नेपालको भाषिक सौन्दर्य (गोरखा पत्र, ११४ औँ वर्ष प्रवेश विशेषाङ्क, २०७१ साल वैशाख २४ बुध बार, ठ)

By | May 7, 2014

पछिल्लो राष्ट्रिय जन गणनाले नेपालमा १२३ ओटा भाषा भएको लगत अघि सारेको छ । नेपालका सबै मातृभाषाहरु पाँच ओटा महापरिवारमा बाँडिन्छन् : (क). कुसुन्डा, (ख). द्रविड, (ग). आग्‍नेय, (घ). भारोपेली आर्य, र (ङ). भोट बर्मेली । विश्वको भाषिक सम्पदामा नेपालका यी मातृभाषाले सांस्कृतिक र जैविक विविधता थपेका छन् ।

कुसुन्डाहरु आधार भूत रूपमा वनवासी हुन्, तर उनीहरुका भाषामा ‘हरियो’ रङ बुझाउने शब्द नै छैन, किन भने चारै तिर हरियो मात्र देख्‍ने कुसुन्डाहरुका लागि हरियो त रङै होइन । कुसुन्डाहरु आफुलाई पनि बाघलाई पनि ‘म्याक’ भन्दछन् । यसमा रमाइलो के छ भने, कुसुन्डाहरु आफुलाई ‘वन राजा’ भन्दछन्, अनि बाघ पनि वनको राजा मानिन्छ । कुसुन्डा भाषामा ‘मेरो हात’ भन्नु पर्‍यो भने ‘त्-आवै’, ‘तेरो हात’ भन्नु पर्‍यो भने, ‘न्-आवै’ र ‘अरुको हात’ भन्नु पर्‍यो भने ‘गिना आवै’ हुन्छ, किन भने कुसुन्डा भाषामा ‘ची’ (ती) भनेको ‘म’, ‘नु’ भनेको ‘तँ’ र ‘गिना’ भनेको ‘अरु’ हो । नेपालीमा ‘कचटतप’ जस्ता पाँच ओटा उच्‍चारण स्थान भए जस्तै कुसुन्डा भाषामा चाहि तिन ओटा मात्र उच्‍चारण स्थान छन् । कुसुन्डा भाषामा एकार र इकारमा, ओकार र उकारमा अनि अकार र आकारमा फरक त्यति पाइँदैन । यस्ता अनेक भाषिक बेहोराले कुसुन्डा भाषा अलग्गै रमाइलो छ । कुसुन्डा भाषा संसारको अरु कुनै भाषासित पनि मिल्दैन, तर हालसालै ह्वाइटहाउस भन्ने भाषा वैज्ञानिकले कुसुन्डा भाषाको साइनो पपुआ न्यु गिनीका अनेक भाषासित गाँस्‍ने प्रयास गरेका छन् । कुसुन्डा पुरुषहरुको वाई-क्रोमोजोम र आइमाईहरुको माइटोकोन्ड्रियल डिएनए हिन्द महासागरका अन्डेमन निकोबार, अस्ट्रेलियाको पर्थ र फिलिपिन र पपुआका टापुहरुमा बस्‍ने मानिसहरुसित मिलेको सूचना भर्खरै पाइन थालेको छ ।

सन्ताल र खडिया जस्ता आग्‍नेय परिवारका भाषामा सर्वनामीकरण पाइन्छ । क्रियामा कर्ता वा कर्म स्थानमा भएको सर्वनाम पूर्ण वा आंशिक रूपले टाँसिने प्रक्रियालाई भाषा विज्ञानमा सर्वनामीकरण भन्ने चलन छ । कुसुन्डा भाषामा चाहिँ खालि कर्ता स्थानमा आएको सर्वनाम मात्र क्रियामा टाँसिने प्रवृत्ति पाइन्छ, तर आग्‍नेय परिवारका भाषामा चाहिँ कर्ता र कर्म स्थानमा भएका सर्वनाम एकै चोटि र एक्‍ला एक्लै टाँसिन्छन् । यसै हुनाले ग्रियर्सन र कोनोले कुनै वेला सर्वनामीकरण आधार भूत रूपले आग्‍नेय परिवारको मौलिक विशेषता मान्थे । सर्वनामीकरण नेपालका लिम्बु, याक्खा, राई, हायु, मगर खाम, व्यासी, आदि भोट बर्मेली भाषामा पनि पाइन्छ । कर्ता र कर्म स्थानमा भएका दुइटै सर्वनाम क्रियामा टाँसिने सर्वनामीकरणलाई जटिल सर्वनामीकरण भन्दछन् भने कर्ता वा कर्म मात्र क्रियामा टाँसिने सर्वनामीकरणलाई चाहिँ सरल सर्वनामीकरण भन्दछन् । यस आधारमा मगर ढुट, भुजेल र धिमाल भाषा चाहिँ सरल सर्वनामीकरण भएका भाषा ठहर्छन् भने, लिम्बु, याक्खा, राई, हायु, चेपाङ, वनकरिया, मगर खाम, राजी र व्यासी भाषा चाहिँ जटिल सर्वनामीकरण भएका भाषा मानिन्छन् । दराई र मैथिली जस्ता भारोपेली आर्य भाषामा पनि जटिल सर्वनामीकरण पाइन्छ । ग्रियर्सन र कोनोको सिद्धान्त मान्ने हो भने अरु सबै भाषाको सर्वनामीकरण आग्‍नेय परिवारको प्रभाव हो, तर उनीहरुको यो सिद्धान्तको बाउमनले खण्डन गरी सकेका हुनाले आग्‍नेय बाहेक अरु भाषाको सर्वनामीकरण अब आग्‍नेय परिवारको प्रभाव मान्न सकिँदैन । आग्‍नेय परिवारबाट संस्कृत भाषामा थुप्रै शब्दहरु आएका हुनाले केरा, पान, सुपाडी, कदम, जस्ता नेपालीमा भएका अनेक शब्द पनि आग्‍नेय परिवारबाट आएका हुनाले पान, सुपाडी र केराको चलन नै नेपाललाई आग्‍नेय परिवारको देन मानिन्छ । चटर्जी, बाघ्ची र सेलुप्स्कीले आग्‍नेय परिवारबाट संस्कृतमा आएका निम्‍न लिखित शब्दहरुको सूची बनाएका छन् जसको साइनो निम्‍न लिखित नेपाली शब्दहरुसित छ : कौडी, कोरी (२०), अङार, कपाल, गोडो, छोटो, पेट, झाडी, चामल, सर्स्युँ, घण्ट, गैँडा, काग, भेडो, कुकुरलाई बोलाउने ‘चेई’, चम्चा, करौँती, बैगुन (भान्टा), कम्मल, सिमल, बाल, बाली, लिङ्ग, बाण, कपास, आदि । आग्‍नेय भाषा बोल्ने मान्छेहरुसँगको सम्पर्कबाट यी वस्तुसित जोडिने संस्कृति पनि नेपाल सम्म आई पुगेको बुझिन्छ । आग्‍नेय भाषा बोल्नेहरुको पुर्ख्यौली थलो प्रशान्त महासागरको आग्‍नेय कोण मानिन्छ ।

द्रविड भाषा बोल्नेहरुको पारिवारिक सम्पर्कले आर्य भाषाहरुमा ‘तुना’ र ‘टुना’ शब्दमा अर्थमा फरक पर्न थालेको हो । ह्विट्नीले ऋग्वेदमा भन्दा यजुर्वेदमा र यजुर्वेदमा भन्दा अथर्व वेदमा टवर्ग (ट,ठ,ड,ढ,ण) मिसिएका शब्द क्रमश: बढ्दै गएको हिसाबबाट द्रविड भाषा बोल्नेहरुसँगकै वैवाहिक सम्बन्धबाट दक्षिण एसियामा तवर्ग र टवर्गको वर्ण भेद विकास भएको निष्कर्ष निकालेका छन् । यस्तो वर्ण भेद नेपालका धेरै भोट बर्मेली भाषाहरुमा पनि विकसित भएको छ । नेपालमा एउटा मात्र द्रविड भाषा छ । द्रविड भाषा बोल्नेहरुको पुर्ख्यौली थलो भूमध्य सागर क्षेत्र मानिएको छ ।

नेपाली भाषा भारोपेली आर्य परिवारको भाषा हो । यस भाषाको एउटा रमाइलो विशेषता के छ भने ‘पानी परेको छ’ र ‘पानी परेछ’ (ज्ञात र अज्ञात) को फरक नेपाली बाहेक अरु कुनै पनि भारोपेली आर्य भाषामा पाइँदैन । यस्तो भेद आधार भूत रूपमा तुर्की, मङ्गोलियाली, जर्जियाली र तिब्बती, आदि भाषामा पाइन्छ । नेपाली भाषामा पनि अज्ञात भूतको विकास १७ औँ शताब्दीदेखि मात्रै भएको देखिन्छ । तिब्बतसँग निकट ऐतिहासिक र पारिवारिक घनिष्ठता भएका नेपाल र तिब्बतकै सिमाना छेउमा बोलिने भाषाहरु (तामाङ, गुरुङ, थकाली, घले, मनाङे, छन्त्याल, काइके, शेर्पा, ह्लोमी, आदि) मा त क्रियामा एउटा प्रत्यय मात्र जोड्दा अज्ञात भूत बन्दछ । यसरी अनार्य भाषाको प्रभाव एकातिर नेपालका आर्य भाषा आर्य भाषामा परी रहेको छ भने, अर्कातिर नेपाली जस्ता आर्य भाषाहरुको प्रभाव नेपालका अन्य परिवारका भाषामा परी रहेको छ । ‘गजडदब’ र ‘घझढधभ’ को फरकले अर्थ छुट्याउने भाषा संसारभरमा संस्कृत भाषा माउ मानिने नेपाली, हिन्दी, मैथिली जस्ता आर्य भाषा मात्र हुन्, तर नेपालका संस्कृतसँग पारिवारिक साइनै नभएका अनेक (भोट बर्मेली) भाषामा त्यस्तो वर्ण भेद विकास भएको छ । अर्कातिर भोट बर्मेली भाषाको प्रभावले जति पश्चिमबाट पूर्व तिर अनि दक्षिणबाट उत्तर तिर गयो, उति नेपाली भाषामा लिङ्ग भेद हराएर बोलचालमा ‘मेरो छोरो आयो’ र ‘मेरो छोरी आयो’ दुइटै चल्छ । दार्जिलिङको नेपाली भाषिकामा त लिङ्ग भेद पनि हराउँछ; वचनको भेद पनि हराउँछ र बोलचालमा ‘मेरो केटाहरु आउँछ’ र ‘मेरो छोरीहरु आउँछ’ चल्छ । भोट बर्मेली भाषाकै प्रभावले राजवंशी, बङ्गाली, मैथिली, जस्ता पूर्व तिरका आर्य भाषाहरुमा लिङ्ग भेद हराएको छ ।

कर्णाली प्रस्रवण क्षेत्रका डोटेली, अछामी, बझाङी, बाजुरेली, जुम्ली, दैलेखी र डँडेल्धुरेली मातृभाषामा क्रिया विशेषण र परस्थानिक वा विभक्तिको पनि लिङ्ग भेद हुन्छ (छोरो डाँडाम्मो बस्यो ‘छोरो डाँडामा बस्यो’: छोरी डाँडाम्मी बसी ‘छोरी डाँडामा बसी’: छोरा डाँडाम्मा बस्या ‘छोरा डाँडामा बसे) । संसारभरकै भाषामा क्रिया विशेषणको पनि लिङ्ग भेद भएको कर्णाली प्रस्रवण क्षेत्रका यिनै मातृभाषामा मात्र हो । यो बेहोरा नजिकैका बैतडेली, दार्चुलेली, कुमाउनी र भेरी क्षेत्रीय सिम्तालीमा पनि पाइँदैन ।

नेपालमा संस्कृतको राजनीतिक विरोध गर्ने रोग लागेको छ, तर नेपालका कुनै पनि मातृभाषाको विकास गर्नु हो भने संस्कृत शब्दको प्रतिशत ह्वात्तै बढ्न थाल्छ । संस्कृत नभएको भए, तिब्बतीको मानकीकरण गर्नै सकिने थिएन । रेडियो र गोरखा पत्रमा भर्खरै प्रयोग हुन लागेका मातृभाषामा संस्कृत शब्दको प्रतिशत ह्वार्ह्वारी बढी रहेको छ । यो अच्‍चम्म मान्नु पर्ने कुरै होइन, किन भने युरोपेली भाषामा वैज्ञानिक शब्द थप्‍नु पर्दा ग्रिक र ल्याटिन भाषाको शब्द कोश र व्याकरणले सघाउँछ; जापानी, कोरियाली, भिएत्‍नामी भाषामा शब्द थप्‍ता चिनियाँ भाषाको शब्द कोश र व्याकरणले सघाउँछ अनि दक्षिण एसियाका जुनसुकै भाषामा वैज्ञानिक शब्द थप्‍ता संस्कृत भाषाका कोश र व्याकरणको सहयोग नलिई धरै छैन, किन भने वैज्ञानिक र प्राविधिक शब्द बनाउने स्रोत भाषामा समास रचना गर्ने शक्ति र शब्द निर्माण गर्ने शक्ति बढ्ता चाहिन्छ । दक्षिण एसियामा संस्कृत बाहेक त्यस्तो शक्ति भएको अर्को भाषै छैन । नेपालको राजनीतिक मूर्खता चाहिँ आत्मघाती पाइला सार्न हिच्किचाउँदैन, किन भने विद्वान्‌हरु जुन काम गर्न डराउँछन्, मूर्खहरु बहादुरी पूर्वक त्यस्ता काम फत्ते गरी हाल्छन् । खालि राष्ट्रले र मुलुकको सरकार नाउँको संस्थाले चाहिँ मूर्खको पछि पछि हिँड्नु हुँदैन ।

जन सङ्ख्याका हिसाबले भारोपेली आर्य परिवारका भाषा बोल्ने मान्छे नेपालमा धेरै भए पनि भाषाको सङ्ख्याका हिसाबले चाहिँ भोट चिनियाँ भाषाहरु सबभन्दा धेरै छन् । भोट चिनियाँ भाषा बोल्नेहरुको पुर्ख्यौली थलो तिब्बतको ईशान कोणको माल भूमि हो, जहाँबाट पूर्वी एसियाका सबै जसो मुख्य नदीहरु उम्रेका छन् । कैलास मानसरोवरमा उम्रेको ब्रह्म पुत्र नदी पनि तिब्बतमा पश्चिमबाट पूर्व तिर हान्निँदै त्यसै माल भूमिको केही दक्षिण तिरबाट बग्दै असमको ईशान कोणमा पस्छ । चीनको ह्वाङ ह (पहेँलो नदी), छाङ च्याङ (लामो नदी वा याङ्सी), सिछुवान (चार खोला) बाट बग्‍ने चार ओटा नदी, कम्बोडिया र भिएत्‍नामको मिकङ, म्यान्मारको पूर्व तिरको साल्विन, जस्ता महत्‍त्व पूर्ण नदीहरु त्यसै माल भूमिबाट उम्रिन्छन् । त्यस मूल थातथलाबाट खोलै खोला एउटै जातिका सन्तानहरु विभिन्न बगालमा छरिएको जल यात्राको सिद्धान्त स्थापित भएको छ । चिनियाँ भाषाको विकास पहेँलो नदीका ब्याँसीमा भयो; लामो नदी र चार खोलाको ब्याँसीमा भोट बर्मेली भाषाको सार्वनामिक हाँगो विकसित भयो भने, त्यस माल भूमिबाट पश्चिम तिर लाग्‍ने भोट बर्मेली भाषाहरु चाहिँ तिब्बती र त्यसका भाषिका भए । यसरी आज नेपालमा बोलिने भोट बर्मेली भाषाहरुको मूल एउटै भए पनि ब्रह्म पुत्रको ब्याँसी मार्फत भारतको असम हुँदै हिमालयको काछै काछ पश्चिम तिर लाग्‍ने एउटा हाँगो र हिमालयका भन्ज्याङ नाघेर तिब्बतबाट सोझै नेपाल पस्‍ने अर्को हाँगो गरी दुई किसिमका छन् ।

ब्रह्म पुत्र ब्याँसी भएर हिमालयका ओढारहरुमा आफ्नो थातथलो बनाउने चाहिँ भोट बर्मेली भाषाको पुरानो हाँगो हो । यो पुरै हाँगालाई वैदिक साहित्य (तैत्तिरीय ब्राह्मण, शाट्यायनक ब्राह्मण, जैमिनीय ब्राह्मण, शतपथ ब्राह्मण, आदि) मा ‘किरात’ शब्द प्रयोग भएको छ । ति वैदिक ग्रन्थका आधारमा हिमालय मुन्तिरका पहाडी गुफामा बस्‍ने, ओखतीमुलो खोज्ने र सुँगुर वा बनेलको सिकार गर्ने जातिको साझे नाउँ ‘किरात’ बुझिन्छ। किथ र म्याक्डोनेलको वैदिक कोशमा दिइएको नक्सामा किरातहरुले बसोबास गरेको क्षेत्र भाषालाई ‘पाङ’ भन्ने रोल्पा र रुकुमका मगरहरुले आज ओगटेको ठाउँ (अर्थात् कर्णाली नदीको पूर्व पट्टि) लाई देखाइएको छ । आज पूर्वी नेपालका लिम्बु, याक्खा र राईहरुलाई चिनाइने किराँती शब्दले वैदिक कालमा व्यापक अर्थ समेटेको देखिन्छ । अचम्मको कुरो के छ भने, दार्चुलाका व्यासी, कैलालीका राजी, र रुकुम रोल्पाका मगरहरुले बोल्ने भाषाको बेहोरा किराँती भाषाहरुसँग एकदम धेरै मिल्छ ।

चिनियाँ नक्सामा नेपाल मास्तिर तिब्बतमा बग्‍ने ब्रह्म पुत्र नदीको नाउँ ‘तामाङ ह’ (तामाङ खोलो) भन्ने लेखिएको छ । यसबाट आज आफुलाई ‘तामाङ’, ‘तमङ’, ‘तमुङ’, ‘तमु’ भनेर चिनाउने तामाङ, गुरुङ, थकाली र छन्त्यालहरुको पुर्ख्यौली थलो त्यता रहेछ भन्ने बुझिन्छ । तिब्बत मूल थलो हुने भोट चिनियाँ भाषाको यो समूह भोटबाट नेपाल आई पुग्ने अरु सबै भाषाका वक्ता भन्दा पहिले आई पुगेको बुझिन्छ ।

यसरी नेपालमा आज बोलिने विभिन्न भाषाका वक्ताहरु कोही प्रशान्त महासागरका टापुबाट, कोही भूमध्य सागर क्षेत्रबाट, कोही तिब्बतको ईशान कोणको माल भूमिबाट आएका भए पनि एकातिर तिनीहरु आफ्ना आफ्नै भाषाका मौलिक सौन्दर्यको रक्षा गरी रहेका छन् भने, अर्का तिर तिनीहरुले एक अर्कालाई प्रभावित गरेर नेपालको भाषिक सौन्दर्य बढाई रहेका छन् र नेपालको सांस्कृतिक सौन्दर्यलाई धपक्‍कै बालेका छन् ।

Category: Nepali

About Madhav P Pokharel

Professor Emeritus (Linguistics), Tribhuvan University Chief Editor: जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास [Jagadamba Comprehensive History of Nepali Literature] (Ongoing project) President: Nepal Development Research Institute (NDRI) Japan Foundation Fellow (1994-95 and 2009-2010) President: Linguistic Society of Nepal (2000-2001)

Leave a Reply