श्रीमान्‌का रूपमा माधव पोखरेल

श्रीमान्‌का रूपमा माधव पोखरेल

शारदा पोखरेल

(प्रस्तोता : शैलजा पोखरेल)

धरानको विजयपुरमा जन्मनु भएका माधव पोखरेल लगभग १९ बर्षको हुँदा मसँग बिहे भएको थियो । उहाँकी दुलहीका रूपमा खोटाङ जिल्लामा जन्मेकी म करिव १६ बर्षकै उमेरमा २०२४ सालको असार १६ गते शारदा ओझा बाट पोखरेल भएकी थिएँ । उहाँसँगै जीवनका पैतालिस बर्ष बितेका बेलामा मेरा अगाडि आएका उतार चढाव रमाइला र सजिला भए भन्ने मेरो अनुभव छ । उहाँको जीवन साथी भएर मैले यतिका बर्ष बिताउँदा कतिपय ठाउँमा उहाँले चाहे जस्तो म भइन कि भन्ने सोच्तै र कतिपय ठाउँमा यो ठाउँमा म भएकाले नै उहाँ यस्तो हुनु भयो भन्ने सोच्तै मेरो जीवन अगाडि बढी रहेको छ ।

बिहे हुनु अगाडि मेरा बाबा र म धरान नजिकैको चकरघट्टी भन्ने ठाउँमा बस्थ्यौँ । आमा धेरै जसो खोटाङ नै बस्‍नु हुन्थ्यो; कहिले काहीँ मात्र चकरघट्टी आउनु हुन्थ्यो । मेरा भाइ बहिनी मेरो बिहे पछि धेरै भए पनि म बाबाकी चाहिँ एक्ली छोरी थिएँ । बाबा र म घोडा चढेर खोटाङ र तराई साथै हिँड्थ्यौँ । एक दिन पोखरेलजीकी आमा आफैँ मलाई माग्‍न वा हेर्न चकरघट्टीका मेरा घरमा आउनु भएको सम्झना छ । ममा केटाकेटी पन धेरै भएकाले हो कि त्यति वेला म सानै भएर हो बिहे र त्यस पछिको परिवर्तनका बारेमा मैले कल्पना गर्न पनि भ्याएकी थिएँ जस्तो मलाई लाग्दैन । मेरी सासुले पहिलो हेराइमा नै मेरो जिउको सामुद्रिक लक्षण हेरेर बिहे गर्ने कुरो टुङ्गो लगाउनु भएको रहेछ । बाबासँग म मात्र एक्लै भएर हो कि बाबालाई मन पर्ने खालको केटाको कुरो आएकाले हो, मेरो बिहे गरी दिने टुङ्गो बाबाले देख्‍ने बितिक्कै लगाउनु भएछ । त्यस बेला म (केटी) लाई मात्र हैन, केटालाई पनि यो केटीसँग बिहे गर्ने कि नगर्ने भनेर सोध्‍ने चलन थिएन ।

बिहेको कुरो पनि सासुले टुङ्गो लगाउनु भएकाले मैले बेहुला केटालाई बिहेको दिन भन्दा अगाडि देखेकी थिइन र कस्तो हुनु होला भन्ने अड्कल पनि गरेकी थिइन । एकै पटक बेहुलो भएर चतरामा बिहेको आगनमा आई पुगेका दिन देखेकी हुँ । सुटुक्क लुकेर हेर्दा कालो, दुब्लो, टक्रक्क अल्गो, घाँटी ‘एक हात’ लामो भएको माधव पोखरेल नामको आफ्नो बेहुलो मैले देखेँ । मलाई विरक्त लाग्यो । असार पन्ध्र गतेको बिहे भनेर टुङ्गो लागेको थियो तर केही सांस्कृतिक कारणले बिहे १६ गते गर्नु पर्‍यो । बिहे एक दिन पछि सरेको धरानमा बेहुलाका घरमा कसैलाई पनि थाह भएन । पन्ध्र गतेको लगन बेलुकाको थियो, १६ गते बिहान ९ बजेको लगन भएकाले धरानमा खालि बेहुली ढिलो पुगे पछि मात्र थाह भयो । त्यस पछि मात्र श्रीमानका रूपमा माधव पोखरेलसितको मेरो सहयात्रा सुरू भयो ।

धरानमा बेहुली लगेर पहिले धरान सिंहदेवीमा भएकी उहाँकी जेठी ठुलीआमाका घरमा एक छिन बसेर हामी विजयपुर गयौँ । ठुलीआमाको आवाज ठुलो रहेछ । बेहुली भएर आएका दिन त्यसै एक किसिमको डर मनमा थियो; झन उहाँको ठुलो आवाज सुनेर त मेरो सातो नै हराई हाल्यो ।

बिहे भए पनि अरूले देख्‍ने गरी श्रीमानको मुख हेर्न र बोल्न समेत सामाजिक प्रतिबन्ध र आफ्नै लाजले सकिँदैन थियो । मैले घर पट्टिका मान्छेलाई के कस्तो साइनो लगाउनु पर्ने हो, कसरी बोल्नु पर्ने हो र कसरी अरूका अगाडि हिँड्नु पर्ने हो भन्ने कुरो मलाई मेरी जेठानी दिदी (कल्पना) ले सिकाई दिनु हुन्थ्यो । त्यो दिनका तुलनामा आज धरान विजयपुर धेरै फरक परेको देखिन्छ । अब त्यस्ता छेकारा र बन्धनहरू धेरै खुकुला भएका देखिन्छन् । अहिले त बन्धनै छैनन् कि जस्तो पनि लाग्छ ।

हामी श्रीमान् र श्रीमती दुवै सँगै हिडेको भनेको पहिलो पल्ट ‘दुरान फर्काउन’ जाँदा मात्र थियो । त्यसमा पनि कान्छी नन्द (रम्भा) र एउटा भरिया साथै लगाएर धरानदेखि हिडेरै ३-४ घन्टाको बाटो हिँडेर चकरघट्टी गएका थियौँ । त्यस बेला भीमनगरमा कोशीको पुल बनाउन चाहिने ढुङ्गा धरान र चत्राबाट ओसार्ने रेलमा ढुङ्गा माथि बसेर मानिसहरू सित्तैँमा ओहोरदोहोर गर्थे । हामी पहिलो पल्ट चकरघट्टी गएको दिन त्यो रेल चलेन, त्यसैले पैदल हिँड्नु परेको थियो । पहिलो पल्ट श्रीमान् र म सिनेमा हेर्न बिहे गरेको करिब एक वर्ष पछि धरानको गणेश टाकिजमा गएका थियौँ, तर त्यति बेला पनि जेठानी दिदी साथै पठाइनु भएको थियो ।

असारमा हाम्रो बिहे भएको थियो । त्यसै वर्षको दसैँमा धरानको घोपादेखि चकरघट्टी जाने ढुङ्गे रेल चढेर टीका लगाउन माइती जाँदाको कुरो हो, हामी गफ गर्दै नै हिडी रहेका थियौँ । गफ प्राय घरकै बारेमा हुन्थ्यो । कहिले काहीँ उहाँ मलाई बाटामा देखेका कुराका बारेमा सोध्‍नु हुन्थ्यो । त्यही ढुङ्गे रेलमा काम गर्ने एकजना मैले राम्ररी चिनेका बिहारी थिए । ति बाबासँग हाम्रो घर पनि आउँथे ।  तिनलाई मैले भाइ टीकामा टीका पनि लगाई दिएकी थिएँ । उनी मेरो बिहेका बेला त्यहाँ थिएनन् त्यसैले मेरो बिहे भएको उनले थाह पाएका रहेन छन् । मेरा श्रीमानको अनुहार बिहारीको जस्तै देखेर मलाई एउटा बिहारीले भगाएर लगेको जस्तो उनलाई (एउटा बिहारीलाई) लागेछ र उनी हाम्रो पछि लागेछन् । भरे हामी आफ्नै घर गएको देखे पछि मात्र उनले छोडेको कुरो पछि उनले मेरी आमालाई सुनाएछन् ।

विजयपुरको घरमा धेरै उखु थियो । एक दिन हामी उहाँ, म र जेठानी दिदी घरको आँगनमा बसेर उखु खाँदै, गफ पनि गर्दै, हाँस्तै गरेको तर प्रत्यक्ष नबोलेर उहाँकी भाउजुलाई साँध लगाएर बोले जस्तो गरेर गफ गरी रहेको कुरो छिमेकीले देखेर आमालाई सुनाई दिएछन् र हामीले गाली पनि खाएका थियौँ । श्रीमानजी आमा-पिताजीलाई एकदम मायाँ र आदर गर्नु हुन्थ्यो र आमासित चाहिँ डराउनु पनि हुन्थ्यो । दिदी र मेरा लागि उहाँ सहयोगी हुनु हुन्थ्यो; घरको काम अलि अलि सघाउनु हुन्थ्यो, खास गरी घाँस काट्न। तित्री, काँचो आँप जस्ता अमिला कुरा खान घरमा सासुले देख्‍ने गरी खान पाइँदैन थियो, तर श्रीमानले नै घरका सबै काम सकिए पछि आमाले थाहा नपाउने बेला पारेर दिदी र मलाई त्यस्ता कुरा लिएर आई दिनु हुन्थ्यो । आमालाई सुनाई दिने डरले साना नन्द देवरले पनि नदेख्‍ने गरी खान्थ्यौँ । यस्तै बेलामा लुकी छिपी हामी साथी भएछौँ होला ।

केटाकेटीमा बिहे भएकाले म मात्र हैन उहाँ पनि धेरै नै लाज मान्नु हुन्थ्यो । जेठो छोरो जन्मेको सुनेर त लाजले उहाँ तल्लो बारीमा गएर लुक्‍नु पो भएछ । सिक्किमे हजुर आमा (लोचन भट्टराईकी हजुर आमा) ले उहाँलाई बधाई स्वरूप दुवो र फूल लगाई दिन खोज्नु भएछ, तर लाजले श्रीमान त बारीमा बाख्रा खेद्‍ने निहुँ तल्लो बारीमा भाग्नु भएछ र सिक्किमे हजुर आमाले दुई बिगाको बारी पुरै घुमाउनु भएछ । जिसु (जेठो छोरो) जन्मदा सम्म लाज धेरै थियो उहाँको; किन भने लाजले गर्दा नै हो छोराको अनुहार धेरै समय सम्म उहाँले हेर्नु पनि भएन । उहाँले जिसुलाई हेर्ने, नजिक आउनु भएको नदेखेर एक दिन मलाई जिस्क्याउन मन लाग्यो र मैले उहाँ पढेर बसी रहेका ठाउँमा चार महिनाको छोरालाई लगेर राखी दिएँ । कसो कसो गर्दा छोराले केटाकेटी हातले उहाँका खुट्टाको रौँ पकड्न भ्याएछ । दुख्यो कि के भयो ‘ए….ए…ए…’ भनेर आत्तिनु भयो ।

मैले भेट्ता उहाँले आइएस्सी पढ्न छोडी सक्‍नु भएको रहेछ । त्यति बेला नै घरमा र बजारमा केही विद्यार्थी पढाउनु पनि हुन्थ्यो, आफू चाहिँ आइए प्राइभेट पनि पढ्नु हुन्थ्यो । पढ्ने पढाउने काम धेरै भए पनि घरमा गाई वस्तुहरू थिए, घरमा काम सघाउने मान्छे नभएका बेलामा घाँस काट्ने र मुठा बनाउने समेत काम गर्न उहाँ दिदीलाई र मलाई सघाउनु हुन्थ्यो । सांस्कृतिक कारणले कहिले काहीँ भात पनि उहाँले पकाउनु पर्थ्यो ।

विसं. २०२७ सालमा अर्थ शास्त्रमा एम.ए. गर्न भनेर उहाँ काठमाडौँ आउनु भयो, तर आर्थिक स्थिति अनुकूल नभएर हो कि घरमा व्यवहार गर्ने पिताजी मात्र हुनु भएको र भाइ बहिनी पनि पढाउनु पर्ने भएकाले हो, उहाँले अर्थ शास्त्र पढ्न छोड्नु भयो । उहाँ फेरि फर्केर धरानै गएर त्यहाँको पब्लिक हाई स्कुलमा पढाउन थाल्नु भयो र साथै प्राइभेटबाट एकै पल्टमा एम.ए. (दुवै वर्ष) पास गर्नु भयो । अनि तिस साल तिरदेखि पहिले ६ महिना महेन्द्र क्याम्पस धरानमा र पछि धरान क्याम्पस हात्तिसारमा पढाउन थाल्नु भयो । स्कुल पढाउँदा देखि नै उहाँ एस.एल.सी.का विद्यार्थीहरू घरको दलानमा टिउसन पढाउनु हुन्थ्यो । बजारमा पनि त मारवाडीका घरमा पनि पढाउन जानु पर्थ्यो । यो क्रम २०४२ साल साउनमा धरान नछोडुन्जेल चली रह्यो ।

उहाँ सल्लाह आमासित मात्र गर्नु हुन्थ्यो । मसँग त्यति सल्लाह हुँदैन थियो । बरु उहाँ आफैँ निर्णय गर्नु हुन्थ्यो । हुन त म पढे लेखेकी थिइन, त्यति बुझ्दिन पनि थिएँ होला । उहाँलाई जनमत सङ्ग्रह पछि  धरान बस्‍न त्यति मन परी रहेको थिएन जस्तो मलाई लाग्छ; पढाई रहेको क्याम्पसमा पनि केही कारणले हो छोड्न मन गरी राख्‍नु भएको थियो र पिएच.डी. पनि गर्न मन लागेको थियो । त्यस्तैमा २०३८ सालमा पञ्‍चहरूको पोलले जनकपुर सरुवा भए पछि त्यसै निहुँमा उहाँले धरान छोड्ने निर्णय गर्नु भयो । खालि २०४२ सालमा मात्र उहाँले काठमाडौँमा सरुवा मिलाएर एकै चोटि धरान छोड्ने निर्णय सुनाउनु भयो । घरको बन्धनबाट फुक्का हुन पाइने हुनाले मलाई त्यो निर्णय मन नपर्ने कुरै थिएन । सबै जना काठमाडौँ आयौँ र कीर्तिपुरमा बसेका थियौँ । हामीसँग क्याम्पसको लेक्चररले कमाउने थोरै पैसा थियो; काठमाडौँको बसाइ; घरबाट आउने केही थिएन; सबै थोक किन्नु पर्ने र चार जना छोराछोरी सबै पढाउनु पर्ने थियो । त्यस बेला उहाँसँग भएको हिम्मतले मात्र मलाई आट दिन्थ्यो । छ जनाको ठूलो परिवार थियो; बढ्दो उमेरका केटाकेटी अनि क्याम्पसको आमदानी सजिलो त त्यस बेला पनि थिएन । फादर पल चेम्परती उहाँका विद्यार्थी थिए । उनकै सहयोगले उहाँ केही क्रिस्चियनहरूलाई पढाउनु हुन्थ्यो । त्यसले परिवार चलाउन अलि सजिलो बनाएको थियो ।

मलाई पढाउन उहाँले कम बल गर्नु भएको थिएन, तर धरानमा हुँदा मैले घरको काम सक्‍ता राति ८-९ बजी सकेको हुन्थ्यो; बिहान ३-४ बजे नै उठेर काम गर्न थाल्नु पर्थ्यो । त्यसैले थाकेर म पढ्न सक्तिनथेँ  र केही त लाज पनि लाग्थ्यो । खोटाङमा मैले पाँच कक्षासम्म पढेकी हुँ । त्यो भन्दा धेर नपढेकाले मलाई त्यसबेला अलि ग्लानि समेत लाग्थ्यो । म उहाँ जस्तो मानिसका लागि बनेकी हैन भन्ने मलाई धरानमा हुन्जेल लागी रहन्थ्यो । अहिले विचार गर्दा, पढेकी भए म उहाँको साथ अझ राम्ररी दिन सक्थेँ होला भन्ने लाग्छ । साथै मैले उहाँका घरमा आएर घरको सबै काम हेरेकी हुनाले उहाँले पढ्न सक्‍नु भएको हो भन्ने कुरा अलि सत्य हो जस्तो लाग्छ । भारतको उत्तर बङ्ग विश्व विद्यालयमा उहाँलाई त्यहाँका कलेजमा पढाउने गुरुहरूलाई नेपाली भाषा व्याकरण एक हप्ता पढाई दिन निम्तो आएका बेलामा म पनि साथ गएकी थिएँ। त्यो बेला एउटा कक्षा सकिए पछि सिक्किमकी प्राध्यापक डा. पुष्प शर्माले मलाई कति पढ्नु भएको छ भनेर सोधेकी थिइन् । मैले उहाँलाई जवाफ दिएकी थिएँ, ‘उहाँका छोरा छोरी र घरको काम गरी दिएर मैले श्रीमानलाई पढाएकी हुँ’ भन्ने जबाब दिएकी थिए ।

सं. २०४४ मा कीर्तिपुरबाट श्रीमान पिएच.डी. गर्न पुना जानु भयो । त्यस बेला म र तिनजना केटाकेटी धरान गएर बसेका थियौँ । जेठो छोरा (सुरेन्द्र ‘जिसु’) को पढाइले उसले काठमाडौँ नै बस्‍नु पर्‍यो । परिवारै तितर वितर भयो । धरानमा त्यसै बेला भुइँचालाले घर पनि लड्यो । त्यो बेला मेरो जीवनकै सबै भन्दा खराब पक्ष चलेको थियो क्यार ! मलाई आफू एक्लो भएको महसुस त्यसै बेला मात्र भयो, तर दुई वर्षमै पिएच.डी. गरेर उहाँ फर्कनु भएकाले त्योदुई वर्षे अन्धकार जान धेरै समय लागे पनि गई सके पछि त्यसको सम्झना पनि मैले धेरै गरिन । उहाँ फर्के पछि हामी फेरि काठमाडौँ आयौँ । डेरा खोज्नेदेखि सबै काम उहाँ नै गर्नु हुन्थ्यो । त्यस बेला (२०४६ सालमा) आएर सानेपामा बस्यौँ ।

पचास एकाउन्न सालदेखि उहाँ एउटा जापानी इन्जिनियर (माकोतो तागा) लाई टिउसन पढाउन थाल्नु भयो । पछि त जापानी दूतावास र जाइकाका धेरै जापानीहरू उहाँसँग पढ्न थाले । त्यस पछि भने हाम्रो आर्थिक समस्या सुल्झन थाल्यो । उनीहरूले नै सिकाई दिएका बाटाबाट जापानको कोबे विश्व विद्यालयमा हामी एक वर्ष बस्यौँ । त्यस पछि काठमाडौँमा जग्गा किन्न र घर बनाउन सकियो । छोराछोरीको बिहे पनि गर्ने बेला भएकाले त्यसबेला आधै छोडिएको घर अहिले सम्म पुरा गर्न सकिएको छैन । त्यस बेला धनले पुगेन, यस बेला उहाँको समयले पुगी रहेको छैन ।

आफ्ना खर्चले उहाँसँग म कमै घुमेकी छु । विसं. २०३४ सालमा म अलि धेर बिमारी भएकाले मेरो उपचार गर्न भनेर हामी विराटनगर गयौँ; २०३९ सालमा धरानबाट काठमाडौँ, पोखरा, लुम्बिनी हुँदै पाल्पा भएर धरानै पुगेका थियौँ । त्यस पछि काठमाडौँको त बसाइ नै भई हाल्यो । अनि ५१ साल र ६७ सालमा जापानको कोबे सहर दुई पल्ट पुगेँ । त्यस पछि म उहाँका साथमा उहाँको काम सँगै चीनको पेइचिङ अनि भारतका सिक्किम, आसाम, सिलिगुडी, दार्जिलिङ, कल्कत्ता, मैसुर, बेङ्लोर, तिरुपति, मुम्बई, पुना, दिल्ली अनि बनारससम्म पुगेकी छु ।

जापानमा बस्ता अरू विदेशीहरूमा पनि मेरा श्रीमानको प्रभाव देखेर खुसी भएँ । कति पय ठाउँमा त उहाँले आफ्नै गुरुलाई पनि सिकाए जस्तो मलाई लाग्छ । त्यहाँ भएका कोरियन तथा भारतीयहरू भन्दा उहाँ भाषा विज्ञान जान्ने नै हुनुहुन्थ्यो जस्तो देखिन्थ्यो । त्यहाँ भएका नेपालीहरूले त उहाँलाई उमेर र ओहोदाका कारणले सम्मान गर्थे । मैले त्यस बेला जापानी भाषा पनि केही सिकेकी थिएँ । एउटी जापानी भाषाकी गुरुआमा मलाई सिकाउन त्यहाँ घरै आउँथिन् । श्रीमानले यहाँबाटै सामान्य जापानी सिकेर जानु भएको थियो । उहाँले पनि मलाई सिकाउनु हुन्थ्यो तर मलाई पढ्ने काम अलि अप्ठ्यारै लाग्थ्यो । पहिले पहिले धरानमा हुँदा मलाई पढ् भनेर धेरै जोड गर्नु भएको थियो तर मैले केही लाज, पढ्दाका केही अप्ठ्यारा अनि घरको थकाइले पढ्न सकेकी थिइन । घरका सबै नन्द, देवर तथा छोराछोरीले मेरै अगाडि पढे । त्यस्तामा मैले पनि लेख्‍ने कोसिस गरेकी थिएँ, तर लाजले कसैलाई देखाइन । पिताजी (ससुरा) ले त्यो कपी भेटेर दराजमा राख्‍नु भएको रहेछ; उहाँ खसे पछि त्यो भेटिएको थियो ।

जापानको पहिलो बसाइमा हामीलाई छोराछोरी काठमाडौँमा छोडेर गएको पिर धेरै थियो । फेरि भुइँचालो पनि त्यसै बेला त्यहाँ  ठुलो गयो । त्यस बेला त्यहाँ राति सम्म टेलिफोन र बिजुली कटेको थियो । ग्याँसको सप्लाई पनि बन्द भयो; पानी त झन धेरै दिन सम्म आएन । त्यो दुखमा पनि एउटा रमाइलो अनुभव थियो । त्यहाँ सार्वजनिक नुहाउने कोठा (ओफुरो) लिएर आउँथे । केटाका लागि एक दिन र केटीका लागि एक दिन पालो हुन्थ्यो । त्यस्ता सार्वजनिक आहालमा जस्तो जन्म्यो त्यस्तै पस्‍नु पर्थ्यो । उहाँ त त्यहाँ नुहाउनु हुन्थ्यो तर म नुहाउँदिन थिएँ । मेरा लागि पानी दुवै जना भएर प्लास्टिकमा घरै पुर्‍याउथ्यौँ । पछि मेरो खुट्टो मर्केर उहाँले नै पानी भरी दिने गर्नु भयो ।

हामी चारै छोराछोरीको बिहे सके पछि चीन गयौँ । त्यहाँ दुई वर्ष बस्‍न भनेर गएको, एकै बर्षमा फर्केका थियौँ, तर त्यो बसाइ एक दम आरामदायी थियो । एउटा ठुलो पाँच चारे होटलमा हाम्रो क्वार्टर थियो । उहाँ र म दुवै जना मासु नखाने भएकाले बाहिरको खाने कुरो हामीलाई जापानमा झैँ अप्ठ्यारो भएको थियो । त्यसैले पकाउने काम हामी आफैँ गर्थ्यौँ । चीनमा जापानमा भन्दा धेरै नेपाली बोल्न पाइन्थ्यो । चिनियाँ अन्तरराष्ट्रिय रेडियोको श्रीमानको  काम साँझको भएकाले दिन भर साथै हुन्थ्यौँ । मलाई एक्लो जस्तो लाग्दैन थियो । परिवारको चिन्ता नभएर होला चीनको बसाइमा हामीलाई कसैको फिक्री थिएन । त्यहाँ पढ्ने कुरा धेरै छन् भनेर उहाँ चाहिँ सधैँ लाइब्रेरी जानु हुन्थ्यो । मलाई पनि घुमाई दिनु हुन्थ्यो । पेइचिङको नेपाली दूतावासमा पनि धरानकै राजेश्वर आचार्य राजदूत भएकाले धेरै जान्थ्यौँ । चीनको बसाइमा मैले राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई नजिकैबाट देखेँ र नजिकैबाट आफ्ना श्रीमानसँग बोलेको सुनेँ । मलाई आश्‍चर्य कति बेला लाग्यो भने, त्यस बेलाका नेपाली राजदूतले राजालाई उहाँको परिचय दिँदा राजाले ‘उहाँलाई म तपाईँलाई चिन्छु’ भने । तर कसरी ? मैले बुझ्न अझै सकेकी छैन । त्यहाँ श्री ५ वीरेन्द्रले उहाँलाई ‘तपाईँले नेपाल फर्कनु पर्छ’ पनि भनेका थिए ।

म अर्को पटक फेरि उहाँसँग जापानको कोबे सहरमा नै एक वर्षका लागि गएँ । त्यो बसाइमा केही चिन्ता थिएन, त्यसैले निर्धक्‍क घुम्यौँ पनि । नेपालमा नपाउने जस्ता तरकारी, फलफूल भेट्नु भयो भने उहाँ खुब खुसी भएर खानु हुन्थ्यो । यो बसाइमा कम्प्युटरको स्काइपले परिवारलाई नजिकै बनाई दिएको थियो । उहाँ विदेशको बसाइमा मेरो अनुवादक भएर त्यहाँका विद्वानहरूसँग मेरा कुरा गराउनु हुन्थ्यो । म हिन्दी बुझ्छु, त्यसमा बोल्न पनि थोरै थोरै सक्छु, अङ्ग्रेजीमा मोबाइल चलाउन सक्छु तर अरूसँग कुरा गर्नु पर्‍यो भने, म उहाँका माध्यमले सम्पर्क राख्‍न सक्छु ।

मलाई जीवनमा कहिले केहीका लागि पनि यस्तै गर्नु पर्छ भन्ने दवाव उहाँले दिनु भएको छैन, तर उहाँसँग केही कमी छ भने मसँग गफ गर्ने फुर्सद उहाँलाई छैन । जापान, चीन, भारत, नेपाल जहाँ भए पनि उहाँ पढ्न नै धेरै मन पराउनु हुन्छ । उहाँलाई भेट्न भनेर भारत, कोरिया, इटाली, अस्ट्रेलियादेखिका विदेशीहरू पनि घरमा आएका छन् । तिनलाई पनि त्यति नै समय दिनु हुन्छ, जति उहाँ आफ्ना यहाँका विद्यार्थीहरूलाई दिनु हुन्छ । घरमा अरू मान्छे आएका बेला बाहेक बेला उहाँ पढाइमै व्यस्त रहनु हुन्छ । नेपालमा भाषाहरूको के कस्तो छ मलाई थाह छैन, तर उहाँलाई भने नेपालका भाषाहरूको विकासको चिन्ता लागे जस्तो मैले बुझेकी छु । उहाँसँग कुनै दिन फुर्सदमा भेटेर घर व्यवहारका कुरा गरौँ भन्ने सोच राखेकी छु, तर अहिले रिटायर भएको एक बर्ष भई सक्यो तर पनि नयाँ पाङ्रा फेरेको गाडी जस्तै उहाँ दगुरी रहनु भएको छ; फुर्सदमा मैले भेटेकी छैन । म कहिले भेटुँला !

 

प्रस्तोताः शैलजा पोखरेल

Leave a Reply