नेपाली वैदिक वाङ्‍मयमा मदनमणि दीक्षितको ‘ऋग्वेद : प्रमुख सूक्तहरू’

            श्री मदन मणि दीक्षितले लेखेका वैदिक साहित्यमा आधारित पुस्तकहरू मात्रै पनि १० ओटा भइसक्‍न आँटेका छन् :

१. माधवी (२०३९, उपन्यास),     २. त्यो युग (२०४७, निबन्ध सङ्ग्रह), ३. विदुषी गार्गी (२०४९), ४. हाम्रा प्राचीन नारी (२०५०), ५. विश्वका प्रथम वैज्ञानिक उद्दालक आरुणि (२०५३), ६. अमृतत्त्व र कारुणिकता (२०५३, दार्शनिक चिन्तन), ७. भूमिसूक्त (२०५८, उपन्यास), ८. हिन्दू संस्कृतिको परिशीलन (२०५९), ९. श्री शाश्वत नारी (२०६५) र १०. ऋग्वेद : प्रमुख सूक्तहरू (प्रस्तुत)

वैदिक साहित्यमा दीक्षितजीको रुचि समाजमा नारीको स्थानमा विशेष रूपले केन्द्रित देखिन्छ । ‘माधवी’ उपन्यास उत्तर वैदिक कालमा प्रचलित नारी सम्बन्धी एउटा गम्भीर समस्यामा केन्द्रित छ । ‘त्यो युग’ मा अनेक सामाजिक, दार्शनिक र ऐतिहासिक आधारमा वैदिक र पौराणिक साहित्यको समीक्षा गरिएको छ । ‘विदुषी गार्गी’ मा ‘बृहदारण्यक उपनिषद्’ की एउटी नेपाली विदुषी गार्गीको माहात्म्य छ । ‘हाम्रा प्राचीन नारी’ मा वैदिक र पौराणिक कालका नारीहरूका महत्ता र समस्यामा समीक्षा गरिएको छ । ‘विश्वका प्रथम वैज्ञानिक उद्दालक आरुणि’ मा उपनिषद् कालका ऋषि उद्दालकको महत्ताको स्थापना गरिएको छ । वैदिक साहित्यको प्रसङ्ग ‘अमृतत्व र कारुणिकता’ मा पनि निरन्तर रहन्छ भने ‘भूमिसूक्त’ भन्ने उपन्यास लेख्‍न डेक्‍कन कलेजको पुस्तकालयमा विश्वामित्र सम्बन्धी अनुसन्धानको अध्ययन गर्न समेत उहाँ पुग्‍नु भएको थियो । पछि त्यसै उपन्यासले ‘भूमिसूक्त’ को बान्की पायो । यसरी एउटा आख्यान लेख्‍न मात्र पनि अनुसन्धानात्मक कृतिको अध्ययन गर्ने तपस्या उहाँबाट भएको देखिन्छ ।

वैदिक साहित्यमा पनि संहिता (ऋग्वेद, यजुर्वेद, साम वेद र अथर्व वेद), ब्राह्मण र उपनिषद् मध्ये उहाँका रचनाहरूले ब्राह्मण ग्रन्थमा त्यति रुचि राखेको देखिँदैन । उहाँको रुचि संहिता र उपनिषद्‍मै बढ्ता केन्द्रित देखिन्छ । संहितामा ऋग्वेद र अथर्व वेद सबै भन्दा रमाइला छन् । संहिताको मूल विषय साहित्य र उपनिषद्को मूल विषय दर्शन हो । दर्शन शास्त्रमा मदनमणिजीको अध्ययन प्रशंसनीय छ । उहाँ २०-२५ वर्षको उमेरदेखि नै दर्शन शास्त्रको अध्ययनमा तल्लीन हुने गर्नुहुन्थ्यो भन्ने कुरो उहाँको जीवन वृत्तान्त हेर्दा थाह हुन्छ । कार्ल मार्क्सको द्वन्द्वात्मक भौतिकवादमा आधारित दर्शनबाट जीवनको ३०-३५ वर्ष उहाँ अनुप्राणित हुनुभयो । विज्ञान, दर्शन र अरू साहित्यको साथसाथै राहुल सांकृत्यायनका कृतिको स्वाध्ययन र चिन्तनले गर्दा परस्परमा असम्बन्धित भए पनि दुइटा तथ्यलाई जोडेर निष्कर्ष निकाल्ने अभ्यास मदनमणिजीको तिक्खर भएको हुन सक्छ । अर्का तिर ३०-३५ ओटा देशको भ्रमणले पनि चिन्तनको आयाम फराकिलो पार्नु स्वाभाविकै छ । पत्रकारिताको लामो अनुभवले पनि उहाँको सामान्य ज्ञान फराकिलो पारेको अड्कल गर्न सकिन्छ ।

यसरी फराकिलो अध्ययन, भ्रमण र अनुभवबाट बटुलेका सूचनालाई दर्शन र चिन्तनले सघन बनाएर मदनमणिजीले विश्वामित्रले झैँ अतीत र आदर्शको एउटा आफ्नै छुट्‍टै सत्य लोकको पुनर्निर्माण गर्नु भएको छ । सत्यमा पनि जेठकान्छी हुन्छ : सुनेको र पढेको सत्य कान्छो सत्य हो । अनुभवबाट कमाएको सत्य त्यो भन्दा माथिल्लो स्तरको सत्य हो । गणित र विज्ञानबाट प्रमाणित हुने सत्य अनुभवबाट कमाएको सत्य भन्दा अग्लो हुन्छ । दार्शनिक सत्य गणित र विज्ञानबाट प्रमाणित हुने सत्य भन्दा उच्‍च स्तरको हुन्छ अनि काल्पनिक र साहित्यिक सत्य चाहिँ सबै भन्दा माथिल्लो स्तरको सत्य हुन्छ । मदनमणिजीले सबै किसिमका सत्यसँग साइनो राख्‍ने पाठकको बेग्ला बेग्लै परिवार बनाउनु भएको छ । उहाँको पत्रकार व्यक्तित्वले पाठक सम्म फिँजाएको सत्य सबै भन्दा कान्छो स्तरको सत्य हो । विज्ञानबाट अनुप्राणित भएका उहाँका रचनाहरूले त्यो भन्दा माथिल्लो स्तरका पाठकहरू खोज्दछन् । उहाँका दार्शनिक लेखहरूले वैज्ञानिक लेखहरू बुझ्ने भन्दा माथिल्लो दर्जाका पाठकहरू खोज्दछन् । मदनमणिजीले पुनर्निर्माण गर्नु भएको यथार्थ त्यति मात्रले सिद्धिँदैन । उभ्रिएको सबै खालको यथार्थलाई पाठक सम्म पुर्‍याउन मदनमणिजी कथा, उपन्यास र निबन्ध जस्ता साहित्यिक विधाहरू समाउनु हुन्छ । ती विधाहरू मध्ये उपन्यासलाई उहाँले आफ्नो भाव विस्तारको सबभन्दा गतिलो माध्यम बनाउनु भएको छ र नेपाली उपन्यास परम्परामा मदनमणिजीले आफ्‍नो छुट्‍टै विश्वामित्र लोक बनाउनु भएको छ । उहाँले सम्प्रेषण गर्न खोज्नु भएको यथार्थलाई पूर्ण रूपले समात्‍न सक्‍ने साहित्यका पाठकहरू नै उहाँका उच्‍च दर्जाका पाठक हुन् । उपन्यास र कथा जस्ता आख्यानमा रमाइलो चाहिँ के हुन्छ भने, जुनसुकै दर्जाका पाठकले पनि आफ्‍नो दर्जा अनुसारको अर्थ ग्रहण गरिहाल्छन् । यस दृष्टिले ऋग्वेदका रोजिएका सूक्तहरूको अनुवाद गरिएको प्रस्तुत ग्रन्थ विद्वान् लेखकको सबै भन्दा माथिल्लो दर्जाका पाठक खोज्ने ग्रन्थ होइन जस्तो लाग्छ ।

ऋग्वेद संसारभरका भाषामा अद्वितीय ग्रन्थ हो । ऋग्वेद जति नै विस्तृत र त्यत्तिकै पुरानो ग्रन्थ संसारमै अर्को छैन, यसैले गर्दा ऋग्वेदको अध्ययन संसारभरका अनुसन्धाताले गरेका छन् । मदन मणि दीक्षितले प्रस्तुत ग्रन्थमा ऋग्वेदका १७० ओटा जति सूक्तको भावानुवाद गर्नु भएको छ । पूरै ऋग्वेद संहितालाई अष्टक, मण्डल, अध्याय, अनुवाक, सूक्त र ऋचामा बाँडिएको छ । ऋग्वेदमा श्लोकलाई ‘ऋचा’ भन्ने चलन छ । चार ओटा वैदिक संहितामा ऋग्वेद नै सबै भन्दा ठूलो छ । त्यस पछि क्रमश: अथर्व वेद, यजुर्वेद र सामवेद आउँछन् ।

भाषा वैज्ञानिक दृष्टिले पनि ऋग्वेद सबै भन्दा पुरानो, त्यस पछि यजुर्वेद र सबै भन्दा कान्छो अथर्व वेद ठहरिएका छन् । साम वेदमा ऋग्वेदको नवौँ मण्डलका धेरैजसो ऋचाहरू गायनका लागि बटुलिएका छन् अनि अथर्व वेद तुलनात्मक रूपले ऋग्वेदको १० औँ मण्डलसँग मिल्छ, तर अथर्व वेदमा मन्त्र, तन्त्र र अभिचार वा टुनामुना धेरै छन् । यी सबै दृष्टिले वैदिक संहितामा ऋग्वेदको विशेषता प्रमाणित हुन्छ ।

वैदिक संहिताकै व्याख्या र विश्लेषण गर्न संस्कृत वाङ्‍मयमा शिक्षा वा प्रातिशाख्य (ध्वनि विज्ञान), कल्प सूत्रहरू, व्याकरण, निरुक्त (वा व्युत्पत्ति शास्त्र), छन्द शास्त्र वा सङ्गीत, ज्योतिष, आयुर्वेद, ब्राह्मण ग्रन्थ (वा कर्मकाण्ड) र उपनिषद् (दर्शन शास्त्र) जस्ता अनेक विद्याहरूको विकास भएको पाइन्छ । यी सबै विद्याको मूल खोज्न पनि ऋग्वेद सम्म पुग्‍नु पर्ने हुन्छ । यसरी एक किसिमले समग्र भारतीय विद्याको मूल जरो ऋग्वेदमा छ भन्न सकिन्छ ।

ऋग्वेद त मध्य एसियादेखि सप्त सिन्धु (मोटामोटी रूपमा पञ्जाब) सम्म अनि दसौँ मण्डलमा गङ्गा नदी सम्म बसोवास गर्ने मूलत: आर्य जाति मात्रको साहित्य हो । यजुर्वेद र साम वेदका बारेमा पनि यस्तै कुरो भन्न सकिन्छ, तर अथर्व वेद, शतपथ ब्राह्मण, उपनिषद् र पुराणहरूमा वैदिक संहितामा भन्दा भारतीय उपमहाद्वीपको अवैदिक प्राचीन विद्या उत्तरोत्तर रूपमा मिसिँदै गएको पाइन्छ । समय जति बित्तै गयो, त्यति परम्परागत र तात्कालिक दक्षिण एसियाली विद्याको र सामाजिक सांस्कृतिक मात्रा संस्कृत वाङ्‍मयमा बढ्दै गएको पाइन्छ ।

ऋग्वेदमा दीर्घतमा ऋषिका पाँच पुस्ताले ऋचाहरू लेखेको पाइने हुनाले एक पुस्तालाई २० वर्ष मान्दा समग्र ऋग्वेदका सूक्तहरू लेखिसिध्याउन कम्तीमा सय वर्ष लागेको अड्कल गर्न सकिन्छ । यस बीचमा वैदिक आर्यहरूले ढाकेको क्षेत्र अफगानिस्तानको कुभा नदीदेखि पछि भारतको गङ्गा नदी सम्म पाइन्छ । धेरैजसो ऋचाहरू पञ्जाबमा रचना गरिएको बुझिन्छ । कति ऋचा चाहिँ आर्यहरू मध्य एसियामै हुँदा लेखिएको अड्कल गर्न पनि सकिन्छ ।

ऋग्वेदमा वशिष्ठ ऋषिको कपाल मध्य एसियाकै मान्छेको जस्तो कैलो छ । अलेक्सान्द्र बेलेनित्स्की (१९६९ई) र भिक्टर मायर (१९९८ई) जस्ता पुरातत्त्वविद्ले दक्षिण तुर्कमेनियामा ऋग्वेदसित सम्बन्धित धेरै पुरातात्त्विक सामग्री फेला पारेका छन् । मायरको पुरातात्त्विक अध्ययनबाट ऋग्वेदमा पाइने तामा र काँस जस्ता धातु, घोडा, गाई र भेडा जस्ता जन्तु, जौ र गहुँ जस्ता अन्न, अश्वमेध यज्ञ, सोमलताबाट सोमरस बनाउने प्रविधिसित मिल्ने सामग्री, धनुष काँड, बज्र र बन्चरो जस्ता हतियार अनि अनेक सांस्कृतिक वस्तु, इन्द्र, सूर्य, अग्नि र वरुण जस्ता देवता, रथ जस्ता सवारी साधनका दसी मध्य एसियाको दक्षिण भागमा फेला परेका छन् । यी दसीहरूले ऋग्वेदकालीन आर्यहरूका निकट-पूर्वी स्थल तिर सङ्केत गर्छन् ।

आज हामी हिन्दु र वैदिक धर्मसँग नङमासु भएर मिलेका जति कुराहरू चिन्दछौँ, ऋग्वेदको अध्ययन गर्दा फरक चित्र देखिन्छ । अहिलेका हिन्दुहरूका प्रसिद्ध देवता शिव ऋग्वेदमा छैनन् । शिव लिङ्ग पूजा गर्नेहरूलाई ऋग्वेद भरि गाली गरिएको पाइन्छ । विष्णुको भूमिका ज्यादै कम मात्रामा पाइन्छ । पुराणहरूमा इन्द्र अत्यन्त कमजोर अनि पटकै पिच्छे विष्णु र शिव गुहार्ने देखिन्छन्, तर उनी ऋग्वेदका सबभन्दा ठूला देवता हुन् । ऋग्वेदमा इन्द्रलाई खुसी पार्न विष्णुले १०० ओटा भैँसीको मासु पकाएको प्रसङ्ग आउँछ । ऋग्वेदमा पूजा गरिने ऋभु (घोडा), भ्यागुताहरू, विश्वेदेव, उषा, त्रित, अश्विनी, कुत्स, पर्जन्य, धाता, त्वष्टा र ब्रह्मणस्पति जस्ता धेरै देवताहरूको नाउँ पनि आजका मै हुँ भन्ने धेरैजसो पण्डितहरूलाई समेत थाह नहुन सक्छ । पुराणहरूमा देवताहरूलाई ‘सुर’ र राक्षसहरूलाई ‘असुर’ शब्दले चिनाउँछन्, तर ऋग्वेदको दोस्रो मण्डल (२।१।६) र ८ औँ मण्डलमा इन्द्र (८।९०।६), सूर्य (८।१९।२३), वरुण (८।४२।१), र देवगण (८।२७।२०) का लागि पनि ‘असुर’ शब्द प्रयोग गरिएको पाइन्छ । ऋग्वेद कालदेखि आज सम्म हाम्रा धेरै देउताहरू साटिइसकेका छन्, धेरै चलनहरू फेरिइसकेका छन् र हाम्रो खानपानमा पनि धेरै परिवर्तन भइसकेको छ । इन्द्रले खाए भनेर आजका हिन्दुहरू घोडा र गोरुको मासु पनि खाँदैनन्; वामदेवले ज्यान जोगाउन कुकुरका आन्द्रा खाए (४।१८।१३) भन्दैमा कुनै पनि हिन्दु र धेरै दक्षिण एसियालीहरूले आँट गर्न सक्तैनन् ।

आज भारतीय उपमहाद्वीपमा पाइने गोरुगाडाको चलन ऋग्वेद (४।३२।२४) मा पनि पाइन्छ । भैँसीको मासु खाने चलन ऋग्वेदमै पाइन्छ । काठमाडौँ उपत्यकामा जति राँगा आज संसारभरमा कतै पनि काटिँदैन होला । काठमाडौँको इन्द्रध्वजोत्सव वा इन्द्रजात्राको बीज ऋग्वेदमै खोज्न सकिन्छ । घोडा रथमा दाएको उल्लेख त ऋग्वेदमा जताततै पाइन्छ, तर वैदिक साहित्यमा घोडा चढेको कतै पनि पाइँदैन । ऋग्वेद कालमा गाईलाई खुट्‍टामा छाँद लगाएर बाँध्‍ने चलन (४।१२।६) पाइन्छ । अनार्य नमुचिले आइमाईहरूको सेना (५।३०।९) बनाएको भेटिन्छ । आसङ्गको दुई पल्ट लिङ्ग परिवर्तन (पुरुषबाट स्त्री र स्त्रीबाट पुरुष) भएको (८।१।३४) र प्रायोगिको एक पल्ट लिङ्ग परिवर्तन भएको (८।३३।१७) उल्लेख पाइन्छ । अश्विद्वयको तीन चक्‍के रथ थियो । ऋग्वेद (२।१७।७) मा अविवाहिता छोरीलाई अंश दिने चलन पनि पाइन्छ । ऋग्वेद (७।३३।१३) मा परीक्षण नली शिशुको कल्पना गरिएको छ । प्लास्टिक सर्जरीको प्रसङ्ग अश्विद्वयले विश्पलालाई फलामको खुट्‍टो हालिदिएको बयानमा आउँछ । काव्यात्मक, दार्शनिक र समाजशास्त्रीय दृष्टिले पनि ऋग्वेदको वैज्ञानिक अध्ययन महत्त्वपूर्ण छ । ऋग्वेदको आध्यात्मिक भन्दा भौतिकवादी अध्ययनले धेरै महत्त्वपूर्ण कुरा फेला पर्छन् भन्ने मलाई लाग्छ ।

बाह्रौँ शताब्दीमा काश्मीरमा लेखिएको राजतरङगिणी भन्दा अगाडि सम्म भारतीय उपमहाद्वीपका गुरु परम्परामा इतिहासको वस्तुगत अनुसन्धानमा रुचि देखिँदैन । एसियामा त्यो रुचि चीनमा अद्वितीय देखिन्छ, किन भने चीनमा ५००० वर्षदेखिको अटुट वस्तुगत इतिहास पाइन्छ । भारतीय गुरुकुलको रुचि चीन र ग्रिसको जस्तो वस्तुगत इतिहास तिर पाइँदैन । खालि पाश्चात्य विदेशी इतिहासकार र पुरातत्त्वविद्ले स्थापित गरेका मान्यतामा भारतीय इतिहासको काल निर्णय टिकेको छ । यस समस्याले गर्दा बलदेव उपाध्याय जस्ता भारतीय अनुसन्धाता र कीथ जस्ता पाश्चात्य इतिहासकारको काल निर्णयमा धेरै फरक परेको पाइन्छ । ऋग्वेदको मिति नै पनि बाल गङ्गाधर तिलकको र टी बरोको कति हो कति मिल्दैन । ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद जस्ता वैदिक संहिताको समय मात्र होइन, प्रातिशाख्य, सूत्र ग्रन्थहरू, ब्राह्मण ग्रन्थहरू, उपनिषद् र निघण्टु जस्ता उत्तर वैदिक साहित्यको समय पनि भारतीय र पाश्चात्य विद्वानको मिल्दैन । पाणिनि र शाकटायन जस्ता वैयाकरणको समय बारे पनि मतैक्य पाइँदैन । पौराणिक साहित्यको समय त भारतीय जन विश्वाससँग कति हो कति फेर पर्छ ।

भौगर्भिक र पुरातात्त्विक वस्तुहरूको काल निर्णय गर्न रसायन विज्ञानले पोटासियम-आर्गन विधि र कार्बन-१४ विधि जस्ता अनेक विधिहरूको आविष्कार गरेको छ । बेग्ला बेग्लै वस्तुको काल निर्णयमा तिनीहरू प्रभावकारी हुन्छन् । पाँच-छ हजार वर्ष सम्मको काल निर्णय गर्न कार्बन-१४ विधि नै प्रभावकारी मानिन्छ । प्रोफेसर लालले ‘पेन्टेड ग्रे वेयर’ (ईपू ९००) लाई महाभारत काल मानेका छन् । फादर कामिल बुल्केले उनको पिएचडी शोध प्रबन्ध ‘रामकथा’ मा ‘रामायण’ को बीज ईपू ४०० मानेका छन् । यसरी रामायणको मूल कथा महाभारतको भन्दा पछाडिको देखिन आउँछ । बुल्केले ‘महाभारत’ मा भएको ‘रामोपाख्यान’ लाई अहिले पाइने ‘बाल्मीकीय रामायण’ को पाठ भन्दा पुरानो ठहराएका छन् ।

ऋग्वेद र महाभारतमा अनेक उपाख्यानहरूमा मेल पाइन्छ । विश्वामित्र, भरद्वाज, वशिष्ठ, अगस्त्य, कण्व, बृहस्पति, अत्रि, उर्वशी र पुरुरवा, बालखिल्य, कश्यप, नारायण, वेन, जमदग्नि, इन्द्र, शक्ति, सूर्य, सरस्वती, शुन:शेप, वैवश्वत मनु, यम, अम्बरीष, विश्वकर्मा, शची, ययाति, यदु, पुरु, द्रुह्यु, अनु, तुर्वश (महाभारतमा तुर्वसु), भरत, शम्बर, गोतम (महाभारतमा गौतम), नहुष र मान्धाता जस्ता अनेक पात्र दुवै ग्रन्थमा पाइन्छन् । महाभारतमा पूरै उपाख्यान हुन्छ, तर ऋग्वेदमा ती उपाख्यानको सङ्केत मात्र पाइन्छ । के लाग्छ भने, ऋग्वेद काल भन्दा अगाडिदेखि नै मध्य एसिया र सप्त सिन्धुमा चलिरहेका अनेक लोक कथाहरूको सँगालो महाभारतमा पाइएको हो ।

नेपाली पाठकहरूलाई वैदिक साहित्यको रसास्वादन गराउने काममा अत्यन्त थोरै मात्राका विद्वानहरूको सहभागिता छ । त्यसमा पनि आख्यानको रसिलो माध्यम र निबन्धको वैचारिक र दार्शनिक प्रस्तुतिबाट नेपाली पाठकको वैदिक साहित्य तिरको सामान्य ज्ञान र रुचिलाई बढाउने काममा मदनमणिजीको जोडा नै छैन ।

यस परिप्रेक्षमा ऋग्वेदका रोजिएका सूक्तहरूको भावानुवाद गरिएको प्रस्तुत ग्रन्थबाट पनि उहाँका पाठकहरूको एउटा वृत्त निश्चित रूपमा लाभान्वित हुन्छ र वैदिक साहित्यको नेपाली ग्रन्थका रूपमा यसले आफ्नो फरक इतिहास बनाउँछ भन्ने मेरो विश्वास छ । माथि लेखो गरिएका अनेक ग्रन्थहरूले वैदिक कालीन समाज, संस्कृति, दर्शन, आदर्श, श्रेष्ठता र समस्याका विषयमा थुप्रै चर्चा गरेका छन्, त्यसमा मेरो टिपोटले अल्पज्ञता भन्दा धेरै केही थप्तैन होला । त्यसो हुँदा हुँदै पनि भूमिका लेखाउन उहाँले यस अल्पज्ञलाई यलपाला रोजेकामा मैले आफैँ सम्मानित भएको अनुभव गरेको छु ।

 

Leave a Reply