१. परिचय
दर्शन शास्त्रमा मनोरचना विज्ञान[i] का प्रणेता जर्मन दार्शनिक हुस्सेल (१८५९-१९३८ ई) हुन् । यो सिद्धान्त बनाउन हुस्सेललाई प्रत्यक्ष प्रभाव उनकै गुरु ब्रेन्टानोको पर्यो भने, अप्रत्यक्ष प्रभाव चाहिँ अर्का जर्मन दार्शनिक कान्ट (१७२४-१८०४) को पर्यो । मनोरचना विज्ञानका चार मुख्य प्रणेतामा हुस्सेल, हाइडेगर, साख्थे र मार्लो पोन्टीको नाम आउँछ (Macann) ।
२. कान्ट, लक र हुस्सेलको मनोरचना विज्ञान
कवि, कलाकार, दार्शनिक अथवा जुनसुकै सिर्जनशील मान्छेले आफ्नो दिमागमा कुनै नयाँ कुराको कल्पना कसरी गर्छ भन्ने प्रश्नमा कान्ट के विचार गर्छन् भने, मान्छेले आफ्नो दिमागमा दुई किसिमबाट ज्ञान पाउँछ : (क). कि अर्थ निर्माण[ii] बाट (ख). कि बुझाइ[iii] बाट । पहिलो प्रक्रियाबाट उसले आफ्नो ओरिपरि सूर्य र ताराहरू घुमिरहेको देख्तछ; दोस्रो प्रक्रियाबाट तर्कका बलले उसले ती पिण्डहरू आफू नै ओरिपरि फन्फनी घुमेको ज्ञान पाउँछ (Flew 176) । लक (१६३२-१७०४ ई) ले मनलाई नलेखिएको कागज जस्तो ठानेका थिए र उनी त्यस खाली कागजमा चाल पाएका, सम्झेका र सोचेका कुराहरू बटुलेर मान्छेले अर्थ निर्माण गर्छ र बुझ्छ भन्ने धारणा राखेका थिए भने कान्ट चाहिँ ज्ञानको निर्माणमा चेतना[iv] नै सक्रिय भएर मनमा अर्थ निर्माण गर्छ भन्ने धारणा राख्थे । हुस्सेलले चाहिँ मान्छेले अनुभवका रूपमा मनमा साँचेका र बटुलेका वस्तुहरूका आडमा कसरी चेतनाका रूपमा अर्थ बुन्छ र बुझ्छ भन्ने कुराको व्याख्या गर्न आफ्नो मनोरचना विज्ञानका शोध विधिको प्रतिपादन गरे (Leitch 151) ।
३. मनोरचना विज्ञान
मनोरचना विज्ञान आफ्ना गुरु ब्रेन्टानोको प्रभावमा कुनै कृति बुझ्न हुस्सेलले विकास गरेको एउटा मानसिक शोध विधि हो । कुनै कवि, कलाकार, सिर्जनशील मान्छे र सचेत तथा सहृदयी पाठक वा कला पारखीले आफ्नै मन भित्र फर्केर कवि वा कलाकारले कुनै कृति सिर्जना गर्दा, वा पाठक र कला पारखीले कुनै रचना पढ्दा, वा बुझ्दा, वा मूल्याङ्कन गर्दा उसको मनमा अर्थ कसरी बुनिन्छ भन्ने प्रक्रियाको सहानुभूति पूर्वक मनन गर्ने विधिको नाम नै मनोरचना विज्ञान हो (Flew, 1979, p. 247) ।
४. मनोरचना विज्ञानको पठन विधि
मनोरचना विज्ञान अनुसार कुनै कविताको अर्थ लगाउन खोज्नु पर्यो भने, पाठक, शिक्षक वा समालोचकले त्यस कवितामा वर्णन गरेको कुरो आफ्ना सम्पूर्ण पूर्वाग्रहहरू बिर्सेर अर्थात् कवि वा कलाकारसँग पूर्ण सहानुभूति राखेर आफैँले अनुभव गरे जस्तो गरी घोत्लिनु पर्छ । पुले (Poulet) के भन्दछन् भने, सहृदयी पाठकले कुनै कृति पढ्दा पहिले त आफू को हुँ भन्ने नै बिर्सिन्छ; अनि निर्लिप्त भएर पढ्दै जाँदा कृतिमा व्यक्त भएका विचार लेखकका हुन् कि आफ्ना हुन् भन्ने नै छुट्याउन सक्न छोड्छ । पाठकका अगाडि किताब देखिन छोड्छ; किताबका हरफहरू देखिन छोड्छन्; किताबको जुन भाषाको माध्यमले पाठकले त्यो साहित्यिक रचना बुझ्छ, त्यो भाषा पनि हराउँछ अनि लेखक र पाठक अद्वैत (यो म हुँ कि लेखक हो अर्थात् रचनामा व्यक्त भएको विचार मेरो हो कि लेखकको हो भन्ने छुट्याउन नसकिने गरी एकाकार) अवस्थामा पुग्छन् । पाठकको चेतना वा अहम् (म फलानो हुँ भन्ने भावना) नै सहानुभूति पूर्वक पढी रहेका किताबका विचारले पूर्ण रूपले टनाटन हुन्छ । जेनेभाको गुरुकुलका मनोरचना वैज्ञानिक पुलेका विचारमा समालोचना गरिने कुनै कृतिको मनोरचना वैज्ञानिक पठन[v] यसरी नै हुन्छ ।
५. युङ : लेखन कालको मनोरचना प्रक्रिया
मनोवैज्ञानिक युङ (Jung) ले कुनै काव्य कृति लेख्तै गर्दा कवि वा रचनाकारलाई जस्तो अनुभूति हुन्छ भन्ने वर्णन गरेका छन्, मनोरचना विज्ञान बनाउन हुस्सेललाई त्यसले प्रभावित गरेको देखिन्छ । कुनै काव्य कृतिको रचना गरी रहेका वेलामा जुन वेला कवि पूर्ण रूपले ध्यान मग्न अवस्थामा हुन्छ, त्यति वेला उम्लेर आई रहेका भावनाहरूले कविलाई जबर्जस्ती अपहरण गर्छन्; कविको हात पनि उसका खटनमा चल्न छोड्छ; उदेक मानेर कवि जुन कुरामा मग्न हुन्छ, उसको कलमले त्यही त्यही कुरो मात्र लेख्छ; काव्य कृतिले आफ्नो स्वरूप आफैँ बनाउँछ; त्यसको बान्कीमा कविको केही खटन चल्दैन । कविलाई आफ्ना काव्यमा सचेत भएर जे लेख्न मन लाग्छ, कविताले त्यसलाई अस्वीकार गरी दिन्छ; अनि कविलाई जुन कुरो लेख्न मन लाग्दैन, भावनाको भेलले उसलाई त्यो कुरो नलेखी धर दिँदैन । मनोरचना प्रक्रियाको यस अवस्थामा कविको सचेत मस्तिष्क त खालि चकित, पुलकित र रोमाञ्चित मात्र हुन सक्छ । कवि वा रचनाकार भने, त्यस्ता विचार, उपमान र बिम्बहरूको बाढीमा अत्तालिई रहेको हुन्छ, किन भने रचना लेखी रहेका वेलामा रचनाकारले जुन विचार, उपमान र बिम्ब कवितामा लेखुँला भनेर कविता लेख्न थाल्नु भन्दा अगाडि कहिल्यै सोचेको सम्म पनि हुँदैन, त्यस्ता विचार, उपमान र बिम्ब उसैले पनि थाम्न नसक्ने गरी भुल्भुलाएर खनिएर आई रहेको रचनाकारले अनुभव गर्छ । खालि आफ्नो केही खटन र जोड नचली पूरा भएको त्यस रचनालाई ऊ आफ्नै रचना मान्न बाध्य हुन्छ । वास्तवमा चाहिँ आफू भित्र भएको कुनै बाहिरी शक्तिले जता डोर्यायो त्यतै आफ्नो कलम चलाएर उसले आफ्नो रचना पूरा गरेको हुन्छ । यस प्रक्रियाबाट के बुझिन्छ भने, कवि भन्दा कविको काव्य कृति महान हुन्छ र काव्य सिर्जना कालमा कवि र कविको सिर्जनात्मक प्रतिभा अलग्ग हुन्छन् । कवि स्रष्टा होइन, आफ्नै काव्यको द्रष्टा मात्र हो ।
६. मनोरचना विज्ञान र मनोविज्ञान
हुस्सेलले मनोविज्ञानसँग आफ्नो मनोरचना विज्ञानको केही साइनो छैन भने पनि, यहाँ उल्लेख गरिएका युङका मनोवैज्ञानिक र आद्यरूपीय[vi] समालोचनासित साइनो राख्ने विचारहरू धेरै नजिक देखिन्छन् । मनोरचना विज्ञानको जेनेभा गुरु कुलका शिखर दार्शनिक पुलेले कुनै (साहित्यिक) किताब वा कृति पढी रहेका वेलामा पाठक जसरी पढाइबाट अर्थको आस्वादन गर्न समाधि अवस्थामा लेखकसित पूर्ण रूपले तादात्म्य राख्ने मनोदशामा पुग्छ भन्ने वर्णन गरेका छन्, त्यसै गरी युङले कला वा काव्य कृतिको रचना गरी रहेका वेलामा कवि र कलाकार पनि समाधिको अवस्थामा हुन्छ भन्ने वर्णन गरेका छन् । युङले कलाको उत्पादन भई रहेका वेलामा कवि वा कलाकारको मनोरचना वैज्ञानिक प्रक्रियामा आफ्नो ध्यान केन्द्रित गरेका छन् भने, पुलेले चाहिँ कुनै काव्य कृति वा कला कृतिको आस्वादन गरी रहेका वेलामा पाठकको मनोरचना वैज्ञानिक प्रक्रियामा आफ्नो ध्यान केन्द्रित गरेका छन् । युङले लेखकको अनुभूतिमा आफ्नो ध्यान अड्याएका छन् भने, पुलेले चाहिँ पाठकको अनुभूतिमा आफ्नो ध्यान टेकाएका छन् । युङ र पुले दुवै जनाले आफैँले लेखक वा पाठकको अवतार लिएर अर्थात् आफैँ लेखक वा पाठक भएको अनुभूति वा कल्पना गरेर सर्जक वा पाठकको अनुभूतिका प्रक्रियाहरूलाई विस्तारित गरेका छन् ।
७. मनोरचना वैज्ञानिक पठनका प्रक्रिया
लेइच (Leitch 152) ले उल्लेख गरे अनुसार हुस्सेलले मनोरचना विज्ञानका आधारमा कुनै कृतिको अर्थ विश्लेषण गर्न पाठक वा समालोचकले तीन ओटा चरण पार गर्नु पर्छ भन्ने कुरो प्रस्तावित गरेका छन् :
(क). कोष्ठीकरण[vii] वा स्थगन[viii]: यस प्रक्रिया अनुसार पाठक वा समालोचकले जुन कृतिको अर्थ विश्लेषण गर्नु छ, त्यो कृति पढी रहेका वेलामा त्यो कृतिका विचारसँग बाझ्न सक्ने सम्पूर्ण पूर्वाग्रहहरू बिर्सिनु पर्छ (अर्थात् हुस्सेलका शब्दमा स्थगन वा कोष्ठीकरण गर्नु पर्छ) ।
यी हरफको लेखकले कुनै काव्य कृतिको समालोचना गर्नु पर्दा कम्तीमा रचनालाई तीन पल्ट पढ्छ । पहिलो पल्ट पढ्दा लेखकले उसका रचनामा व्यक्त गरेका विचारसँग नमिल्ने, बाझ्ने र असहमत हुने वा हुन सक्ने आफ्ना सम्पूर्ण पूर्वाग्रहहरूलाई आउन छेक्छ; दोस्रो पल्ट पढ्दा लेखकले रचनामा व्यक्त गरेका विचारसँग पूर्ण रूपले असहमत भएर मात्र पढ्छ । दोस्रो पल्टको यस पढाइमा चाहिँ लेखकसँग सहमत हुने आफ्ना विचारहरूलाई छेक्छ । तेस्रो पल्ट पढ्दा आफूसँग सहमत हुने र असहमत हुने लेखकका विचारहरूलाई एकै ठाउँमा थुपार्छ र समालोचना लेख्न थाल्छ । समालोचना गर्न ठिक पारेको रचना पढी रहेका वेलामा आफ्ना विचारहरू छेक्ने यसै प्रक्रियालाई हुस्सेलले कोष्ठीकरण वा स्थगन भनेका हुन् ।
(ख). विश्लेषणको दोस्रो चरणमा हुस्सेलको गुरु कुलका मनोरचना वैज्ञानिक समालोचकहरू ‘चेतनाका वस्तुहरू’[ix] अर्थात् काव्यमा प्रयोग भएका व्याख्या नगरी नबुझिने विशेष शब्द वा बिम्बहरूलाई अनेक परिप्रेक्ष[x] बाट केलाएर वर्णन र विश्लेषण गर्छन् ।
पोखरेलका वैरागी काइँलाको ‘अस्तित्वको दाबीमा साबातको बैला उत्सव’ (पोखरेल, आयामेली कविताको अर्थ लगाउने तरिका), ईश्वरवल्लभको ‘मेरो आमाले आत्महत्या गरेको देश’ (पोखरेल, ईश्वरवल्लभको काव्यशैली) , माधव घिमिरेको ‘प्रारम्भ हो खालि’ (पोखरेल, ‘प्रारम्भ हो खालि’ भन्ने गीतको अर्थविश्लेषण) र मोहन कोइरालाको ‘म सम्झन्छु’ (पोखरेल, ‘म सम्झन्छु’ का आधारमा मोहन कोइरालाको कविता प्रविधि) भन्ने कविताको समालोचना गर्दा पहिले कविता भित्र प्रयोग भएका विशेष बिम्ब र पारिभाषिक शब्दहरूको परिचय, वर्णन र अनेक परिप्रेक्षमा व्याख्या गरिएको छ । हुस्सेलले त्यस्तै बिम्ब र पारिभाषिक शब्दहरूलाई ‘चेतनाका वस्तुहरू’ भन्ने नाम दिएका हुन् ।
(ग). अर्थ विश्लेषणको तेस्रो चरणमा ती परस्पर सम्बन्धित र असम्बन्धित अनेक बिम्बहरूलाई एकै ठाउँमा नजिक नजिक राख्ता ती बिम्बहरूको पारस्परिक साहचर्यबाट आफ्नो अन्तर्ज्ञान[xi] द्वारा पाठकले अर्थ ग्रहण गर्छ । हुस्सेलले सचेत[xii] हुनु भनेको नै तात्पर्य वा लक्ष्य[xiii] युक्त हुनु हो भन्ने मानेका हुनाले जुनसुकै काव्यमा कविको एउटा निश्चित लक्ष्यार्थ हुन्छ भन्ने धारणा राखेको देखिन्छ । यस मान्यताले गर्दा पाठकले कुनै काव्य पढी रहेका वेलामा त्यस काव्यको एउटा निश्चित लक्ष्यार्थ छ भन्ने कुरो ध्यानमा राखेर नै लक्ष्यार्थसँग असम्बन्धित अर्थहरू छिमल्छ वा छाँट्छ । कविताको अर्थ लगाउन कविले ताकेको अर्थ अर्थात् लक्ष्यार्थसित सम्बन्धित अर्थहरूलाई मात्र जोड्ने र असम्बन्धित अर्थहरूलाई छाँट्ने यस प्रक्रियालाई हुसेर्लले ‘अनुभवातीत छँटाइ’[xiv] भन्ने नाम दिएका छन् ।
एकातिर इन्द्रियबाट मनमा पसेका सूचना वा बिम्बहरू र अर्कातिर अनुभवबाट मन[xv]मा साँचिएका सूचना र बिम्बहरू परस्परमा गाँसिएर वा साँधिएर मस्तिष्कमा अर्थको निर्माण हुन्छ, तर मनमा त लक्ष्यार्थसित सम्बन्धित र असम्बन्धित सबै खाले बिम्ब हुन्छन्, त्यसैले कुनै कृतिको अर्थ लगाउनेले चाहिँ ‘अनुभवातीत छँटाइ’ अनुसार लक्ष्यार्थसँग सम्बन्धित अर्थ मात्र बटुलेर तिनीहरूको साहचर्य बाट कृतिको अर्थ लगाउनु पर्छ, असम्बन्धित बिम्बहरूको बेवास्ता गर्नु पर्छ ।
८. साहचर्यको सिद्धान्त : ह्युम र पाभ्लोभ
साहचर्य[xvi] को मनोवैज्ञानिक सिद्धान्तका प्रणेता ह्युम (१७११-१७७६ ई) हुन् । ह्युमका विचारमा कुनै दुइटा घटना अनेक पल्ट प्राय सँगसँगै घट्छन् भने, एउटा घटनाले अर्को घटना सम्झाउँछ; त्यस्तै दोस्रो घटनाले तेस्रो घटना सम्झाउँछ । त्यस्तै सँगसँगै घट्ने दुइटा घटनामा जहिले पनि कुनै खास घटना सँधै अर्को कुनै खास घटना भन्दा पछि घटेको पाइन्छ भने, हाम्रो मनले पहिलो घटनालाई दोस्रो घटनाको कारण मान्छ । साहचर्यको यस सिद्धान्तलाई पछि पाभ्लोभ (१७९३-१८४० ई) ले मनोवैज्ञानिक परीक्षणद्वारा पुष्टि गरे (Chaplin; Frolov) ।
९. लक्ष्यार्थ : कविको पूर्णता र पाठकको पुनर्निर्माण
कविले कविता लेख्ता परस्पर असम्बन्धित जस्ता लाग्ने अनेक बिम्बहरू सँगसँगै थुपारेको देखिन्छ । ती बिम्ब, विचार र घटना पहिलो पल्ट झलक्क हेर्दा सामान्य पाठकलाई परस्पर असम्बन्धित जस्ता लाग्न सक्छन्, तर कविले भने आफ्नो मनमा ती सबै बिम्बहरूलाई परस्पर सम्बन्धित बनाएर नसजाई उसको कवितै बनेको हुँदैन, त्यसैले पाठक वा समालोचकले ती बिम्बहरूलाई कविको लक्ष्यार्थ[xvii] ले परस्पर सम्बन्धित बनाई सकेको मानेर, कविता सबभन्दा थोरै शब्दमा सके सम्म धेरै अर्थ कुँद्ने प्रविधि भएकाले खालि अभिव्यक्तिको शैलीका लागि मात्र कविले जानी जानी ती बिम्बहरू जोड्ने बिच बिचको मासु झिकेर राख्नाले भाषाका रूपमा छरिएका हाडखोड जस्ता ती बिम्बहरूका बिच बिचमा साहचर्य स्थापित गरेर लक्ष्यार्थको आविष्कार गर्न मासु भर्ने काम गर्नु पर्छ ।
१०. इलियट : वस्तुगत सहसम्बन्ध
कवि पनि समालोचक पनि भएकाले इलियट (१९१९ ई) ले कविताको ‘वस्तुगत सहसम्बन्ध’[xviii] को परिचय दिँदै के भनेका छन् भने, कविले कलात्मक रूपमा आफ्ना भावना व्यक्त गर्ने एउटा मात्र उपाय के हो भने, उसले केही वस्तुका बिम्बहरू, एउटा परिस्थिति, घटनाहरूको शृङ्खला, आदिका रूपमा उसले आफ्नो कला वा काव्यलाई व्यक्त गर्नु पर्छ जसले गर्दा कुनै पनि सम्बन्धित बाहिरी घटना वा तथ्यको अनुभूति हुने बितिक्कै साङ्ली परेर त्यसको भाव सहृदयी पाठकका मनमा सरर्र प्रकट भई हाल्छ (Cuddon 457; Ousby 678) । अर्थात् कविले त आफ्नो कवितामा ती छरिएका बिम्बहरूका बिचमा वस्तुगत सहसम्बन्ध कायम गरी सकेको हुन्छ; खालि पाठकले मात्र ती असरल्ल परेका बिम्बहरूलाई मनोरचना वैज्ञानिक प्रविधिबाट जोडेर वस्तुगत सहसम्बन्ध कायम गर्नु पर्छ ।
११. नयाँ अर्थको बुनोट : मानसिक अन्तरिक्ष र कल्पना
फुकोनियर र टर्नर (Fauconnier) ले संज्ञानात्मक अर्थ विज्ञान[xix] का आधारमा कसरी कवि वा कलाकार जस्ता हरेक सिर्जनशील मान्छेले आफ्नो मनमा भएका बिम्ब वा मानसिक अन्तरिक्ष[xx] हरूलाई जोडेर नयाँ अर्थ (वा मानसिक अन्तरिक्ष) को सिर्जना गर्छ भन्ने देखाउँदै कल्पना (Imagination) को वैज्ञानिक स्वरूप र प्रक्रियाको टुङ्गो लगाएका छन् । कल्पना सिद्धान्तमा कलरिज (१८१७ ई) लाई चाहिएको अवकल्पना[xxi] र कल्पना[xxii] को उदाहरण पनि फुकोनियर र टर्नरको यस विश्लेषणबाट बुझ्न सकिएला भन्ने अड्कल छ । त्यस लेखको विश्लेषण यस लेखको विषय नभएकाले यहाँ त्यसको सङ्केत मात्र गरिएको छ ।
कान्टका विचारमा प्राकृतिक नियमहरूमा पाइने अर्थ पनि मान्छे (न्युटन जस्ता वैज्ञानिक) ले नै आविष्कार गरेर बनाएका हुन् ।
१२. मिलर : लेखककै मनोलोकको सहानुभौतिक दृष्टि
(घ). जेनेभाकै अर्का मनोरचना वैज्ञानिक समालोचक मिलर (Miller) चाहिँ कुनै कृतिको मनोरचनात्मक विश्लेषणका लागि पाठक वा समालोचकले कृतिमा प्रयोग गरेको भाषाका माध्यमबाट लेखककै मनोलोकमा पसेर लेखककै भाव र दृष्टिको पुनर्निर्माण गर्नु पर्छ भन्ने विचार व्यक्त गर्छन् । मिलरका विचारमा समालोचकले पढी रहेका कृतिमा आफ्नै अन्तरात्माको खोजी गर्छ । लेइच (Leitch 156) के लेख्छन् भने, मनोरचना विज्ञानको जेनेभा गुरु कुलको समालोचना गर्ने तरिका भनेकै, कृतिमा व्यक्त गरेको अर्थ आफ्ना मनमा खेलाउने, लेखकले ताकेको अर्थ ठम्याउन आफ्नै मनमा साँचिएका अनुभव थपेर भर्ने, सहानुभूति पूर्वक लेखककै मन भित्र पसेर लेखककै दृष्टि चेतनालाई पुर्तल गर्ने र आफूलाई लेखककै अवतारको रूपमा प्रतिष्ठापित गरेर लेखककै विलक्षण अनुभवहरू उद्घाटित र प्रकाशित गर्ने हो ।
१३. मनोरचना विज्ञानका हाँगाबिँगा
इन्साइक्लोपिडिया ब्रिटानिका (Phenomenology) अनुसार हाइडेगर (Heidegger) पनि हुस्सेलका चेला र मनोरचना वैज्ञानिक भए पनि उनको मनोरचना विज्ञान अस्तित्ववादी मार्गमा अघि बढ्यो र त्यसले साख्थेलाई प्रभावित गर्यो । लेइच (पृ. १६०) के लेख्छन् भने, ब्रोट्कर्प पनि मनोरचना वैज्ञानिक त हुन्, उनी लेखकसित सहानुभूति नराखी वस्तुगत रूपमा कृति विश्लेषण गर्ने पक्षमा देखिन्छन् । अर्का मनोरचना वैज्ञानिक समालोचक हार्टमन (लेइच, १६४) चाहिँ विस्तारै मनोरचना विज्ञानबाट भाष्य वैज्ञानिक समालोचना[xxiii] तिर अघि बढे अनि केही समालोचकहरूको मनोरचना विज्ञान चाहिँ अस्तित्व वाद, विनिर्माण वाद र उत्तर आधुनिकताका अरू हाँगाहरू तिर अघि बढ्यो (Palmer)।
१४. निष्कर्ष
मनोरचना विज्ञानका केही सीमाहरू त समकालीन र उत्तरवर्ती समालोचनाका धारहरूले देखाई रहेका छन्, तर ती सीमाहरू मनोरचना वैज्ञानिक समालोचनाको केन्द्रमा नभएर सीमान्त तिर भेटिएका हुनाले समालोचनाको यो पद्धति सशक्त र प्रभावकारी देखिएकाले धेरै मात्रामा पोखरेल (पोखरेल, आयामेली कविताको अर्थ लगाउने तरिका; पोखरेल, ईश्वरवल्लभको काव्यशैली; पोखरेल, ‘प्रारम्भ हो खालि’ भन्ने गीतको अर्थविश्लेषण; पोखरेल, ‘म सम्झन्छु’ का आधारमा मोहन कोइरालाको कविता प्रविधि) का समालोचनामा यही बाटो रोजिएको पाइन्छ ।
सन्दर्भ सूची
Antony Flew. A dictionary of philosophy. London: Pan Books, 1979.
Antony Fox. A dictionary of philosophy. London: Pan Books, 1979.
Carl Gustav Jung. “On the relation to the analytical psychology to poetry.” Critical theory since Plato 1922, 1992: 783-791.
Christopher Macann. Four phenomenological philosophers. London and New York: Routledge, 1993.
Georges Poulet. “Phenomenology of reading.” Critical theory since Plato 1969, 1992: 1146-1154.
Gilles & Turner, Mark Fauconnier. “Conceptual integration networks.” Cognitive science 1998: 133-187.
I. Frolov. Dictionary of philosophy. Moscow: Progress Publishers, 1967.
Ian Ousby, सम्पादक The Wordsworth companion to literature in English. Hertfordshire: Wordsworth Reference, 1992.
J Hillis Miller. “The Geneva School.” Critical quarterly Winter 1966: 305-306.
J. A. Cuddon. A dictionary of literary terms. New York: Penguin Books, 1977.
J. P. Chaplin. Dictionary of psychology. New York: Dell, 1976.
Martin Heidegger. Philosophical and political writings. सम्पादक Manfred Stassen. New York & London: Continuum, 2003.
“Phenomenology.” Encyclopedia Britannica. Encyclopedia Britannica 2009 Student and Home Edition (2009).
Richard E. Palmer. Hermeneutics: Interpretation theory in Schleiermacher, Dilthey, Heidegger and Gadamer. Evanston: Northwestern University Press, 1969.
Vincent B Leitch. American literary criticism from the thirties to the eighties. New York: Columbia University Press, 1988.
माधव प्रसाद पोखरेल. “आयामेली कविताको अर्थ लगाउने तरिका.” प्रज्ञा २०५०: १९-२७.
舒. “ईश्वरवल्लभको काव्यशैली.” गरिमा (समालोचना विशेषाङ्क) २०५१: ६८-७९.
舒. “’प्रारम्भ हो खालि’ भन्ने गीतको अर्थविश्लेषण.” कविवर माधव घिमिरे अभिनन्दन ग्रन्थ (२०६०): ४३३-४३९.
舒. “’म सम्झन्छु’ का आधारमा मोहन कोइरालाको कविता प्रविधि.” लेखक (मोहन कोइराला विशेषाङ्क) २०६६: १३९-१४७.
[i] Phenomenology
[ii] Sensibility
[iii] Understanding
[iv] Consciousness
[v] Phenomenological reading
[vi] Archetypal
[vii] Bracketing
[viii] Suspension
[ix] Objects of consciousness
[x] Perspective
[xi] Intuition
[xii] Conscious
[xiii] Intentionality
[xiv] Transcendental reduction
[xvi] Association
[xvii] Intentionality
[xviii] Objective correlative
[xix] Cognitive semantics
[xx] Mental space
[xxi] Fancy
[xxii] Imagination
[xxiii] Hermeneutic criticism