कैलास पर्वत र मानसरोवर क्षेत्रमा पनि म पुगेको छु भन्न पाउनुलाई मैले आफ्नो जीवनका उच्चतम टाकुराहरूमा पुगे बराबरमा जोडेको छु । मेरो जीवनका उच्चतम टाकुराहरूमा मैले (क). एमआइटीमा नोम चोम्स्कीसँग ‘मिनिमलिस्ट प्रोग्राम’ बारे एक क्रेडिट कक्षा लिएर चेलो हुन पाएको, (ख). पुणें, एमआइटी, हार्वर्ड र कोबे विश्व विद्यालयमा भास्करराव, हेले, लबोभ, मेल्चर्ट, किपर्स्की, मकार्थी, शिबातानी, जस्ता विश्व प्रसिद्ध भाषा वैज्ञानिकहरूलाई गुरु बनाउन पाएको, (ग). संस्कृत र प्राकृत भाषाको सामान्य ज्ञान पाएको, (घ). झन्डै दुई हजार चिनियाँ अक्षर सिकेको, (ङ). वैदिक वाङ्मयको सामान्य ज्ञान पाएको, (च). नेपालका झन्डै पचास ओटा मातृभाषाको वर्णमाला बनाएको, (छ). नेपालका झन्डै सबै जसो मातृभाषा बारे सामान्य ज्ञान बटुलेको, (ज). एक दर्जन भन्दा धेरै चेलाहरूलाई पिएचडी दिलाएको र (झ). झन्डै दुई दर्जनलाई विभिन्न विषयमा एमए स्तरको शोध पत्र लेखाएको घटनालाई जसरी जोडेको छु, त्यसै गरी कैलास पर्वतको परिक्रमा र मानसरोवरको स्नानलाई मैले उच्चतम अङ्क दिएको छु । मेरा जीवनका अघिल्ला सफलताहरूलाई सम्झेर औँला भाँच्ता मलाई जति गर्व लाग्छ, त्यति नै गर्व कैलास मानसरोवर पुग्न पाउँदा लाग्छ कि ! कैलास पर्वत पुग्न पाउने घिड्घिडो भने मेरो अधुरै रह्यो ।
तीनचार वर्ष अगाडि मैले कैलास मानसरोवर क्षेत्र जाने रहर गरेँ । मेरो साइँलो भाइ राघव विद्युत् प्राधिकरणको हाकिम थियो । नेपालभरिका अनेक साना ठूला जल विद्युत् परियोजनाको खरखटनमा ऊ लागेको छ भन्ने मैले बुझेको थिएँ । विद्युत् उत्पादनका दृष्टिले महत्त्वपूर्ण सबै सानाठूला नदीनालाहरूको अध्ययनमा ऊ संलग्न भएको सुइँको मैले पाएको थिएँ। मैले उसैलाई मानसरोवर जाने कार्य क्रम बनाउन लगाएँ । त्यति वेला हुम्लामा उसका रेखदेखमा नाम्दुङ जल विद्युत् आयोजना उसकै रेखदेखमा चलिरहेको रहेछ । त्यसको निरीक्षण गर्ने काम उसको पनि बाँकी रहेछ । उसको त्यसै कामसित मेरो ‘पशुपतिको जात्रा’ हो कि ‘सिद्राको व्यापार’ जोडियो । मेरा लागि भने मानसरोवरको यात्रा नै पशुपतिको जात्रा थियो, राघवका लागि कुन चाहिँ सिद्राको व्यापार थियो, उही जानोस् !
हामीसित सँगै जाने नाम्दुङ जल विद्युत् आयोजनाका ठेकेदार भरत खँड्का थिए । उनैले नेपाल र थाक्लाकोट जोड्ने हिल्साको पुल पनि बनाएका थिए अरे । धेरै पल्ट कैलास पुगेर आएको उनको अनुभव रहेछ । साथमा एक जना गुरुङजी र एक जना ओझाजी पनि थिए । राघवले मेरो यात्राको पनि चाँजो मिलायो । परिणामत: सबैको यात्राको चाँजो मिलाए ठेकेदारले । हामी काठमाडौँबाट सजिलै हवाईबाट नेपालगन्ज पुग्यौँ । भदौ असोजको दिन भए पनि नेपालगन्जमा गर्मी नै थियो, तर होटलको हामी बस्ने कोठामा एसी भएकाले बाहिर निस्किँदा मात्र साउन भदौ, कोठा भित्र पस्ता असोज कात्तिक जस्तो लाग्थ्यो । हुम्लाको सदर मुकाम सिमकोटको खराब मौसमले नेपालगन्जबाट सिमकोट जाने उडान दुई तीन दिन सम्म रद्द भई दिएकाले दिन भरि गर्मीमा होटल भित्र ढौँटरी मारेर बस्नु र साँझ तिर बाघेश्वरीको मन्दिर जाने, अलिअलि डुल्ने र रबडी खाने नियमित विकल्प रोज्नु पर्यो । बीचमा एक पल्ट त विमान उड्यो, हवाईबाट सिमकोट पनि देखियो, तर सिमकोटमा पानी परी रहेकाले प्लेन उत्रिन सकेन । हामी फेरि नेपालगन्जका थर्कीमा थुप्रियौँ । नेपालगन्जमा मैले कैलास पर्वत र मानसरोवर बारे केही सामान्य ज्ञान पनि बटुलेँ ।
एक दिन भाग्यले साथ दियो; हामी सिमकोट पुग्यौँ । अब मानसरोवर टाढा छैन । भोलि राघवको नाम्दुङ जल विद्युत् परियोजना निरीक्षण गर्ने कार्य क्रम छ । पर्सि नेपालगन्ज अथवा सुर्खेतबाट हेलिकप्टर आउँछ; हेलिकप्टरमा त सिमकोटबाट नेपाल र तिब्बतको सिमाना हिल्सा सम्म पन्ध्र मिनट मात्र लाग्छ अरे ! हिल्साबाट मानसरोवर जाने मोटर बाटो भेट्न पैदल दश पन्ध्र मिनट मात्र हिँड्नु पर्छ अरे ! त्यहाँबाट थाक्लाकोट सम्म गाडीमा जाने अरे ! गाडीले नै मानसरोवर र कैलास पर्वतको पनि झन्डै पूरै फेरो लगाई दिन्छ अरे ! त्यो दिन थाक्लाकोटमै वास बस्नु पर्छ अरे ! हतार गर्यो भने, कम उचाइबाट धेर उचाइमा जानेलाई लेक लाग्ने डर हुन्छ अरे ! पहिले मानसरोवर अनि पछि कैलास आउँछ अरे ! मानसरोवर न हो मानस सरोवर (मनको सरोवर) ! मैले मनमनै मानसरोवरमा डुबुल्की लगाएँ । मेरा मानस फलकमा छ्याङ्ङ कैलास पर्वतको दर्शन भयो । कैलासका टाकुरामा शिव, पार्वती र गणेश पनि प्रस्टै चिनिए ।
भोलि पल्ट राघवले नाम्दुङ जल विद्युत आयोजना निरीक्षण गर्दा मौसम सफा नै थियो । सिमकोटबाट हुम्लाका भिर, पाखा, मान्छे, बस्ती, तीते फापर छरेको बारी, लटरम्म स्याउले लच्केर पडक्क हाँगा भाँचिएलान् जस्ता स्याउका बोट, ओखर, लट्टे, चिनो (एक प्रकारको अन्न), कागुनो, चुत्रो, खुर्पानी र शिलाजित भएको पहरो हेर्दै र डुल्दै मैले पनि विद्युत प्राधिकरणका इन्जिनियर र ठेकेदारलाई साथ दिएँ । चुकिलो (अमिलो) स्याउ किनेर पनि खाइयो ।
पर्सि पल्टदेखि मौसम खराब भयो । सिमकोट सिमसिम पानी, हिउँ, कुहिरो र जाडाले हामीलाई गुटुमुटु पारेर बाहिरी संसारबाट विलुप्त भयो । हामीले मानसरोवरको यात्रा भ्याउने गरी भरे मौसम सफा होला, छिटै मौसम सफा होला, अथवा भोलि चाहिँ पक्कै सफा होला भन्ने मीठो आस र अन्धविश्वासले अस्थायी हिमाल बनेका हिजो सम्मका नाङ्गा पहराहरूले आकाश छोएको नेटो आँखा टट्टाउने गरी हेर्दा हेर्दै घर छोडेको झन्डै दश दिन भएछ । अब चाहिँ हवाई आए पनि हेलिकप्टर आए पनि कैलास मानसरोवर जाने रहरलाई निच मारेर घरै फर्किने निर्णय गरेको एक दुई दिनमै मौसम उघारो भयो । हेलिकप्टर पनि आयो, हवाई पनि आयो । हुम्लामै जोडिएका मानसरोवर जाने हाम्रा साथीहरूसँग हेलिकप्टरमा हुम्ला र तिब्बतको सिमाना जोड्ने हिल्सा सम्म पुगियो भनेर किरिया हाल्न मात्र पाएकामा चित्त बुझाउँदै साथीहरूलाई आफूले बोकेको पूजाको सर्दाम चढाई दिनू है भनेर बुझाउँदै गरुङ्गो मनले हामी चाहिँ त्यही हेलिकप्टरमा सिमकोट सम्म र हवाईबाट सुर्खेत र नेपालगन्ज हुँदै काठमाडौँ फर्क्यौँ ।
हरेक तीर्थ जान सधैँ पहिले खुट्टा उचाल्ने मेरी श्रीमतीलाई रक्तचापको समस्या भएकाले लेक लाग्ने उचाइमा लैजान डर मानेर मैले उसले रहर गर्दा गर्दै कैलास जाँदा लगेको थिइन । म मानसरोवर जान नपाएको खबर चाल पाउने बितिक्कै उसले भनिहाली, “मलाई छोडेर गएकाले जान नपाएको !” मेरो मनमा चिसो पस्यो । हुन पनि म भन्दा मेरी श्रीमती भाग्यमानी हो, किन भने मैले दुई वर्ष जापान बस्न, एक वर्ष चीन बस्न र तीन महिना मैसुरमा बस्न आफ्नो पढाइ र मेहनतले सघाएको ठानेको छु भने, उसलाई त्यति नै समय जापान, चीन र मैसुरमा बस्न उसको प्राथमिक तह मात्रको अध्ययनले छेकेन । वास्तवमा ती ठाउँमा पुग्न मलाई मेरा पौरखले भन्दा उसका भाग्यले सघाएको हुन सक्छ ! श्रीमतीलाई साथ लगाएको भए, म मानसरोवर र कैलास पुग्न सफल हुन्थेँ होला भन्ने कुरो श्रीमतीले भने पछि मैले पनि पत्याई दिएको छु ।
हामी साहित्यका विद्यार्थी र पाठकहरू यथार्थ वस्तुलाई पनि दिमागमा लगेर अयथार्थ बनाएर साँधे पछि मात्र उपभोग योग्य ठानेर स्वाद लिन्छौँ । साहित्यको पण्डित म भए पनि श्रीमतीको कल्पना मलाई आफ्नो मानसरोवर जान भनेर गरेको हुम्ला सम्मको यात्रा भन्दा धेरै काव्यात्मक भए जस्तो लागी रहेको छ । मेरी श्रीमतीको बिपना भन्दा सपनामा बढ्ता पत्यार छ; विज्ञानमा भन्दा लोक विश्वासमा बढ्ता पत्यार छ । आफ्नो अगाडि आज घटेको घटना केही दिन अगाडि देखेको सपनासँग अथवा कुनै लोक विश्वाससित कारण कार्य सम्बन्ध जोडेर मात्र उसले पत्याउने गरेकी छे । श्रीमतीको शोध विधि चाल पाई सकेकाले म उसको तर्क मान्न तयार भएँ ! वैज्ञानिक अनुसन्धानमा विश्वास गर्नेले शोध विधि मात्र फरक पर्दा फरक फरक निष्कर्ष आउँछ भन्ने कुरो नपत्याउनै मिल्दैन !
‘आमाको पूजा’ भन्ने निबन्धमा मैले मेरी आमाको अलौकिक शक्तिको चर्चा गरेको छु । म मानसरोवर जान्छु भनेर आमालाई सुनाउँदा आमाले पनि ‘नजा’ भन्नु भएको थियो । आमालाई हाम्रो कैलास यात्रा सफल हुँदैन भन्ने पूर्वाभास भएको थियो क्यार भन्ने कुरो मेरो दुब्लो चाहिँ मनले कहिले काहिँ खेलाउँछ । कैलास मानसरोवर पुग्ने घिडघिडो मेरो मनमा गाँठो परेर अड्केको छ ।
मान्छेले असफलताको भन्दा सफलताको हरहिसाब धेर गर्नु पर्छ भन्ने मलाई लाग्छ, त्यसैले त्यसलाई मैले कैलासको असफल यात्रामा नजोडेर हुम्ला सम्मको सफल यात्रामा जोडेको छु । थुप्रै नेपालीहरू हुम्ला पुग्न पाएका छैनन्; यसैलाई मैले आफ्नो एउटा कीर्तिमान ठान्न कसो नमिल्ला ! सन २०११ लाई राष्ट्रिय पर्यटन वर्ष घोषणा गरेको नेपालीहरूलाई आफू पुग्न नपाएको नेपालकै ठाउँ घुम्न प्रेरणा मिलोस् भनेर होइन; डलर लिएर विदेशीहरू धेरै आऊन् भनेर होला । जापानीहरू विदेशमा मात्र होइन, तीन चार दिन बिदा पाए भने आफ्नै देशमा पनि घुम्न निस्की हाल्छन् । चिनियाँहरूमा पनि त्यो प्रवृत्ति छ । नेपालीहरू भने, अर्काका खर्चमा विदेश जान पाए भने, बर्सीका पोथ्रा नाघ्न तम्तयार छन्, तर आफ्नै देशका नपुगेका ठाउँमा गएर कीर्तिमान राख्न भने चाख देखाउँदैनन् । म नै पनि त कहाँ नेपालको हुम्लै ताकेर आएको हुँ र ! पश्चित तिब्बतको कैलास ताकेर हुम्ला पुगेको न हुँ ! हुन त कैलास मानसरोवर क्षेत्र पहिले नेपालमै पर्थ्यो; नेपाल सरकारले सम्हाल्न नसकेर नेपाल र चीन बीच ‘पानीढलो’ को सिद्धान्त बन्यो र कैलास मानसरोवर क्षेत्र कहिल्यै फर्काउन नसक्ने गरी चीनको तिब्बतमा पर्यो भन्ने कुरो सत्यमोहन जोशीले लेखेका छन् । बाह्रौँ शताब्दीदेखि धेरै शताब्दी पछि सम्म जुम्लाका खस राजाहरू हिमाल वारि पारि शासन गर्थे भन्ने कुरो टुची र योगी नरहरिनाथले पत्तो लगाए ।
कैलास पर्वतको बान्की शिव लिङ्ग जस्तो देखिने भएकाले पनि यो शिवको आवास भएको होला । हिन्दु पुराणहरूमा मेरु वा सुमेरु भनिएको पहाड यही हो । आकाशका सारा ग्रह र ताराहरूले यसैको परिक्रमा गर्छन् भन्ने लोक विश्वास पौराणिक साहित्यमा पाइन्छ । कैलास र मानसरोवर हिन्दु, बौद्ध र बोन धर्म मान्नेहरूको साझे तीर्थ हो । शिवजीलाई ‘यक्षस्वरूपाय’ (यक्षको रूप लिएका) भनेर परिचय दिइएको छ । एटकिन्सनले यक्ष र खस एउटै हो भनेर ‘हिमालयन गजेटियर’ मा लेखेका छन् । कर्णाली क्षेत्रका राजा अशोक चल्ल आफूलाई ‘खसदेशनरेश’ (खस देशको राजा) भनेर चिनाउँछन् । महाभारतमा ‘पिपीलिकासुवर्ण’ (बुकी सुन) लिएर खसहरू युधिष्ठिरको राजसूय यज्ञमा खसहरू हस्तिनापुरमा लाम लागेका देखिन्छन्। ईपू पाँचौँ शताब्दीका ग्रिसका इतिहासकार हेरोडोटस र ईपू पहिलो शताब्दीका रोमन इतिहासकार प्लिनीले पनि कैलास मानसरोवर क्षेत्रलाई खसहरूको थलो भनेर चिनाएका छन् । मध्य एसियाको इतिहास अनुसार पश्चिम तिब्बतमा मङ्गोलहरू धेरै पछि आएका हुन् ।
कर्णाली प्रदेशका ऐतिहासिक अभिलेखमा कैलास पर्वतलाई ‘कपिलास’ भनिएको छ; हुम्लाको आजको बोलचालमा त्यसलाई ‘कबिलास’ भन्दा रहेछन् । भाषा वैज्ञानिक सिद्धान्त अनुसार पुराणहरूमा पाइने ‘कैलास’ शब्द भन्दा ‘कपिलास’ र ‘कबिलास’ नै पुरानो हो । अर्थात् कैलासको पुरानो नाउँ कर्णाली प्रदेशका बोलचालमा अहिले सम्म पनि कायम रहेछ ।
कैलास पर्वतको दक्षिण तिर पर्ने मानसरोवरबाट पश्चिम तिब्बत र सम्पूर्ण दक्षिण एसियालाई सिञ्चित गर्ने गङ्गा, सिन्धु र ब्रह्मपुत्र नदी निस्किन्छन् । हाम्रो कर्णाली नदी पनि त्यहीँबाट निस्किन्छ, तर त्यसले हुम्लाका बासिन्दालाई उत्साह भन्दा निराशा दिएको रहेछ । मानसरोवर भन्दा पश्चिम तिरको राक्षस ताल तेत्तीस मिटर होचो भएकाले मानसरोवरको पानी राक्षस तालमा पुगेर बाँडिँदो रहेछ । राक्षस तालबाटै उत्तर तिरबाट बग्ने नदी सिन्धु, बीचबाट बग्ने नदी गङ्गा र दक्षिण तिरबाट बग्ने नदी कर्णाली रहेछन् । गङ्गा र सिन्धु नदी चाहिँ कैलास मानसरोवरबाट निस्केकाले भारतमा पवित्र नदी मानिन्छन्, तर हुम्ला तिर के अन्ध विश्वास रहेछ भने, गङ्गा नदी चाहिँ मानसरोवरबाट निस्केकाले त्यसका छेउछाउमा बस्ने मान्छेहरू सुखी भएका छन्; कर्णाली चाहिँ राक्षस तालबाट निस्केकाले त्यसका छेउछाउमा बसोवास गर्ने मान्छे दुखी भएका हुन् । नेपालीहरूको त्यो अन्ध विश्वास के गरी हटाउने होला !
मानसरोवरबाट राक्षस ताल नछोइकन सोझै पूर्व तिरबाट बग्ने नदी त ब्रह्मपुत्र मात्र रहेछ । चिनियाँ भाषाको नक्सामा ब्रह्मपुत्र नदीलाई ‘तामाङ ह’ (तामाङ खोलो) भन्दा रहेछन् । हाम्रा तामाङ, गुरुङ, थकाली, मनाङे, काइके र छन्त्यालहरूको साइनो पनि त्यतै रहेछ भन्ने कुरो ब्रह्मपुत्रको चिनियाँ नाउँबाट बुझिन्छ । भाषा वैज्ञानिक दृष्टिले यी जातिहरू नजिक देखिन्छन् ।
हाम्रा लाटमा एउटा गुरुङजी थिए । गुरुङहरूसित अन्तरक्रिया गर्दा नेपालीमा प्रचलित भोटे शब्दको रमाइलो व्युत्पत्ति देखा पर्छ । भोटे शब्दको साइनो भोट वा बोड देशसित छ । भोट बौद्ध मुलुक भएकाले भोट वा बोड शब्दको साइनो कतै बुद्ध वा बौद्धसित पनि छ कि जस्तो मलाई लाग्छ । तिब्बती लिपिलाई सम्भोटा लिपि (संबुद्ध लिपि?) भन्दछन् । त्यो लिपि बनाउने सम्भोटाको नाउँको व्युत्पत्ति पनि बुद्धसित गाँसिन्छ भन्ने मेरो अड्कल छ । सारांशमा ‘भोटे’ शब्दको अर्थ नराम्रो कतै पनि छैन, तर नेपालमा किन हो भोट शब्दको अर्थ त राम्रै छ, तर त्यसै भोट शब्दको विशेषण शब्द ‘भोटे’ ले चाहिँ राम्रो अर्थ गुमाएको देखिन्छ । दक्षिण तिरका गुरुङहरूलाई ‘तिमीहरू भोटे हौ?” भनेर सोध्यो भने, तिनीहरू आफू त होइन, तर आफू भन्दा उत्तर तिर बस्नेहरूलाई भोटे भनेर चिनाउँछन् अरे । उनीहरूले भोटे भनेर चिनाएका गुरुङहरूलाई त्यही प्रश्न सोध्यो भने, तिनीहरू पनि अस्वीकार गर्छन् अरे र आफू भन्दा उत्तर तिर बसोवास गर्नेहरूलाई देखाउँछन् अरे । यो क्रम तिब्बतको सिमानै सम्म चल्छ अरे ।
मेरो मानसरोवर जाने मन हुम्लामै अकाल पर्यो । टेकनाथ गौतमले लेखे अनुसार भारतको फर्रुखावाद जिल्लामा पर्ने उहिलेको कन्नौज (कान्यकुब्ज) प्रभावशाली भएका वेलामा (सातौँ शताब्दीदेखि पाँच सय वर्ष सम्म) कैलास मानसरोवर क्षेत्र (गुगे), सिजा, दुल्लु, सुर्खेत र श्रावस्ती हुँदै एउटा चल्तीको बाटो साकेत (अयोध्या) र नैमिषारण्य (सीतापुरको नेमसर) हुँदै कन्नौज सम्म पुग्थ्यो । त्यस क्षेत्रका मानिसहरू अझै पनि त्यस ऐतिहासिक बाटाको डोब छँदैछ भन्दछन्, तर नेपालका शासक र नेताहरूले त्यो बाटो बनाउने, मरम्मत र सुधार गर्ने, पुनर्निर्माण गर्ने र कर्णाली क्षेत्रको व्यापारिक र आर्थिक सुधारमा टेवा पुर्याउने कुरामा कुनै रुचि देखाएनन् । भारतले पिथौरागढबाट मानसरोवर जाने बाटो बनायो र त्यसबाट व्यापारिक लाभ लिइरहेको छ । नेपाल तिरको बाटो छोटो र सजिलो भएकाले नै इतिहासमा यस बाटाले महत्त्व पाएको हुनु पर्छ, यसैले मानसरोवर जाने मेरो रहर हुम्लामै टुङ्ग्याउन मैले बाध्य हुनु परेको अब्जस म हाम्रा शासक र नेताको मूर्खतालाई दिऊँ कि नदिऊँ ? भैगो, दिन्न !
हुम्लाका बासिन्दाहरूले मलाई धेरै रमाइला कुरा देखाए, मीठा कुरा ख्वाए र नमीठा कुरा सुनाए । मेरा कुल देउता मन्डाल्नी र काला मस्ट भएकाले मलाई मस्टाको माडौँ हेर्न मन लागेको थियो; त्यो रहर मैले हुम्लामा पूरा गरेँ । जसले मस्टालाई कुल देउता मान्छ, त्यो खस हो भन्ने जगदीश चन्द्र रेग्मीको भनाइलाई पनि मैले हुम्लामा सम्झेँ । मैले हुम्लामा तीते फापरको ढिँडो र चुत्रो चाखेँ; आफू ओरिपरि हिमालले घेरिएको अद्वितीय अनुभव गरेँ; चारै तिर हिमालले घेरिएको रात आफूलाई अलिकति अक्सिजनको कमी भएको अनुभव पनि गरेँ; पहाडको टाकुरा तिर भोजपत्रको वन देखेँ; हवाईबाट कर्णाली क्षेत्रको एउटै पहाडको उत्तर र दक्षिणमा पनि तापक्रमको फरकले उत्तरी पाटो वनले हरियो, दक्षिणी पाटो खुइलिएको पनि नियालेँ; मौसम सफा हुँदा र नहुँदा एउटै पहाडलाई हिजो, आज र भोलिको हिमालका रूपमा कल्पना गरेँ अनि शिलाजित भएका पहाडका फेदका ओढारमा बसेको एउटा परिवारसँगै अझै साँचिएको प्रागितिहासिक जीवन देखेँ ।
बाटो बन्नु हो भने, खासा, हिल्सा र पिथौरागढबाट मानसरोवर पुग्ने तीन बाटा मध्ये हुम्ला र हिल्साको बाटो नै सबै भन्दा छोटो र सस्तो पर्ने रहेछ । हिल्साबाट जाँदा भन्दा खासाबाट जाँदा झन्डै पाँच गुणा बढ्ता खर्च पर्ने रहेछ । कर्णाली क्षेत्रका मानिसलाई मानसरोवर जाँदा भिसा पनि लाग्ने रहेनछ । कर्णाली क्षेत्रको सिमाना पारिको व्यापार थाक्लाकोटसित चल्ने रहेछ, तर नेपाल क्षेत्र अदूरदर्शी नीतिले गर्दा हिमाल पारिका भोटेहरू सम्पन्न र समृद्ध भएका वेलामा हिमाल वारिका भोटेहरू अत्यन्त दुखमय जीवन बिताइरहेका रहेछन् । नेपाली हुनुको पीडा थाक्लाकोटमा अत्यन्त टड्कारो देखिन्छ अरे ।
यस ठाउँमा सरकार छ कि छैन ? हिमाली क्षेत्रका बहुमूल्य जन्तु (कस्तुरी र नाउर जस्ता), जरिबुटी र खनिज सीमा पारि तस्करी भएर नेपाल यहाँ ठगिँदै रहेछ । काठमाडौँमा जुन खुर्पानी तीन चार सय किलो बिक्छ, त्यो खुर्पानी यातायातको अभावमा बजार नपाएर खाल्डामा पुरिने रहेछ हुम्लामा । सौर्य विद्युतले चल्ने हुम्लाको टेलिफोन पनि नचलेर मौसम खराब भयो भने, यो भेग काठमाडौँसित पूरै सम्पर्कविहीन हुने रहेछ । त्रिभुवन विश्व विद्यालयबाट अध्ययन भ्रमणमा गएका भूगोलका विद्यार्थी हिउँले पुरिएर झन्डै सिद्धिएछन् । माथ्लो सिमकोटमा किन धेरै मान्छेलाई रतौँधो भए जस्तो लाग्छ ? भिटामिन ए को कमी भएर त होइन ? तल्लो सिमकोटमा किन मान्छेको दाँत मैलो? पानीमा फलामको मात्रा धेरै भएर त होइन ?
हुम्लामा धेरै तिरको रमाइलो दृश्यको फोटो खिचियो । कुनै पनि रमाइलो प्राकृतिक दृश्यको फोटो खिच्ता म कसैलाई भरसक आफूलाई साक्षी राख्तछु, किन भने साक्षी राखेन भने त्यो दृश्य किनुवा पनि त हुन सक्छ । मेरो मानसरोवरको यात्रामा मैले आफूलाई कैलास र मानसरोवरको साक्षी बनाउनै पाइन !