“रेड कलर’ लाई नेपालीमा के भन्छन्?”

मेरा नातिनातिना ‘उनो’ खेली रहेका थिए । समुन्नतले मलाई सोध्यो, “बुवा, ‘रेड कलर’ लाई नेपालीमा के भन्छन्?’ झन्डै एक दशक अगाडि सम्पन्नले पशुपतिमा बाँदर देखाएर, “ममी, ऊ मङ्की” भनेको थियो । अनुभवले, “बुवा, ‘त्रिसट्ठी’ लाई ‘इङ्‌लिस’ मा के भन्छन्’ भनेर सोधेको थियो ।

भुवनहरि सिग्देलले लेखेको ‘मनका सयपत्री’ भन्ने संस्मरण नातिनातिनालाई पढ्न लगाएको; बुझ्दैनन् । धादिङको गाउँमा जन्मेका सिग्देलको सजिलो नेपाली भाषामा लेखिएको त्यस सङ्ग्रहमा भएका धनुष चन्द्र गौतमसँग सेखासेख गर्ने सबै संस्मरणमा उनले आफैँले भोगेका कुराहरू अत्यन्त मीठो शैलीमा लेखेका छन् । नेपाली पढाउन केटा केटीलाई सिकाउनु छ भने, उनको त्यस किताबले राम वाणको काम गर्छ भन्ने मेरो ढिप्पी नै बनेको छ । तर मेरा नातिनातिनालाई त्यो निबन्ध बुझाउन त्यस किताबको वाक्यै पिच्छे प्रयोग भएका शब्दार्थ र नेपाली संस्कृतिसँग गाढिएर बसेका सूचनाहरूका अनेकौँ टिप्पणी र व्याख्या दिनु पर्छ । कति फेरिई सकेछ नेपाल ! नेपालबाट कति टाढा पुगी रहेको छ काठमाडौँ ! म झस्किएँ; मलाई आतेस लाग्यो । हामी कसरी आफ्ना सन्तानलाई बिरालाले थुतुनाले बच्‍चा च्यापेर ठाउँ सारे झैँ क्रमश: नेपाल र नेपाली संस्कृति नै बिरानो लाग्‍ने गरी ठाउँ सारी रहेका छौँ ! हामी आफैँ कता गई रहेका छौँ र हाम्रा बालखहरू कता ओसारी रहेका छौ ! गाउँमा पहिरो लडी रहेको छ; बोट बिरुवाको हरियाली खौरिनाले पहाडहरू देखाउनै नहुने आङ देखाएर नाङ्गा भई रहेका छन्; हिमालयकै पनि अग्ला अग्ला टाकुराहरूबाट चिरा पर्दै धाँजा फाटेर गर्ल्यामगर्ल्याम हिउँ पहिरो गई रहेको छ; नेपालको हरियाली र हिमालको अग्लाइलाई खौरेर बाढीले हतार हतार ओसारी रहेको छ झन झन ओरालो विदेश तिर भल, ढल, सोता, खोला र गाड भरी भरी ।

कुनै डर लाग्दो भुइँचालो नेपाल, नेपाली संस्कृति र नेपाली मनमा आउन लागेको आतेसले मेरो सास रोकिन्छ । नेपाली सधैँ किन काँचाको काँचै, अल्लारेको अल्लारै र उरन्ठेउलाको उरन्ठेउलै हुन मन गरी रहेको छ! नेपालीको मन किन गरुङ्गो फलाम जस्तो आफ्नै डेगबाट हल्लाउन नसकिने, बरु लर्तरा चुम्बकहरूलाई आफैँ तिर घिस्याउन सक्‍ने अङ्गदको पैतालो जस्तो हुन सक्तैन ! नेपालीहरू माटामा भेटिने फलामको धुलो जस्तै विदेशमा राखिएका शक्तिशाली चुम्बक तिर तानिन जहिले पनि ठिक्‍क छन् । मैले खोटाङमा देखेँ, पहाड आफ्नै ठाउँमा छ; बारी, टार र पाखा पखेराहरू आफआफ्नै ठाउँमा छन्; घर, आङन र घुर्‍यानहरू आफ्नै ठाउँमा छन्; खालि धनी मान्छे बसाइँ सरेर घर सुन्ने छ; गरिबहरूका घरै पिच्छे युवाहरू बनी गर्न विदेसिएकाले बर्गत र बुतो नभएका आइमाई, केटा केटी र बूढाबुढीहरू मात्र गाउँ थामेर बसी रहेका छन् । विदेशको मोहनी लागेर पूरै नेपाल अहिले खोटाङ भएको छ; पूरै नेपाल अहिले विदेश तिर पोइल जान ठिक्‍क छ । गाउँ घरमा युवाहरू कमै भेटिन्छन् । एफएम रेडियोमा हिन्दी गीत बजी रहेको छ, “किसी न किसी से; कभी न कभी; कहीं न कहीं दिल लगाना पडेगा ।“

खुट्टा उचालेको घोडा झैँ हामी जोसुकै विदेश जान जुनसुकै वेला तयार छौँ । आफ्नो मुलुक छोड्न जुनसुकै ठूला कुर्सी रुङ्नेहरू आफ्नै बिहेको लगनका वेलामा पनि तम्तयार छन् । तागत पुग्‍नु हो भने, जुनसुकै नेपाली पनि मुलुक छोड्न ठिक्‍क छ ! हाम्रो मुलुक रित्तिन बेर छैन ! देशमा भएका बहुमूल्य दुर्लभ रत्‍नहरू व्यक्तिगत फाइदाका लागि बिकेर विदेशिई रहेका छन् । हिन्द महासागरमा नेपाली माटो थुप्रेर टापु बनी रहेको छ अरे ! खल्ती नै उल्टाएर रित्याए जस्तो नेपालका ‘दूरदर्शी’ र ‘बुद्धिमान्’ हरूले हतार हतार नेपाललाई रित्याई रहेका छन् । यो देश, यसको इन्द्रधनुषी संस्कृति र सम्पदाको सुरक्षा तिनीहरूका जिम्मामा छ, जसले आफू पुग्‍नु भन्दा अगाडि नै आफ्ना बालबच्‍चाको विदेशी नागरिकता बनाई सकेका छन् ।

मुलुकको यस्तो उद्यममा यस देशका शिक्षा नीति बनाउने र लागु गर्नेहरूले मेरा नातिनातिनालाई ‘रातो रङ’ सिकाउनु भन्दा अगाडि ‘रेड कलर’ सिकाएछन्; ‘बाँदर’ सिकाउनु भन्दा पहिले ‘मङ्की’ सिकाएछन्; आफ्नो संस्कृति सिकाउनु भन्दा पहिले विदेशको संस्कृति सिकाउन सकिन्छ भन्ने भ्रम पालेछन् । नेपालका एक जना साक्षर मन्त्रीले बेलाइत पुगेर आएर भनेछन्, ‘बेलाइतले किन उन्नति गरेको भन्ने तत्त्व मैले बुझेँ; त्यहाँका केटा केटीहर एकदम सानै उमेरमा अङ्ग्रेजी फरर्रै बोल्न सक्ता रहेछन् ।‘ नेपालको शिक्षा नीति बनाउँदा त्यस्तै बुद्धिमान् शिक्षा मन्त्री र शिक्षाविदहरूले सक्तो बुद्धि खियाएछन् र हाम्रा केटा केटीहरूलाई महँगो र पक्षपाती शिक्षा दिएर आफ्नै देशमा उन्नति गर्न सक्‍ने आत्मनिर्भर नबनाएर विदेशका सेवक बन्न लायक बनाएछन् । तिनै दूरदर्शी शिक्षा नीतिका प्रणेताहरूको दूरदर्शिता आज लटरम्म भएर फली रहेको छ अरब देशहरूमा, मलयेसिया, कोरिया, जापान र भारतका अनेक ठाउँमा पुगेका गरिबहरूले रोज्नु परेको जागिरमा र अमेरिका, युरोप र अस्ट्रेलियाको सेवा गर्न पुगेका धनी र उच्च मध्यमवर्गीय नेपालीहरूका बहादुरीमा । भूपी शेरचनले लेखेका छन्, ‘हामी नेपालीहरू बुद्धु नभइकन बहादुर हुन सक्तैनौँ ।‘

उहिले उहिले विदेशको स्वार्थका लागि नेपाली छोराहरू आलु र प्याज काटिए झैँ काटिन्थे; आज आफ्नो बर्गत र बुताले विदेशको तागत बढाउन रातोदिन खटिनामै आफ्नो उन्नति देख्‍न मात्रै सक्‍ने नेपाली नागरिकहरू हामी बनाई रहेका छौँ । हाम्रो देशले विदेशका लागि भरिया र खेताला उत्पादन गर्ने दूरदर्शी शैक्षिक र आर्थिक नीति बनाएको देखिन्छ । सरुभक्तले ‘तरुनी खेती’ भन्ने उपन्यास लेखेका छन्; निर्धन नेपालीका छोरीहरू विदेशका वेश्यालयहरूमा बेचिएको लगत अनुराधा कोइरालाले बटुली रहेकी छिन् । धादिङ, काभ्रे, मकवानपुर र नुवाकोटमा काठमाडौँको बजार सम्झेर अन्न, तरकारी र फलफूलको खेती गरे झैँ नेपालीहरू विदेशमा बजार पाइन्छ भनेर छोराछोरीहरू उत्पादन गरी रहेका छन् । भूपी शेरचनले लेखेका छन्, ‘तित्रा, बट्टाई र भक्कुको राँगाका सन्तानहरू!’ विदेशीको हितका लागि विदेशमा काटिनका लागि उत्पादन गरिएका नेपाल आमाका सन्तानहरूलाई सम्झेर ।

नेपाललाई काम लाग्ने सन्तानहरू नेपालमा झगडिया नेता, विदेश तिर चेलाहरूलाई आकर्षित गर्ने शिक्षक र नेपालमा युवाहरूलाई बस्‍नै मन नलाग्ने बनाउने योजनाविद् र हाकिम हुन्छन् होला र नेपाललाई काम नलाग्ने, विदेशलाई मात्र काम लाग्ने नेपाल राष्ट्रको सफल उत्पादित जनशक्ति अहिले हतार हतार भिसा बनाउन विदेशी दूतावास तिर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हान्निई रहेको छ ।

नेपालका चोखो वा बिटुलो बाटाबाट पैसा कमाउने धनी वा नवधनिकहरूको पैसा सोहोर्न घडी थापेर बसेका अङ्ग्रेजी ‘बोरिङ’ इस्कुलहरू नेपाली अक्षर चिन्नु भन्दा पहिले अङ्ग्रेजी अक्षर सिकाई रहेका छन्; नेपाली भाषामा सके सम्म कमजोर बनाएर अङ्ग्रेजी भाषामा अच्पिल्टा बनाई रहेका छन्; नेपाली संस्कृति र सामाजिक शिक्षामा दुब्ला बनाएर नक्कली विदेश र नक्कली विदेशी संस्कृति सिकाई रहेका छन्; नेपाली विद्यार्थीहरूलाई नेपालमा काम नलाग्ने पङ्गु बनाई रहेका छन् र विदेशका हरुवा, चरुवा र भरुवा बनाई रहेका छन् ।  हाम्रा सन्तानहरू नेपाल र नेपाली संस्कृति चिन्न सक्ने भन्दा नेपाल र नेपाली संस्कृति ठ्याम्मै चिन्न नसक्ने बनाउन हामी ‘बोरिङ’ (प्वाल पार्ने र झर्को लाग्दा) इस्कुलहरूलाई चर्को शुल्क तिर्न सक्ने हुन आफ्नो धोक्रामा बिटुलो धन बटुली रहेका छौँ । हाम्रो सरकारले योजना एकथोक बनाएर सार्वजनिक गर्छ, उत्पादन त्यसको उल्टो भएकामा गर्व गर्ने गौरवमय परम्परा बनाएको छ ।

शून्यप्राय उन्नति भएको र विश्वका हरिकङ्काल देशहरूमा कीर्तिमान राखेको देशमा काम पाइएन भनेर कुनै देशका युवाहरू ग्वार्ग्वार्ती विदेशिन्छन् भने, त्यहाँ भन्दा हास्यास्पद कुरो अरू के हुन सक्छ ! लबस्तराको ओखती हुँदैन भन्ने कुरो हाम्रो सरकार, नेता र शिक्षाविद्हरूले देखाई रहेका छन् । मेरा नातिनातिनाहरू अहिले ‘कपुरी क’, ‘गाईगोडे ग’, ‘मासगेडी ङ’, ‘डाडु ज’ र ‘खुट्टी झार्‍यो झ’ नपढेर ‘ए फर यापल’, ‘क्यु फर क्विन’ घोकी रहेका छन्, नेपाली गीत त कहिले सिक्लान् थाह छैन, ‘हम्टी डम्टी स्याट अन अ वाल’ घोकी रहेका छन् ताल मिलाएर अनि वेला वेलामा मैले भनी दिई रहनु पर्छ, ‘रेड कलरलाई रातो रङ भन्छन्’ भनेर ।

Leave a Reply