जनआन्दोलन २०६३ बाट पुनःस्थापित प्रतिनिधिसभाको घोषणाले संविधानसभाको निर्वाचनबाट आउने जनप्रतिनिधिहरूले बनाउने नेपाल अधिराज्यको प्रस्तावित संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषित गर्ने अवधारणा नेपालको इतिहासमा पहिलो पल्ट ल्याएको छ। यसपछि अब नेपाल हिन्दुराज्य नरहने कुरो उक्त घोषणाबाट प्रस्ट भएको छ । हाम्रो आगामी संविधानले धर्मनिरपेक्षताको कस्तो परिभाषा गर्छ त्यो कुरो चाहिँ प्रस्ट छैन । विश्वका अरू मुलुकमा धर्मनिरपेक्षताको परिभाषा कसरी गरिएको छ, त्यसले भन्दा भारत र चीन जस्ता नेपालका ठूला छिमेकी मुलुकहरूमा धर्मनिरपेक्षता कसरी परिभाषित गरिएको छ, त्यसको सिको गर्न नेपालीलाई सजिलो पर्छ जस्तो मलाई लाग्छ । नेपालीहरूलाई भारतका विषयमा धेरै कुरा थाह छ, तर चीनका विषयमा अत्यन्त कम मात्र थाह छ । चीनका बारेमा नेपाली बुद्धिजीवीहरूले राखेका अवधारणाहरू पनि खालि अड्कल र भ्रममा मात्र आधारित देखिन्छन् । नेपाली विश्वविद्यालयहरूमा भारतीय समाजशास्त्रका अनेक प्रकरणहरू पढाइन्छ, तर चिनियाँ समाजशास्त्रको सामान्य ज्ञान पनि पढाइँदैन । भारतसँगको खुल्ला सिमाना र चीनसँगको हिमाली छेकाराले र भौगोलिक दूरताले पनि यस्तो भएको हुन सक्छ । चिनियाँ समाजशास्त्रका सबै पक्षहरूको सामान्य ज्ञान नेपालीहरूलाई लिन सजिलो होस् भनेर एउटा चीनविद्याको अनुसन्धान केन्द्र खोलिदिए यस्तो समस्या केही कम हुन्थ्यो होला ।
म चिनियाँ अन्तरराष्टि्रय रेडियोमा नेपाली भाषा विशेषज्ञ भएर एक वर्ष बसेकै वेलामा चीन सरकारले चाइना डेली भन्ने दैनिक अखबारमा चीन सरकारका धार्मिक गतिविधि सम्बन्धी नियम घोषणाको श्वेतपत्र जारी गरेको थियो । हाम्रो आगामी संविधानमा धर्मनिरपेक्षतालाई परिभाषा गर्दा धर्मनिरपेक्षता सम्बन्धमा चीनका अवधारणाको जानकारीले पनि नेपालको भावी संविधानका निर्माताहरूलाई सघाउ पुग्ला भनेर मैले उक्त श्वेतपत्रको चर्चा यस लेखमा प्रस्तुत गरेको छु । जनआन्दोलन भर्खर सकिएको हुनाले अहिले मुलुक ज्यादै संवेदनशील अवस्थामा छ । यति वेला उरन्ठेउल्याइँहरू देखिनु स्वाभाविक पनि हुन्छ, तर मुलुकलाई दूरगामी प्रभाव पुर्याउने संविधान बनाउँदा भावुकता भन्दा विवेकले काम गर्नुपर्छ; पक्षविपक्षमा गम्भीर छलफल गर्नुपर्छ र बाटो राम्ररी हेरेर मात्र पाइलो सार्नुपर्छ ।
नेपालमा धर्मनिरपेक्षताको माग मूलतः वामपन्थीबाट आएको हो । वामपन्थीहरूमध्ये पनि राज्यसत्ताको उपभोगबाट जुन घटक जति टाढा छ, त्यसै मात्रामा धर्मनिरपेक्षताको माग पनि चर्को भएर आएको देखिन्छ। धर्मनिरपेक्षता गाताबाहिर जति राम्रो लाग्छ, पछि व्यवहारमा त्यति राम्रो नलाग्न सक्छ । धर्म पनि संस्कृतिकै अङ्ग हो । धर्मनिरपेक्षता मुलुकमा भएका सबै जाति र जनजातिहरूलाई आआफ्नो धर्म मान्ने स्वतन्त्रताका रूपमा परिभाषित भयो भने, त्यसले मुलुकमा खासै नकारात्मक प्रभाव पार्दैन । चीन सरकारले पनि त्यो कुरो मनन गरेको देखिन्छ । मुलुकको संस्कृति नै उल्टाउने गरी धर्मनिरपेक्षता परिभाषित भयो भने, चीनका नेता तङ् स्याउ पिङले भनेझैँ, खुल्लापनले सफा अक्सिजन मात्र नल्याएर लाम्खुट्टे पनि भित्र्याउन सक्छ । चीनको धार्मिक श्वेतपत्रले खालि लाम्खुट्टे छिर्ला भनेर झुल टाँगेजस्तो मात्र देखिन्छ ।
नेपालका वामपन्थीहरूले नेपालमा धर्मनिरपेक्षताको वकालत मुख्य दुइटा कारणले गरेका हुन् । कार्ल मार्क्सले धर्मलाई अफिम ठहराएका हुनाले पनि धर्मबारे संवेदनशील हुनु वामपन्थी बिटुलिनु हो भन्ने उनीहरूको एउटा धारणा होला । दोस्रो धारणा चाहिँ नेपालका जनजातिहरूले परम्परादेखि मानी आएको धर्म त ठ्याक्क हिन्दुधर्म नभएर फरक हो, त्यसैले नेपाललाई हिन्दुराज्य भनेर घोषणा गर्दा उनीहरूको धार्मिक स्वायत्ततामा बाधा पर्न सक्छ । केही फरक धारणा भएपनि, चीन विश्वभरका वामपन्थीहरूका लागि एउटा आदर्श राज्य हो। मार्क्सले जे भनेका भएपनि चीनको धार्मिक श्वेतपत्रले नेपाली वामपन्थीहरूलाई पनि धर्मनिरपेक्षताको परिभाषामा निरपेक्ष नरहन मार्गनिर्देशन गरेको छ ।
देशका जनजातिहरूका परम्परागत धर्महरूको स्वायत्त विकास गर्न चीनको सिको गर्दा अलिकति पनि बाधा पर्दैन। भारतीय संविधानमा धर्मनिरपेक्षताको परिभाषा गर्दा चीनमा जस्तो डलर र युरोको लोभ देखाएर मुलुकका परम्परागत जातीय धर्म मानीआएका गरिब र अशिक्षित जनजातिहरूको धर्म परिवर्तन गर्ने नियतले मुलुकभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका विदेशी व्यक्ति वा संस्थाहरूलाई अङ्कुश लगाउने कुनै दफा नभएकाले हो कि किन हो, ब्रह्मपुत्र ब्याँसी, मध्य भारत र दक्षिण भारतका असङ्ख्य जनजातिहरू आफ्नो परम्परागत धर्म छोडेर विदेशी धर्ममा दीक्षित भएका पाइन्छन्। नेपालको संविधानमा नेपाललाई हिन्दुराज्य भनेर घोषणा गरिएकै वेलामा पनि मेरो एउटा इसाई चेलाले दिएको सूचना अनुसार १९८६ इ.मा नेपालमा विदेशी धर्ममा दीक्षित हुने नेपालीहरूको सङ्ख्या झन्डै एक हजार थियो १९९६ इ.मा अर्को इसाई चेलाले दिएको सूचना अनुसार विदेशी धर्ममा दीक्षित हुने नेपालीहरूको सङ्ख्या पचास हजारभन्दा माथि पुगिसकेको थियो। त्यसको दश वर्षपछि (अहिले २००६ इ.मा) त्यो सङ्ख्या कति गुणा माथि पुग्यो, मैले बुझिसकेको छैन। यसरी विदेशी धर्ममा दीक्षित हुनेहरूमा धेरैजसो दलित जाति र जनजातिहरू नै सिकार भएका पाइन्छन्। नेपालको संविधानमा धर्मनिरपेक्षता नहुँदै त स्थिति यस्तो छ भने, धर्मनिरपेक्षता आउँदा चीनको श्वेतपत्रले झैँ राम्ररी कसेर झुल टाँगेन भने, तङ् स्याउ पिङले भनेझैँ, लाम्खुट्टे छिर्न सजिलो पर्ला। त्यही कुरो सोचेर मैले यो श्वेतपत्रको अनुवाद प्रकाशित गरेको हुँ। श्वेतपत्रको अनूदित पूर्ण पाठ निम्नानुसार छ :
धार्मिक गतिविधि सम्बन्धी चीन सरकारका नियम
(चाइना डेली, सेप्टेम्बर २७, २००० इ.)
जनगणतन्त्र चीनको भूभागभित्र विदेशीहरूको धार्मिक गतिविधि व्यवस्थापनसम्बन्धी प्रावधानहरूलाई कार्यान्वयन गर्ने नियमहरू
- दफा १ : यी नियमहरू जनगणतन्त्र चीनको भूभागभित्र विदेशीहरूको धार्मिक गतिविधि व्यवस्थापनसम्बन्धी प्रावधानअनुरूप बनाइएका हुन् ।
- दफा २ : जनगणतन्त्र चीनको भूभागभित्र रहेका विदेशी भन्नाले चिनियाँ भूभागभित्र लामो वा छोटो समयसम्म बसोबास गर्ने तर जनगणतन्त्र चीनको जातीयता कानुनअनुसार चिनियाँ नागरिक नभएका व्यक्तिहरू पर्दछन् ।
- दफा ३ : चिनियाँ भूभागभित्र विदेशीहरूको धार्मिक गतिविधि भन्नाले विदेशीहरूले आफ्नो धार्मिक आस्था र प्रचलनअनुसार गर्ने धार्मिक समारोहहरू अनि धार्मिक गतिविधिहरूका लागि चिनियाँ धार्मिक निकाय, धार्मिक स्थल र धार्मिक व्यक्तिहरूसँगको सम्पर्क तथा अन्य सान्दर्भिक गतिविधिहरू पर्दछन् ।
- दफा ४ : जनवादी गणतन्त्र चीनले चिनियाँ भूभागभित्र विदेशीहरुको धार्मिक आस्थाको स्वतन्त्रताको सम्मान गर्छ र कानुनअनुसार चिनियाँ भूभागभित्र विदेशीहरुको धार्मिक गतिविधिहरुको संरक्षण र व्यवस्थापन गर्दछ ।
जनवादी गणतन्त्र चीनले कानुनअनुसार चीनको भूभागभित्र धर्मका सम्बन्धमा चिनियाँ धार्मिक वृत्तसँग विदेशीहरुको मित्रवत् सम्पर्क तथा साँस्कृतिक र प्राज्ञिक आदानप्रदानहरुको संरक्षण गर्दछ ।
- दफा ५ : विदेशीहरु उनीहरुको आफ्नो धार्मिक आस्थाअनुसार चिनियाँ भूभागभित्र कानुनीरुपमा दर्ता भएका बौद्ध गुम्बाहरु, ताओका मन्दिरहरु, मस्जिदहरु, गिर्जाघरहरुमा आफ्ना धार्मिक गतिविधिहरुमा सहभागी हुन सक्छन् ।
- दफा ६ : प्रान्त, स्वायत्त क्षेत्र वा केन्द्रीय सरकारअन्तर्गतका नगरपालिकाहरु वा सोभन्दा माथिल्लो स्तरमा चिनियाँ धार्मिक निकायहरुको निमन्त्रणामा चीन भ्रमण गर्ने विदेशीहरुले धार्मिक गतिविधिका लागि कानुनीरुपमा दर्ता गरिएका स्थलहरुमा धार्मिक प्रवचन दिन सक्छन् ।
प्रान्त, स्वायत्त क्षेत्र वा केन्द्रीय सरकारअन्तर्गतका नगरपालिकाहरु वा सोभन्दा माथिल्लो स्तरमा चिनियाँ धार्मिक निकायहरुको निमन्त्रणामा र प्रान्तीय वा सो भन्दा माथिल्लो स्तरको जनसरकारको धार्मिक मामिला विभागको स्वीकृतिपछि अन्य कुनै रुपबाट चीन प्रवेश गर्ने विदेशीहरुले धार्मिक गतिविधिका लागि कानुनी रुपमा दर्ता गरिएका स्थलहरुमा धार्मिक प्रवचन दिन सक्छन् ।
धार्मिक गतिविधिहरुका लागि कानुनी रुपमा दर्ता भएका स्थलहरुमा प्रवचन दिन निम्त्याइएका विदेशी धार्मिक व्यक्तिहरुले ती स्थलहरुको व्यवस्थापकीय नियमहरु मान्नुपर्छ र ती स्थलका व्यक्तिको आस्था र प्रचलनहरुको सम्मान गर्नुपर्छ ।
- दफा ७ : चिनियाँ भूभागभित्र विदेशीहरुको सामूहिक धार्मिक गतिविधिहरु राष्टि्रय वा त्यो भन्दा माथिल्लो स्तरमा जनसरकारको धार्मिक मामिला विभागहरुबाट मान्यता प्राप्त बौद्ध गुम्बाहरु, ताओ मन्दिरहरु, मस्जिदहरु, गिर्जाघरहरुमा वा प्रान्त, स्वायत्त क्षेत्र वा केन्द्रीय सरकारअन्तर्गत रहेका नगरपालिकाहरुले नियुक्त गरेका अस्थायी स्थलहरुमा सञ्चालन गरिनेछ ।
चिनियाँ भूभागभित्रका विदेशीहरुले अस्थायी स्थलहरुमा सामूहिक रुपमा धार्मिक गतिविधि सञ्चालन गर्ने ठाउँहरुको निगरानी र खटन स्थानीय वा सो भन्दा माथिल्लो स्तरको जनसरकारको धार्मिक मामिला विभागले गर्नेछ ।
- दफा ८ : चिनियाँ धार्मिक वृत्तसँग विदेशीहरुको मैत्रीपूर्ण सम्पर्क, साँस्कृतिक र प्राज्ञिक आदानप्रदानहरु प्रान्त, स्वशासित क्षेत्र वा केन्द्रीय सरकारअन्तर्गत रहेका नगरपालिका वा सो भन्दा माथिल्लो तहमार्फत सञ्चालन गरिनेछ ।
- दफा ९ : चिनियाँ भूभागभित्र सम्पर्क गर्ने कुनै पनि वैधानिक चिनियाँ धार्मिक संगठन नभएको विदेशी धार्मिक संगठनहरु र तिनका सदस्यहरुले यी संगठनहरुका रुपमा वा धार्मिक व्यक्तिका रुपमा चिनियाँ सरकारसँग वा चिनियाँ धार्मिक वृत्तसँग सम्पर्क स्थापना गर्नुअघि प्रान्तीय स्तरको जनसरकारको धार्मिक मामिला विभागको सहमति तथा धार्मिक मामिलासम्बन्धी राज्य प्रशासनको स्वीकृति लिनुपर्छ ।
- दफा १० : चिनियाँ धार्मिक निकायहरुको सहमतिपछि चिनियाँ भूभागभित्रका विदेशीहरुले आआफ्नो धार्मिक प्रचलनअनुसारका शुभारम्भ, शुभविवाह, अन्त्येष्टि, ताओवाद वा बौद्ध गतिविधिहरु सञ्चालन गर्नाका लागि चिनियाँ धार्मिक व्यक्तिलाई बोलाउन सक्छन्। यी समारोहहरुमध्ये शुभविवाह गर्ने विदेशीहरु पुरुष र महिला हुनुपर्छ र उनीहरुले कानुनअनुसार पहिल्यै वैवाहिक सम्बन्ध स्थापना गरिसकेको हुनुपर्छ ।
चिनियाँ धार्मिक व्यक्ति भन्नाले कानुनी रुपमा दर्ता भएका धार्मिक निकायले पहिचान गरेको वा मानेको व्यक्ति हो ।
- दफा ११ : राष्टि्रय धार्मिक निकाय वा प्रान्त, स्वशासित क्षेत्र वा केन्द्रीय सरकारअन्तर्गत रहेका नगरपालिका वा सो भन्दा माथिल्लो तहका सान्दर्भिक धार्मिक निकायको सहमतिपछि स्थानीय जनसरकार वा प्रान्तीय तहभन्दा माथिको धार्मिक मामिलासम्बन्धी विभागको स्वीकृतिपछि चिनियाँ भूभागभित्र प्रवेश गर्ने विदेशीहरुले प्राज्ञिक आदानप्रदानअनुसार धार्मिक, साँस्कृतिक र प्राज्ञिक आदानप्रदानमा प्रयोग भएका धार्मिक सरसामान बोक्न पाउँछन्। अघिल्लो दफाअन्तर्गतका धार्मिक सरसामानभित्र पर्ने र चिनियाँ भन्सारको सान्दर्भिक प्रावधानभित्र पर्ने भए ती प्रान्त, स्वशासित क्षेत्र वा केन्द्रीय सरकारअन्तर्गत रहेका नगरपालिकाको धार्मिक मामिलासम्बन्धी विभाग वा धार्मिक मामिलासम्बन्धी राज्य प्रशासनले दिएको प्रमाणपत्रका आधारमा भन्सारले तिनलाई स्वीकृत गर्नुपर्छ ।
- दफा १२ : निम्नलिखित धार्मिक छापा सामग्रीहरु, धार्मिक श्रव्यदृश्य उत्पादनहरु र अरु सरसामानहरु चिनियाँ भूभागभित्र ल्याउन निषेध गरिएको छ :
मात्रा व्यक्तिगत सामान्य प्रयोगभन्दा बढी भएमा र ती दफा ११ भित्र तोकिएको वर्गभित्र नपर्ने भएमा
ती सरसामानका विषयवस्तुहरु चिनियाँ राष्टि्रय सुरक्षा वा चिनियाँ समाजको सार्वजनिक हितविपरीतका भएमा, धार्मिक छापा सामग्री, धार्मिक श्रव्यदृश्य उत्पादन र अरु धार्मिक सरसामानहरु अघिल्ला अनुच्छेदहरुमा उल्लेख गरिएकाभित्र पर्ने भएमा त्यसलाई कानुनअनुसार भन्सारले नै हेर्नेछ ।
पहिलो अनुच्छेदमा तोकिएका कुराहरुलाई उल्लंघन गर्ने धार्मिक छापा सामग्री, धार्मिक श्रव्यदृश्य उत्पादन र अरु धार्मिक सरसामानहरु चिनियाँ भूभागभित्र ल्याइएमा वा अरु कुनै उपाय195र्ारा चिनियाँ भूभागभित्र भित्र्याइएको पाइएमा राष्टि्रय वा सो भन्दा माथिल्लो स्तरका धार्मिक मामिलासम्बन्धी विभागले कानुनअनुसार तिनलाई हेर्नेछ ।
- दफा १३ : विदेशमा अध्ययन गर्ने वा विदेशी संगठन वा व्यक्तिहरू द्वारा धार्मिक व्यक्तिहरुलाई प्रशिक्षण दिनका लागि चीनलाई उपलब्ध गराइएको रकम चिनियाँ राष्टि्रय धार्मिक निकायहरू द्वारा आवश्यकताअनुसार स्वीकार गरिनेछ र समग्र योजनाअन्तर्गत चिनियाँ राष्टि्रय धार्मिक निकायहरू द्वारा विदेशमा अध्ययनका लागि व्यक्ति छनोट गरी पठाइनेछ ।
विदेशी संगठनहरु वा व्यक्तिहरुले अनुमतिविना धार्मिक व्यक्तित्वका रुपमा विदेशमा अध्ययन वा प्रशिक्षणका लागि चिनियाँ भूभागभित्र विद्यार्थी भर्ना गर्न पाउँदैनन् ।
- दफा १४ : चिनियाँ धार्मिक संस्थाहरुमा अध्ययन गर्नका लागि चीन आउन चाहने विदेशीहरुले उच्च अध्ययनसम्बन्धी चिनियाँ संस्थाहरू द्वारा विदेशी विद्यार्थी स्वीकार गर्ने व्यवस्थाको प्रावधानअनुकूल हुनुपर्छ, चिनियाँ राष्टि्रय धार्मिक निकायबाट स्वीकृति प्राप्त गर्नुपर्छ र धार्मिक मामिलासम्बन्धी राष्टि्रय प्रशासनमा रेकर्ड भएको हुनुपर्छ ।
- दफा १५ : चिनियाँ धार्मिक संस्थाहरुमा अध्यापनका लागि चीन आउन चाहने विदेशीहरुले धार्मिक संस्थाहरू द्वारा विदेशी पेसेवरहरुलाई संलग्न गराउने विधिअन्तर्गत आउनुपर्छ ।
- दफा १६ : चिनियाँ भूभागभित्र धार्मिक गतिविधि सञ्चालन गर्ने विदेशीहरुले चिनियाँ कानुन र नियमहरुको पालना गर्नुपर्छ ।
धार्मिक गतिविधिका लागि चिनियाँ धार्मिक निकाय वा स्थलहरुको स्थापना वा परिवर्तनमा, चिनियाँ धार्मिक निकायहरू द्वारा धार्मिक व्यक्तिहरुको छनोट, नियुक्ति वा परिवर्तनमा विदेशीहरुले हस्तक्षेप गर्न पाउने छैनन र उनीहरुले चिनियाँ धार्मिक निकायहरुको अन्य आन्तरिक मामिलाहरुमा हस्तक्षेप वा प्रभाव पनि पार्ने छैनन् ।
चिनियाँ भूभागभित्र विदेशीहरुले धार्मिक संगठनहरुको स्थापना, धार्मिक कार्यालयहरुको संस्थापन, धार्मिक गतिविधिका लागि स्थलहरुको स्थापना, धार्मिक संघसंस्थाको सञ्चालन वा कुनै पनि नाम वा स्वरुपमा धार्मिक कक्षाहरु सञ्चालन गर्न पाउने छैनन् ।
- दफा १७ : विदेशीहरुले चिनियाँ भूभागभित्र निम्नलिखित धार्मिक गतिविधिहरुमा संलग्न हुने छैनन्ः
चिनियाँ नागरिकहरुमध्येबाट धार्मिक व्यक्तिको छनोट गर्न,
चिनियाँ नागरिकहरुमाझ धार्मिक अनुयायी खोज्न,
अनुमतिविना धार्मिक गतिविधि गर्ने स्थलहरुमा प्रवचन दिन,
धार्मिक गतिविधिका लागि कानुनी रुपमा दर्ता भएका स्थलहरुबाहिर धार्मिक प्रवचन दिन वा धार्मिक भेला सञ्चालन गर्न,
धार्मिक गतिविधिमा अध्यक्षता ग्रहण गर्न निम्त्याइएका चिनियाँ धार्मिक व्यक्तित्वका रुपमा रहेका चिनियाँ नागरिकहरुबाहेक धार्मिक गतिविधिका लागि अस्थायी स्थलहरुमा चिनियाँ नागरिकहरुसँग धार्मिक गतिविधि गर्न,
धार्मिक पुस्तक तथा पत्रपत्रिका, धार्मिक श्रव्यदृश्य उत्पादन, धार्मिक विद्युतीय वस्तुहरु वा अन्य धार्मिक सरसामानहरुको उत्पादन वा बिक्रीवितरण गर्न,
धार्मिक प्रचारबाजीका सामग्रीहरुको वितरण गर्न,
अन्य धार्मिक गतिविधिहरु गर्न ।
- दफा १८ : अन्तरराष्टि्रय धार्मिक सङ्गठन, कार्यालय र तिनीहरूका सदस्यहरूले चिनियाँ धार्मिक संस्था, थार्मिक स्थल र धार्मिक व्यक्तित्वहरूसित सम्पर्क राख्ने अथवा सम्बन्धित गतिविधि गर्ने सुर लिएमा उनीहरूले जनसरकारका प्रान्तीय अथवा त्यसभन्दा माथिका धार्मिक विभागहरूमा निवेदन दिनुपर्छ। अनुमति पाएपछि मात्र तिनीहरूले सम्बन्धित चिनियाँ व्यक्ति, संस्था वा सङ्गठनहरूसित सम्पर्क राख्न पाउने छन् ।
- दफा १९ : केही गरी चिनियाँ भूभागभित्र विदेशीहरूले यी नियमहरूलाई उल्लङ्घन गरेर धार्मिक गतिविधि गरे भने, जनसरकारका स्थानीय अथवा माथिल्ला तहका धार्मिक विभाग वा सम्बन्धित निकायहरूले कानुन अनुसार रोक लगाउने छन् ।
चिनियाँ भूभागभित्र विदेशीहरूले गर्ने धार्मिक गतिविधिबाट यी नियमका साथै जनसुरक्षाका लागि प्रशासकीय दण्डसजायँ विषयक नियम र जनगणतन्त्र चीनमा विदेशीहरूको अध्यागमन र प्रस्थानलाई नियन्त्रण गर्न बनेको कानुनलाई उल्लङ्घन भयो भने, त्यस्ता विदेशीहरूमाथि सार्वजनिक निकायहरूले कानुन अनुसार कारवाही गर्ने छन् । अपराध ठहरेमा, कानुन अनुसार त्यस्ता विदेशीहरूका आपराधिक उत्तरदायित्वको न्यायिक निकायहरूले अनुसन्धान पनि गर्ने छन् ।
- दफा २० : यी नियमहरू चिनियाँ भूभागमा विदेशी सङ्गठनहरूले सञ्चालन गर्ने धार्मिक गतिविधिमा लागु हुने छन् ।
- दफा २१ : राज्य धार्मिक क्रियाकलाप प्रशासन भन्ने निकायले यी नियमहरूको आधिकारिक व्याख्या गर्ने छ ।
- दफा २२ : जारी भएकै मितिदेखि यी नियमहरू लागु हुने छन् ।