शाकुन्तल महाकाव्यमा चराचुरुङ्गी

‘शाकुन्तल’ महाकाव्यमा अनेक काव्य प्रयोजनका लागि लक्ष्मी प्रसाद देवकोटाले चराहरूको प्रयोग गरेका छन् । शाकुन्तलकी नायिकाको नामै ‘शकुन्तला’ छ । संस्कृतमा चरालाई ‘शकुन्त’ भनिन्छ । चराहरूले पालेका हुनाले उनलाई नायिकालाई ‘शकुन्तला’ भन्ने नाम दिइएको हो । अर्थात् महाकाव्यकी नायिकाको पोषण र नामकरणदेखि नै चराले शकुन्तलोपाख्यानमा महत्व पूर्ण ठाउँ ओगटेको छ । शाकुन्तलमा देवकोटाले चराको कोमल र उपयोगी पक्षमा विशेष जोड दिएका छन् । महाकाव्य भरिका वर्णनमा चरा मान्छेका सहयोगी र साथीका रूपमा वर्णन गरिएका छन् । एक ठाउँमा बाहेक चरो दुष्ट रूपमा शाकुन्तलमा देखा पर्दैन । चराले बालख शकुन्तलालाई मायाँ गरेको देखाइएको छ । चराबाट मान्छेलाई धोका हुँदैन भन्ने विश्वास (५.३१) देवकोटाले व्यक्त गरेको पाइन्छ । यस दृष्टिले बाज (६.२०-२५) लाई चराले आदर्श चरो मानेको देखिँदैन ।

देवकोटाका वर्णनमा प्रकृतिको सौन्दर्यमा चराको ठूलो हात छ । देवकोटाको कल्पना शक्तिमा पनि चराको निकै ठूलो भूमिका छ, जस्तै :

शकुन्तलाको हास्य र सौन्दर्य टिपेर वन राम्रो भएको हो र शकुन्तला र वनका सुन्दर भाव टिप्‍न सिकेरै चरा मनोहर भएका हुन् भन्ने कल्पनाशील वर्णन कविले गरेको (५.४२) पाइन्छ । प्राचीन कालको पूर्वीय आकाशको स्वर्णिम महिमा चराको आँखामा परेर त्यही दृश्य गाना वा गीतका रूपमा रूपान्तरण भएर गुन्जिन्थ्यो (१.२) भन्ने भाव व्यक्त गरिएको छ । अर्का तिर ‘हंस’ शब्दको मूल अर्थ ‘हाँस’ हो; वेदान्त दर्शनमा त्यो शब्दमा आलङ्कारिक विस्तार भएर त्यसले ‘आत्मा’ भन्ने अर्थ दिन्छ । लक्ष्मी प्रसाद देवकोटाले एउटै श्लोक (१.२४) मा दुवै अर्थ जोडेका छन् र ‘सरस्वती मेरो हंस चढेर सधैँ मेरा आँसुका दानालाई जपमाला बनाउँछिन्’ भन्ने कल्पना गरेका छन् । हिन्दी भाषामा ‘पर’ शब्दको अर्थ ‘पखेटा’ र ‘परी’ शब्दको अर्थ ‘पखेटा भएकी अप्सरा’ भन्ने हुन्छ । यसरी देवकोटाले संस्कृतमा अप्सराका अनेक पर्याय भए पनि चराको अर्थ समेत छोड्न नसकेर अप्सराका लागि हिन्दी शब्द ‘परी’ (३.१३) रोजेका छन् ।

देवकोटाले शाकुन्तलमा अनेक काव्यालङ्कार (जस्तै श्लेष, दृष्टान्त, उपमा, रूपक, समासोक्ति, आदि) मा चरालाई उपमान बनाएका छन् । मानवीकरण पनि समासोक्ति अलङ्कारकै एउटा किसिम हो । देवकोटाले पनि अनेक ठाउँमा चराको मानवीकरण गरेका छन् । प्रकृतिका सुन्दर पक्षको वर्णन गर्दा देवकोटाले चराको वर्णन गर्न छोड्दैनन् । चराको यस्तो वर्णन चाहिँ स्वभावोक्ति अलङ्कार मानिन्छ ।

यस महाकाव्यमा देवकोटाले चिनेका चरा निम्न लिखित छन् :

नेपाली चरा :

२१.२६ चीभे, फिस्टो मुनीया परभृत प्रभृति प्रेमका पंख नाना, सारौँ धोबी भँगेरा थरि थरि रँगका स्वर्गपक्षी उज्याला, शूघा, मैना, परेवा, पटु, शिखि, कटुवा गौँथली औ जुरेली, बोल्थे नाच्थे र झुल्थे कुसुमनिकरको हर्म्यमा खेल खेली  ।

पूरै महाकाव्यमा एक ठाउँमा बाहेक चरा धेरैजसो चाहिँ कोमल, सुन्दर र सहयोगी रूपमा चित्रण गरिएका छन् । एक ठाउँमा मात्र (६.२०-६.२५) चरो क्रूर र आक्रामक रूपमा देखा पर्छ :

क्रूर र आक्रामक रूपमा चरो

६.२० आज लौ बाजले लाज छोडीकन, पेट नै भर्नको रक्तको काजमा, पूर्वका साजका माझ सौन्दर्यको, शान्तिको सूचना तोड्छ झम्टीकन ।

६.२२ बाजलाई कण्वले भनेको “ए नछो, ए नछो, छोडिदे, छोडिदे, हा नलुछ्, हा नलुछ्, जिन्दगीका भुवा, फूल झैँ कोमला बालिका सुन्दरी…।

६.२३ क्रूर हे कालको भाइ, नङ्ग्रा हुने, भो नच्यात्, भो नच्यात्, पुष्पकी पात त्यो ६.२४ क्रूर के डस्तछस् ईश्वरैको मुटु? ६.२५ मांस नै भक्ष्य जो भन्छ त्यो कूर हो, लाश खाने लुछी लाज छोडीकन ।“

 

शिशु शकुन्तलालाई बाजले आक्रमण गर्न खोजेको प्रसङ्गमा मात्र चरो आक्रामक रूपले प्रस्तुत हुन्छ ।

 

सहयोगी, कोमल र साथीका रूपमा चरा

चरालाई साथीका रूपमा वर्णन गरिएका उदाहरण निम्न लिखित ठाउँमा पाइन्छन् :

 

७.७ ती चारुप्यारी वनकी कुमारी…बस्थिन् कहीँ फूल कहीँ चरा ली

७.५३ (शकुन्तला) सङ्गी पंछीहरूकी

८.२० को दुश्यन्त शकुन्तकी सखि त्यहाँ सोध्थिन् सफा चाखले

९.३ कुरंगवन दंग भो बहुविहंगका सङ्गमा

 

शाकुन्तलमा चराले अरू मानवीय भूमिका पनि लिएको वर्णन पाइन्छ, जस्तै :

क). मान्छेलाई धोका नदिने चरा

५.३१ धोका हुन्न यहाँ कतै प्रकृतिमा हे दिव्यताकी शिशु, बुझ्नेलाई बिरादरी तरु, लता, कल्लोल, पंछी, पशु,…जो मीठो मृदुभाव खोजहरुका मौनीहरू जान्दछन् ।

ख). बालखलाई मायाँ गर्ने चरा

५.३२ (शकुन्तलालाई) पंछीले सुरकी लता फुलिलिने जानेर प्रेमी बनी, हेर्चाहासित बोलमा मधुरता खोजी महान् प्रेमको, हेर्नेछन् शिशुलाई…

सिकारु चरा

५.४२ राम्रा हास्य टिपी शिंगार तिनका राम्री छ वन्यस्थली, सिक्छन् भाव टिपेर उड्न सहजै साना चरा चंचली ।

 

यस श्लोकमा राम्रा हास्य र सिँगार (अर्को अर्थ ‘हास्य र शृङ्गार रस’) शकुन्तलाबाटै सिकेर वनले पनि राम्रो हुन जानेको हो र साना चराले शकुन्तला (र वन) बाटै (शृङ्गार र हास्य रसका समेत) भाव टिपेर चञ्चलता र आकाशमा उड्ने शक्ति पाएका हुन् भन्ने अर्थ व्यक्त गरिएको छ ।

 

दर्शक वा साक्षीका रूपमा चरा

१.२ अघि पूर्वीय आकाशमा स्वर्णकालमहिमा खगको आँखामा परीकन…गाना बनी गुँज्दथे।  (उत्प्रेक्षा)

यहाँ प्राचीन कालको पूर्वीय आकाशको स्वर्णिम महिमा चराको आँखामा परेर त्यही गाना वा गीतका रूपमा रूपान्तरण भएर गुन्जिन्थ्यो भन्ने भाव व्यक्त गरिएको छ ।

वाहनका रूपमा चरा 

१.२४ मेरो हंस चढी सफा स्फटिकको माला धरी आँसुका, वीणा ली करमा नशा झुनुझुनु झंकार्दछिन् जो सदा, ती माता स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन, बुट्टा काट्छु छिनो लिई (श्लेष)

यहाँ अमूर्त ‘आत्मा’ चाहिँ उपमान र मूर्त ‘हाँस’ चाहिँ उपमेय बनाइको छ । ‘हंस’ शब्दले सरस्वतीको वाहन हाँस र कविको आत्मा दुवै कुरा बुझिने हुनाले ‘हंस’ शब्दमा श्लेष अलङ्कार परेको छ ।  कवितामा कविको आत्माका रूपको हाँसमा सरस्वती चढेको कल्पना गरिएको छ ।

गहनाका रूपमा चरा

३.१३ सुनकी तनकी सुनकेश परी, जुन साँझ भनी नरले कहिने…विहगावलिले कति चारु बनी ।

 

यस श्लोकमा सन्ध्याको सुनौला सौन्दर्यमा चराहरूको लस्करले गहनाको काम गरेको

वर्णन छ ।

 

काव्यालङ्कारमा उपमानका रूपमा चरा

(क). श्लेष अलङ्कारमा श्लेषको केन्द्रका रूपमा :

माथि (१.२४) मा  ‘हंस’ शब्दले सरस्वतीको वाहन हाँस र कविको आत्मा दुवै कुरा बुझिने हुनाले ‘हंस’ शब्दमा श्लेष अलङ्कार परेको छ ।  कवितामा कविको आत्माका रूपको हाँसमा सरस्वती चढेको कल्पना गरिएको छ । अलङ्कारमा चराको प्रयोग भएका अरू उदाहरण निम्न लिखित छन् :

(ख). दृष्टान्त अलङ्कारमा उपमानका रूपमा चरा :

१.३ मीठो लाग्छ मलाई ता प्रियकथा प्राचीन संसारको, हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको, जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झँदै, फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै।

यहाँ आफूलाई प्राचीन संसारको कथा फेरि फर्किदेओस् भन्ने कल्पना मीठो लाग्छ भन्ने कुराको दृष्टान्त जाडामा कोइलीलाई छिटै वसन्त ऋतु आइदेओस् जस्तो लाग्ने कुरासित गरिएको छ ।

(ग). उपमानका रूपमा चराको ध्वनि :

२.३६ कोकिलध्वनि (अप्सराहरू)

यहाँ अप्सराहरूको परिचय नै ‘कोइलीको जस्तो मीठो ध्वनि हुनेहरू’ भनेर गरिएको छ ।

(घ). उपमानका रूपमा चरा :

३.३७ सुनहला चिडियासरि साँझकी (साँझका चरा जस्ती मेनका)।

३.६० अब झरिन् धरणीतिर अप्सरा, मधुर पंख निमीलित झैँ चरा (चरा जस्ती मेनका)।

४.११ न वा त्यो चरी हो, न वा त्यो परी हो(चरो हो कि अप्सरा हो जस्ती मेनका) ।

४.७३ (विश्वामित्रले मेनकालाई) तिमी चाँदनी छौ म तिम्रो चकोर । (अद्वितीय मायालुको उपमानका रूपमा च्याँखुरो चरो)

५.३ उड्दा स्वर्ण पँखेरू चारु दिन छन्। (सूर्य?)

६.२१ (शकुन्तला) एक तर्सी रुँदी आँसुवाली चरी, बालिका नीडकी त्यो पहेँली चुचे।

६.२९ (शिशु शकुन्तलालाई बाजले तर्साएका वेलामा) अहो, कोयली अप्सराकी मुहार, बिजूली नटीकी सुता झैँ उज्याली, वसन्ती मुनामा रसीली बनेर, विलापीरहेकी चुहाएर आँखा।

६.३१ चुचुच्चु, चुचुच्चु, कुनै नीडबाट, चरी स्वर्गकी आज पृथ्वी झरेकी, रुँदी फूलकी कोपिला वासवाली, फुलेकी चरी आँसु पार्छ्यौ शिँगार।। (शकुन्तला कि मेनका?)

७.५४ शकुन्तला) रङ्गीचंगी विहंगीसरि दिन दिन नै बढ्दछिन्

८.३६ आऊ नानि शकुन्तला किन तिमी बस्छ्यौ अबेरैतक? यस्तो बेर गरी नआउनु बुझ्यौ राकाचकोरीसरि (जुनेली रातकी चखेवी)

१०.२१ हरित कुञ्जको माथि उच्चतासाथ शृंगमा रम्य ठाउँमा, तुहिनदेशका काँधमा कहीं, शिखर उच्चमा गूँड लाउने, विहगसिंह झैँ व्योमचारक, पंख कीर्तिका भूप फिँज्दथे।

(ङ). चराका जस्ता पखेटा भएकी मेनका :

३.४६ किनकि ती कनकाभ (मेनका) सुकालमा, मधुर पंख चलीकन गाउँथिन्, सदृश गाउँछ स्वर्णचरो–दिन, जलधि चुम्बनलाइ उडी पर।

(छ). चराको जस्तो मनोहर प्राण भएकी मेनका :

३.५२ (मेनकाको) चकोरमनोहरप्राण छ।

(ज). कर्‍याङकुरुङको भुवाले बुने जस्तो मेनकाको सप्को :

३.५५ (मेनकाको) मृदुल अंचल क्रौञ्च भुवाबुना

(झ). चराका जस्ता कुरा :

११.४० क्षितीशपार्श्व दाहिना फरर्र फर्फराउँदा, यहाँ छ प्रेम सूचना भनेर भित्र आउँदा, कुरा चरासमानका गरेर बागमा डुली, घडा लिने ठिटीहरू गुलाफ बैँसमा फुली,… सुचारु–अंगवल्लरी–प्रसूनतुल्य–वल्कला, त्यहाँ झल्याँस्स देखिए सुमिष्ठ–कोयली–गला

(ञ). चराको जस्तो नाच :

१.४८ सुरलोक नटी…वनबीच वसन्तकामिनीसरि नाच्छन् लघुपंखगामिनी –उपमान)

(ट). रूपक अलङ्कारमा उपमानका रूपमा चरो :

३.३ अब दिव्य हिरण्मयको प्रहर, दिन पुग्दछ स्वर्ग उडी सहजै, सुन–पंख लिई सुनको चिडिया। (रूपक)

३.३२ बहुत दूर हुँदा चिडिया थिइन्।  (रूपक)

३.६९ (मेनका) शवलपंख–मयूरनिवासिनी,…झिलिमिली शिखिपंख फिजाउँछे। (रूपक)

५.३ उड्दा स्वर्ण पँखेरू चारु दिन छन्। (सूर्य?)

यहाँ सूर्यलाई चरासँग तुलना गरेको हुन सक्‍ने एउटा अर्थ हुन सक्छ भने अर्को अर्थ चाहिँ सुनौला रङका चरा उडेको देखिनाले दिन राम्रा छन् भन्ने अर्थ लाग्छ, त्यसैले अघिल्लो अर्थ अनुसार चाहिँ रूपक अलङ्कार बनाउन चराको प्रयोग गरिएको छ ।

 

चराको मानवीकरण (वा समासोक्ति)

माथिकै केही प्रसङ्गमा समेत आए झैँ शाकुन्तलमा चराको मानवीकरण गरिएका अनेक उदाहरण पाइन्छन्, जस्तै :

 

२.३ पिक नव–रव बोल्छन् मञ्जरीभित्र। (बोलक्कड कोइली)

२.१५ अचल पवन अड्दा स्तब्धता ली निशाले, विहगभजन सुत्दो ध्यान गर्छे मजाले। (भजने चरा)

३.१० हरियो वनमा नव बैँस हुँदा, नव पल्लवका अधरासवले, मदमत्त छ कोकिल काल बुझी,

३.५७ पिक मदालस बोल्छ ‘कुहू कुहू’, मधुर प्रश्न गरेर मुहुर्मुहुः।

४.२१ च्याँखुराले भने, ‘सौन्दर्य भित्र मारको विचित्र मोहनी छ। त्यहीँ स्वर्ग देखिन्छ, त्यो हो समाधि, अरू शून्य हो, शून्य वैकुण्ठ गादी।’

४.२७ सबै कोयलीले वनै खल्बल्याए।

४.२८ शशी–मोहले मुग्ध बन्छन् चकोर ।

५.३६ ‘को को हो’ सित कोकिला मृदुगला सोध्थी सुखी चञ्चला, पाक्यो काफल सोध्दछन् खग सुनी हाँस्थे फुकी कोपिला, लागे खेल्न अनेक पातसँगमा क्या पासली पोसली, साना ढुक्कुर कुर्लिए हृदयमा कुर्कुर् गरी कोरली।

६.३७ को को हो रव ली बली वनप्रभा आँखाविषे कोइली, चिन्दी झैँ वनवालिका (शकुन्तला?) विहगकी सङ्गी फुली बागमा

७.३ (शकुन्तलासित?) विहङ्ग बोल्छन् रसिला कुरा ली

७.१६ भाषा बुझिन्छ खगको अनि नाटकीय, त्यो बाल्यस्वर्ग छ अहो

९.१६ बनी मधुर बोल्दछन् विहग–जीवनी आशमा

९.२४ (दाम्पत्य मिलनमा) जहाँ पिक छ प्रश्नमा हृदयभित्र ‘को हो?’ भनी

११.२६ हराभरा अरण्यमा चरा टिपेर आँकुरा, कुरा गरी धुराधुरा रगीन–पंख–फर्फर चरामा

 

कलाकारका रूपमा र  गायकका रूपमा चरा

कलाकार अथवा गायकका रूपमा चराको वर्णन हुनु पनि चराको मानवीकरणकै उदाहरण मान्न सकिन्छ ।

 

४.५० (मेनका) ‘म लाली हुँदा धरामा लाजका गुलाबी बयानी फूल फुल्थे। त्यही गानबाट झरेका सूक्ष्म झल्काबाट सुधा भर्दछन् कोइली कानभित्र।’

५.१२ अर्की कोकिलले गला सरसले गुँज्दी छ वन्यस्थली,…केही कष्ट नभै वसन्त ऋतुमा आमा भइन् मेनका ।

८.२ (शकुन्तला) विहगगानकी  नटुवा चरा

५.३५ पंछीले नभबीच नृत्यहरुले बोले बनी फर्फरे।  मीठो ध्वनि भएका (सङ्गीतकार चरा) ६.१९ (कण्वले शकुन्तला भेट्ता) धोबिनीको ध्वनि स्वादिलो पाउँदा

९.२ वनमा : छ काग पनि कोइली मधुर ‘कोयँ’ को शब्द ली

 

स्वभावोक्ति अलङ्कारमा चरा

प्रकृतिको सुन्दर पक्षको सोझो वर्णन गरियो भने त्यसलाई संस्कृत साहित्यमा स्वभावोक्ति अलङ्कार भन्ने चलन छ, जस्तै :

 

२.१ विपिन बहु विहगहरूले…गुँज्छ। (स्वभावोक्ति)

६.३६ (कण्वको कुटी) विहङ्गस्वरले मीठो

९.२ वनमा : छ काग पनि कोइली मधुर ‘कोयँ’ को शब्द ली

११.३ चरा अनेक चिर्बिरे फरर्र पंख छिर्बिरे  चरामा रूपक

 

चरो बन्ने रहर

१.४५ हिँड सुन्दरको विदेशमा, चिडिया आज बनूँ उडी त्यहाँ, ढकमक्क सुगन्ध छाउने, वनमा नीड रचेर गाउने। (रूपक)

 

चरामा श्लेष

१.२४ मेरो हंस चढी सफा स्फटिकको माला धरी आँसुका, वीणा ली करमा नशा झुनुझुनु झंकार्दछिन् जो सदा, ती माता स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन, बुट्टा काट्छु छिनो लिई (श्लेष)

 

अनुकरणात्मक ध्वनि काव्य

२.५ चिरबिर चुँ चुँ चुच्चो चारु चल्छन् गवैया।

यहाँ चराको नामको च वर्णबाट सुरु भएको वृत्यनुप्रासबाट वनमा चराकै आवाज ध्वनित हुन्छ)

अनुकरण शब्दमा चराका आवाज

११.३७ ‘कुहू कुहू’ छ कोइली, शुगाहरू कराउँछन्, कतै त्यहाँ ‘पिवी पिवी’ कतै त कुर्कुराउँछन्, ‘चिरिर्र’ चिर्बिराउँछन् चरेर चुर्बुराउँछन्, ‘चिंची चुचूँ कुलुल् कुलुल् चचच्च’ ले चलाउँछन्, सुसेलिँदा र केकिँदा, कराउँदा र कुर्लिँदा, फुली झुली र कोइली छ शब्दिता वनस्थली, अनेक शब्द मोहनी रँगीन कंठमा खुली

 

यहाँ अनेक अनुकरणात्मक शब्दका माध्यमबाट चराका आवाजहरू बटुलिएका छन् ।

 

अरूबाट चरामा रूपान्तरण

२.१६ कुसुम विहग बन्दै पाउँछन् आदिभाषा (आदिभाषा बोल्न फूल नै चरा बनेका हुन्)

३.४५ सुन सफा दुनियाँतिर आउँदी (मेनका), अब त्यहाँ मुनियाँ वनकी कथा (भइन्)।

४.६२ (मेनकाले विश्वामित्रलाई) बनी च्याँखुरा नेत्र भै मुग्ध दोटै, नबोलूँ नबोलूँ पिऊँ भो मलाई

७.३५ (शिशुरूप) यो कोपिलाकन सुगन्ध दिने जरामा, हो स्वर्ग, ह्वैन जलरश्मि यहाँ झरामा, त्यो शब्दको मधुर तान थियो चरामा, तोते मिठास अझ छैन कि स्वर्गमा नै।

 

यी उदाहरणमा अरू नै कुनै राम्रा वस्तु चरामा रूपान्तरण भएको वर्णन छ ।

 

चराबाट अरू ललित वस्तुमा रूपान्तरण

यी उदाहरणमा चराहरू अरू नै कुनै राम्रा वस्तुमा रूपान्तरित भएको वर्णन छ :

१.२ अघि पूर्वीय आकाशमा स्वर्णकालमहिमा खगको आँखामा परीकन…गाना बनी गुँज्दथे।  (उत्प्रेक्षा)

३.१९ कसरी चिडिया पनि गान बने।

१०.१५ कविहरू बनी गानका चरा, नीडरूपकी त्याग्दछन् धरा

 

चराले घेरिएकाले मेनकाको बोली मीठो भएको

३.३३ विहग–आवलिले कलभाषिणी (मेनका)।

 

कामुकताको प्रतीकका रूपमा चरा

४.५५ (मेनकाले विश्वामित्रलाई) यहाँ कोयली शब्द खल्लो सुनेर, म रूँ रूँ भएँ’

सङ्गीतका रूपमा चरा

५.४४ हाम्रो शैशव मानवी प्रकृतिको हृद्केन्द्रमा जन्मियो, एकै पोषणले भयो मधुर यो, ती भावले झुम्मियो, पाई स्पर्श बजे चरा, गिरि, नदी त्यस्तै त्यहाँ छोइयो, एकै नै महिमा मिलेर सबले दूधालुको दोहियो।

आमाका रूपमा चरा

७.५५ (शकुन्तला) विहगशिशु

आत्माका रूपमा चरा

१.२४ मेरो हंस चढी

९.३५ तमोवृत त जो जगत् विषयका खिँचातानमा, यहाँ हृदयका चरा परुषका सुखा शानमा

 

भावका रूपमा चरा

१०.१९ स्वर्ग पंखका नीड सुन्दर, विहगभावका पत्र मन्दिर

चराबाटै नामकरण

‘शाकुन्तल’ महाकाव्यको नाम नै त्यसकी नायिकाका ‘शकुन्तला’ का नाममा आधारित छ अनि शकुन्तलाको नाम चाहिँ ‘शकुन्त’ अर्थात् चराका आधारमा राखिएको छ ।

निष्कर्ष

यसरी शाकुन्तल महाकाव्यमा महाकविले अनेक कवितात्मक भाव व्यक्त गर्न चराको प्रयोग गरेका हुनाले चराको भूमिका सशक्त र अनन्य देखिन्छ ।

Leave a Reply