समस्या छ ।

नेपालमा थुप्रै श्रीमान्‌हरूले श्रीमतीहरू माथि अन्याय गरी रहेका छन् केही श्रीमतीहरूले श्रीमान् माथि पनि अन्याय गरेका छन्; थुप्रै बाबु आमाहरूले आफ्ना नाबालख छोरा छोरी माथि अन्याय गरी रहेका छन् र केही छोरा छोरीले बुढा र निस्सहाय आमा बाबु माथि अन्याय गरेका छन् । दाजु र भाइमा, दिदी र बहिनीमा, दाजु भाइ र दिदी बहिनीमा, छोरा र छोरीमा, लोग्‍ने र स्वास्‍नीमा, लोग्‍ने मान्छे र आइमाईमा, धनी र गरिबमा, सहरिया र गाउँलेमा, ठुला सहर र साना सहरमा, केन्द्र र मोफसलमा, पहाड, तराई र हिमालमा, शिक्षित र अशिक्षितमा, एउटा जाति र अर्को जातिमा, एउटा जात र अर्को जातमा, सेवाग्राही र सेवक सेविकामा, ठुला र सानामा, पूर्व र पश्चिममा, उत्तर र दक्खिनमा, डाडु पुन्यु हातमा लिन पाउने र नपाउनेमा, कर्मचारी र जनतामा, नेता र कार्य कर्तामा, ठग्‍ने र ठगिनेमा, हेप्‍ने र हेपिनेमा, पेल्ने र पेलिनेमा देशभरमा व्याप्‍त पक्षपात र भेद भाव कहिल्यै अन्त हुन सक्ला र ! मलाई विश्वास छैन । लोभ, चोरी, भ्रष्टाचार, बलात्कार, बहुविवाह, सौता हाल्ने सधैँ सम्भावना, लोग्‍नेले बिराउने स्वास्नीले दु:ख पाउने स्थिति, गल्ती नगरे पनि निम्सराले बलियाको गाली र कुटाइ खानु पर्ने अवस्था, वृद्धाश्रम र अनाथालयमा आमा बाबु पुर्‍याउने छोरा छोरी, अनि यस्तै असङ्ख्य नेपालीका समस्या संविधान नाउँको तमसुक लेखी दिँदैमा समाधान होला र ! तर घिउ र खुकुरी बेच्नेहरू चाहिँ कहिल्यै नटुङ्‌गिने राडो मच्‍चाई रहेका छन् ।

यस्ता वेलामा हामी दश बाह्र वर्ष लगाएर संविधान बनाउँदै छौँ, मिठा मिठा शब्दहरू खोज्दै छौँ, संविधान लेख्‍ने सुनको मसी ठिक्क पारी रहेका छौँ । वीर-बलहरू खिचडी पकाई रहेका छन् । आफ्नो दुनो सोझ्याउन अनि साथी र अरूलाई झुक्याउन, ठग्‍न र निहुँराउन सक्‍ने एउटा तमसुक लेख्‍ने तयारी भई रहेको छ ! नेपाली समाज वादको यस्तो नौलो संस्करण लेखिन लागेको त्यो तमसुकले माथि गन्ती गरिएका सबै पारस्परिक अन्यायलाई निमिट्यान्न पार्न सक्ला र !

मेरो अरूलाई देखाउने र आफैँलाई देखाउने अनुहार फरक छ स्टिभेन्सनको ‘डा. जेकिल र मि. हाइड’ झैँ एउटै पात्रका दुइटा अनुहार जस्तै । नेता, धर्म गुरु, आशाराम, निर्मल बाबा, जस्ता डा. जेकिलहरूलाई सकल अन्धविश्वासीहरूका तर्फबाट नमस्कार !  ट्राफिकले देख्ला ढोका थुन् ! उज्यालामा आदर्श, ओझेलमा अपराधी हुने प्रवृत्ति तपाईँ भित्र छ कि छैन? म भित्र छ । दश रुपियाका बिस ओटा अमला किन्नेलाई आफैँ गनेर लिन छोडी दियो भने गन्नेले एक्‍काइस ओटा लिन सक्छ ।

आमा, बाबु, गुरु, नेता, पुरेत, शङ्कराचार्य, न्याय मूर्ति, धर्म ग्रन्थ, कसैको उपदेश पनि अँध्यारो र ओझेलमा काम लाग्दैन भने, अनुशासनका सबै संहिताहरू खोक्रा लाग्छन् । उपदेश दिनेले नै आफुलाई र अरूलाई नैतिकताको बेग्ला बेग्लै भाग लगाएको हुन सक्‍ने खतरा छ । वात्स्यायन र फ्रायडको सराद गर्न ओझेलमा जो पनि ठिक्‍क पर्ने संभावना र खतरा छ । भारतमा बलात्कारीहरूलाई मृत्यु दण्ड दिने कानुन बन्दा पनि घटी रहेको छैन बलात्कार ! डार्विनले हामीलाई पशुका उत्तराधिकारी प्रमाणित गरेका छन् र फ्रायडले पनि त्यसैको समर्थन गरेका छन् । आफैँ भित्र पित्र भएर बसेको पशुलाई मार्न सकिने रहेनछ ! नेपालमा पनि मायाँलुको चलन बसाए यो समस्या केही घट्थ्यो होला !

अनुशासन र बलियो कानुनले मात्र मान्छे भित्रको पैत्रिक पशुलाई खोरमा थुनेर राख्‍न सक्ला कि ! नेपालीहरूको अनुशासन र नेपालको न्याय परम्पराले जुनसुकै वेला खोरबाट उम्किन जुर्मुराएको त्यस पशुलाई खोरमै थुन्न सक्ला भन्ने विश्वास गर्ने ठाउँ कति छ ? मैले आफ्नै व्यक्तित्व भित्रको अभिन्न दुर्दमनीय बलियो पशुलाई लङ्कामा हनुमान्‌ले चाहुन्जेल मात्रै नियन्त्रण गर्न सक्‍ने रावणले बाँध्‍न लगाएको दाम्लो जस्तो अनुशासनको लुते खोर भित्र बाँध्‍ने निरन्तर प्रयास गरी रहेको बिर्सेको छैन । आफ्नै अनुशासनको रेसमी आग्लो र न्यायपालिका र कार्यपालिकाका डरको धेरै भोल्टेजको बिजुली कोर्रा नभए, समाजमा डार्विन र फ्रायडको लुकुवा पशु तह लाग्‍न सक्तैन भन्ने मलाई लाग्छ । पुरै त के तह लाग्थ्यो होला !

कुनै पनि देशका न्यायालयको सिसिटिभी क्यामरा सबैका खोर भित्र लुकेको पशु र स्टिभेन्सनको मिस्टर हाइडलाई देख्‍न सक्‍ने गरी शक्तिशाली हुँदैन । हरेक मान्छेमा अरूले देख्‍ने गरी संवैधानिक र अरूले नदेख्‍ने गरी असंवैधानिक हुन सक्‍ने दोहोरो शक्ति छ । फ्रायडका कुरा पत्याउनु हो भने, मान्छेसँग संवैधानिक हुने सामर्थ्य भन्दा असंवैधानिक हुने सामर्थ्य कति हो कति बढ्ता हुन्छ । यस्तो तितो वास्तविकतामा ढाँट, चोर, ठग, फटाहा, जाली, अन्यायी, धोकेबाज र ज्यानमारा लुकेको देख्‍न सकिन्छ ? नचिनेको चोर बाबु समान ! ‘तित्रा, बट्‍टाई र भक्कुका राँगा’ झैँ अथवा ‘एक्स्पोर्ट क्वालिटी’ को कृषि, वन, भौतिक मणिमाणिक्य, कच्‍चा माल र कुखुराका चल्‍ला झैँ मानव तस्करबाट विदेशका वेश्यालयमा बेचिने गरिब नेपालीका छोरीको कहाली लाग्दो कथा र लाइसेन्स प्राप्त धेरै म्यानपावर कम्पनीहरूले बँधुवा बनाएर झुक्याउँदै विदेशमा निर्यात भई रहेका गरिब नेपाली युवाहरूको कन्तबिजोक सोझासाझा जनतालाई चार पाँच वर्षको अन्तरालमा झुक्याएर चुनाव जिते पछि मुलुकमा हैकम चलाउने लाइसेन्स पाएका राजनीतिक पार्टीहरूले यत्रो नाटक र नौटङ्की गरेर ताउरमाउर गर्दै बनाउने सङ्कल्प गरेको संविधानबाट अन्त्य हुन सक्छ भन्ने कुरो भर गरेर पत्याउन मलाई गारो परी रहेको छ । निर्वाचनमा मनपरी गर्न नपाएर चुनाव हार्ने र झुक्याउन सफल भएर जित्‍ने पार्टीका डाडु पुन्यु हातमा लिने र लुकेर मह काढ्ने नेताहरूले संविधान सभाको समानुपातिक सदस्यमा आफ्नै स्वास्‍नी, छोरा छोरी र आसेपासेको नाम पठाउनाले पार्टी भित्रै महमा हात गाड्न नपाउने नेता र कार्य कर्ता बिच न्याय गर्न सकेका छैनन् भने त्यस्ता पञ्‍चतन्त्रको ‘कङ्कणलुब्धपान्थ कथा’ का हिंसक स्वभाव भएकाहरूले मुलुकमा व्याप्‍त सबै अन्यायलाई निमिट्यान्न पार्ने संविधान बनाउन सक्लान् भन्ने कुरो कसैले पत्याउन सक्छ !

नेपालीहरू हरेक दश वर्षमा सुनौला अक्षरले निर्विकल्पक संविधान ‘अन्तिम पल्ट’ बनाई रहेका छन् । संविधान नाउँको त्यस पहाडे कागतको तमसुकले माथि औँला भाँचेर गनेका हेपाइ, थिचाइ, ठगाइलाई र ओझेलमा अन्याय गर्ने हाम्रो बेहोरालाई भुसकुट पार्न सक्ला भन्ने पत्यार मलाई चाहिँ लागेको छैन । जब सम्म हाम्रो अँध्यारो र ओझेलमा असंवैधानिक हुने बेहोराको अन्त्य हुँदैन, तब सम्म सधैँका लागि हाम्रो संविधान बनाउने कुचक्रको टुङ्गो लाग्दैन । धेरै देशमा संविधान लेखिएकै छैन । संविधानै नलेख्‍ने ती देश र हरेक दशकमा नयाँ संविधान लेख्‍ने गोरखधन्दामा लागेको हाम्रो देश मध्ये कुन चाहिँमा नागरिक अधिकार बढ्ता सुरक्षित छ ?

 

Category: My Papers

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply